काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको संख्या २ पुगेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गरे।
महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन्। उनले उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको बताए।
घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो। कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(ईपीएस)को परीक्षा दिन नपाएको भन्दै युवाले आज प्रदर्शन गरेका थिए।
सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए। अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो।
दैलेखका २३ वर्षीय सुजन राउत कोरिया भाषा परीक्षाको तयारीका लागि काठमाडौं आएका थिए। उनकाे प्रहरीको निर्घात कुटपिटमा ज्यान गएकाे छ।
प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए। राउतको शरीरमा निलडाम थियाे। साथीहरूले एम्बुलेन्स बोलाएर राउतलाई किस्ट मेडिकल कलेज पुर्याएपनि उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरिदिए।
आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि प्रहरी उत्तेजित भएको थियो । प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गरेको थियो । त्यसक्रममा डोटीका वीरेन्द्र शाहको पनि प्रहरीको गोली लागेर मृत्यु भएको हाे।
संयोग कस्तो भने दुई युवाको मृत्यु भएको केही घण्टामै उच्च अदालत पाटनले उनीहरूकै पक्षमा आदेश जारी गर्दै पानीजहाजको परीक्षामा सहभागी भएकाले अहिले उत्पादन क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित भएका सबैलाई परीक्षामा सहभागी गराउन आदेश दिएकाे छ।
दैलेखबाट कोरिया जाने तयारीका साथ काठमाडौं आएका सुजन शुक्रबार खासमा आन्दोलनमा नभई त्यहाँको अवस्था हेर्न गएका थिए। जाे प्रहरीकाे कुटपिटबाट मारिए।
सुजनको शव बुझ्न उनका मामा टेकबहादुर कटुवाललगायतका आफन्तहरू दैलेखबाट काठमाडौंका लागि हिँडिसकेका छन् ।