महोत्तरी- लगनपूर्वक काममा लाग्दा असम्भव केही रहेनछ भन्ने उदाहरण बर्दिवास–९ का दुई सामुदायिक विद्यालयले देखाएका छन्।
आम रुपमा सामुदायिक विद्यालयको साख गिर्दै गइरहेका बेला ‘विद्यालय रुपान्तरण अभियान’ ले यहाँका दुई विद्यालयले स्वरुप मात्र फेरेका छैनन्, पठनपाठन र सार्वजनिक चासो पनि बढेको छ।
यहाँका राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला र जनमुखी आधारभूत विद्यालयले अहिले ‘विद्यालय रुपान्तरण अभियान’बाट सर्वसाधारणमा सकारात्मक चासो बढाएका छन् । दुवै विद्यालयबीच करिब दुई किलोमीटरको दुरी छ।
देखभाल र वास्ता नपाएर खण्डहरजस्तै बनेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला अब सबैको आकर्षणमा परेको छ। शैक्षिक सुधार अभियानमा जुटेका युवाको आह्वानमा समाजका सबै तप्काको सहयोग बढेपछि यो विद्यालयमा अहिले भौतिक सुधारसँगै पठनपाठन व्यवस्थित भएको स्थानीय अभिभावक बताउँछन्।
विद्यालयमा अभियानी युवाले बालउद्यान र खेलमैदान निर्माणसँगै ओरपरको सरसफाइ र पठनपाठनबारे चासो बढाएपछि सहयोगी हात थपिँदै गएका अभियानमा जुटेका स्थानीय युवा अमृतकुमार महतो बताउँछन्।
'अस्तव्यस्त विद्यालयमा हामीले हात हाल्यौं, त्यसलगत्तै बर्दिबास सहयोगी क्लवले काम थाल्यो, एकपछि अर्को सहयोगी थपिँदै गए,' अमृत भन्छन्, 'मैदानमा माटो भरिदिने, पर्खाल र बालउद्यानका लागि आवश्यक इँटा, सिमेन्ट लिएरै दाताहरु विद्यालय आउन लाग्नुभयो, अनि स्थानीय समुदाय पनि तात्यो र विद्यालयले रुप फे¥यो । युवाको यो प्रयत्नमा बर्दिबास नगरपालिकाले साथ थप्दै भवन निर्माण गरीदिएपछि अब कक्षाकोठा पर्याप्त भए।'
'यहाँ छोराछोरी पढ्न पठाउनु भनेको सन्तोस गर्नुमात्र थियो, पढाइ हुँदैनथ्यो,' सो बस्तीका अभिभावक भोला महतो भन्छन्, 'जब सहयोगी युवा क्लबका अभियानी काममा जुटे, विद्यालयको भौतिक सुधार र पठनपाठ सुध्रदै गयो।'
अब त यसअघि बाहिर छोराछोरी पठाउने अभिभावकले पनि आफ्ना नानीहरु यसै विद्यालयमा भर्ना गर्न थालेका छन् । पछिल्ला दिनमा अभिभावक, शिक्षक र स्थानीयतहको सघन चासोले विद्यालयको भौतिक स्वरुपमात्र फेरिएको हैन, पठनपाठन पनि व्यवस्थित भएको उनको भनाइ छ।
नगरपालिका क्षेत्र भनिए पनि ग्रामीण परिवेशको यो विद्यालयमा अहिले नियमित पठनपाठनमा आउने छात्रछात्राको संख्या छ सय ३० पुगेको छ । कक्षा–११ र १२ मा शिक्षा र व्यवस्थापन संकाय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीर्इभीटी) को सम्बन्धनमा कम्प्युटर इञ्जिनियरिङ्गको प्रि–डिप्लोमा (१८ महिने) पठनपाठन भइरहेको प्रधानाध्यापक भोजराज साहले बताउँछन्।
विद्यालय रुपान्तरण अभियानमा जुटेका उत्साही युवा यो विद्यालयको सकारात्मक परिणामले हौसिएर सो बस्तीकै अर्को विद्यालयमा काम गर्न थालेका छन् । अहिले सो बस्तीको शिरानस्थित जनमुखी आधारधूत विद्यालयमा रुपान्तरण अभियान थालिएको छ।
विक्रम सम्वत् २०५३ सालमा सरकारी स्वीकृति प्राप्त गरेको यो विद्यालय नानीहरु पढ्ने नभई केहीको शिक्षकका नाउँमा जागिर खाने थलोमात्र रहेको स्थानीयको कडा टिप्पणी हुने गथ्र्यो । तर, विद्यालयमा रुपान्तरण अभियान थालिएपछि तिनै शिक्षक दिनरात नभनी पठनपाठन र भौतिक सुधारका काममा जुटेका अभिभावक बताउँछन्।
करिब तीन महिनाअघि सुरु भएको रुपान्तरण अभियानअन्र्तगत विद्यालयमा वालउद्यान निर्माण भएको छ। परिसरभित्रका समीका रुखमुनि आकर्षक चौतारा निर्माण भएको छ । सहयोगी हात बढ्दै छन्।
आज नै बर्दिबास–३ कालापानीका बासिन्दा रामकुमार कार्कीले ३५ हजार मूल्य बराबरका विभिन्न जातका पूmल र धूपीसहितका बिरुवा विद्यालयलाई सहयोग गरेका छन्।
एउटै बस्तीको सिरान र पुछारमा अवस्थित दुई विद्यालय सामुदायिक चासो पाएपछि फेरिएका छन् । संकल्प गरेर लागे सामुदायिक विद्यालय फेरिन सक्छन् र गुणस्तरीय पठनपाठन व्यवस्थापन हुनसक्छ भन्ने सन्देश दिएको बर्दिवास नगर पालिकाको नगर शिक्षा समितिका सदस्य खड्गबहादुर सिंह बताउँछन्।