चितवन- फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याक मेलिङ गरेको आरोपमा चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट तीन विद्यार्थी पक्राउ गरिएको छ।
अश्लिल भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भनेर धम्काउने र रकम माग्ने चितवनकै रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरेलाई जिल्ला प्रहरी कार्यालय चितवनले पुस ४ गते पक्राउ गरेको थियो।
पक्राउ पर्ने युनिक सिंह र प्रवेश सिंह अखिल क्रान्तिकारी विश्वविद्यालय कमिटीको कार्यसमिति सदस्य हुन्। यस्तै पक्राउ परेका अनुराग घिमिरे माओवादी निकटका विद्यार्थीले चलाएको एनजिओ ग्रुप अफ एग्रीकल्चर एण्ड भेटेरिनरी विद्यार्थी (जीएभिएस) का सदस्य छन्।
उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरि चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार उनीहरुको भिडियो कल रेकर्ड र फिरौती रकम मागेको प्रवृत्ति हेर्दा समूहमा अरु पनि सहभागी हुनसक्ने आशंका रहेको छ । उनीहरुले कसैसँग दुई, कसैसँग चार लाख रुपियाँ रकम मागेका थिए ।
उक्त रकम नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएका फोन रेकर्ड रहेको डिएसपी पण्डितले जानकारी दिए । उनीहरु तीनै जनालाई कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरबाट प्रहरीले खेदेर पक्राउ गरेको थियो। उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको डीएसपी पण्डितले जानकारी दिए।