काठमाडौँ- भारतको आसाम प्रान्तस्थित रंगियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै छन्। अर्जुनधारा नगरपालिका ३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक (विद्यार्थी) अध्ययन गर्दै आएका छन्।
गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन्।
‘पिताजी मेघालयको कोइलाखादमा काम गर्न जानुभएको छ’, गुरुकुलको कक्षा ४ मा पढिरहेका मिश्र भन्छन्, ‘माताजी हाजिरा गरेर कमाउनुहुन्छ। आफ्नो खेतबारी केही छैन।’
नेपालको अर्जुनधारा धाममा राम्रो संस्कृत पढाइ हुन्छ भन्ने सुनेर घर सल्लाहमै यहाँ आएको हुँ।’ उनले आसामको रंगियाबाटै एसईई समकक्षताको औपचारिक शिक्षा पूरा गरिसकेर संस्कृत पढ्ने तीव्र चाहनाका कारण नेपाल आएको बताए।
भविष्यमा वनारस वा वृन्दावन गएर आचार्य तहको पढाइ पूरा गरेर धर्म, संस्कृति र समाज सेवा गर्ने उनले आफ्नो लक्ष्य सुनाए।
विगतमा संस्कृत अध्ययनका लागि पूर्वीनेपालबाट भारतको वनारस र वृन्दावन जाने प्रचलन थियो। धरानको पिण्डेश्वरलगायतका केही नेपाली संस्कृत विद्यालयले मात्र संस्कृत पढ्न चाहनेको लहर धान्दैनथ्यो।
भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराणलगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ, तर समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुक आउन थालेका छन्।
विसं २०४० तिर आचार्य पुष्पलाल निरौलाले अर्जुनधारा धाममा गुरुकुलको स्थापना गरेका थिए। निरौलाले प्राचार्यका रूपमा आजीवन सेवा गरेको यस गुरुकुल संस्कृत पढ्न चाहनेका लागि झापाकै उत्कृष्ट गन्तव्यका रूपमा परिचित रहेको अर्जुनधारा जलेश्वर धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउँछन्।
सरकारले कक्षा ५ सम्म अनुमति दिएको यो गुरुकुलमा अध्ययनका लागि बर्सेनि सयौं इच्छुक टाढादेखि आउने गर्छन्, तर सीमित स्रोत र साधन भएकाले ४५ जनालाई मात्र पठनपाठन गराउन सकिएको जोशीले बताए। पढ्छौं भन्दै आउने अरूलाई जिल्लाको अन्यत्र गुरुकुलमा सम्पर्क गराएर पठाउने गरिएको उनले जानकारी दिए।
‘केही वर्षयता गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरूको संख्या बढिरहेको छ’, उनी भन्छन्, ‘हामीसँग भएजति भवन, कक्षाकोठा र सुविधाले पढ्न इच्छुक सबै नयाँ विद्यार्थीलाई धान्न सक्दैन। जिल्लामा रहेका अरू गुरुकुलमा पठाउन बाध्य छौं।’
झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट मात्र नभएर ताप्लेजुङ, जनकपुर र वीरगञ्जदेखि वटुक अध्ययनका लागि अर्जुनधारा आएका छन्। खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले विपन्न समुदायका अभिभावकको रोजाइ गुरुकुल हुने गरेको छ। संस्कृत भाषा र हिन्दु धर्मप्रति बढ्दो आकर्षणले समेत विद्यार्थी गुरुकुल पुग्ने गरेको पाइएको छ।
कक्षा ४ मा अध्ययन गरिरहेका १४ वर्षीय सक्रिश निरौलाको घर मोरङको बेलबारी हो। उनका बुवा वैदेशिक रोजगारीमा गएका छन्। सानैदेखि धर्म, संस्कार र संस्कृत भाषाप्रति रुचि राखेको देखेर सक्रिशलाई आमाबुबाले नै अर्जुनधारा संस्कृत वेद विद्यापीठमा भर्ना गरिदिए। उनी अहिले यस गुरुकुलका मेधावी बटुकमा गनिन्छन्।
‘सानैदेखि संस्कृत भाषाका मन्त्र उच्चारण गर्न चाख लाग्थ्यो’, बटुक सक्रिश निरौलाले भने। भविष्यमा आचार्य (संस्कृत भाषामा स्नातकोत्तर तह) उत्तीर्ण भएर गुरुकुलको प्राचार्य बन्ने उनको सपना छ। व्यासासनमा बसेर पुराण सुनाउने पनि उनको रहर छ।
जगद्गुरुले पढेको गुरुकुल
अर्जुनधारा संस्कृत वेद विद्यापीठ नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन गरेको गुरुकुल हो। उनले संस्कृतको प्रारम्भिक शिक्षा यही गुरुकुलमा बसेर लिएको धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउँछन्।
झापाको हडिया बुधबारेमा २०३३ सालमा जन्मिएका देवाचार्य आठ वर्षको उमेरमा अर्जुनधारा गुरुकुलमा अध्ययनका लागि आएको र तीन वर्षपछि वृन्दावन गएको जोशीले जानकारी दिए।
देवाचार्य हाल सुनसरीको प्राचीन हरिद्वारको रूपमा कहलिएको चतराधाममा स्थायी रूपमा बस्छन्।
यस गुरुकुलबाट दीक्षित भएकाहरू थुप्रै संख्यामा विद्यावारिधि उपाधिप्राप्त र महत्त्वपूर्ण ओहोदामा पुगिसकेका छन्। यही गुरुकुलबाट दीक्षित आचार्य कुबेर निरौला हाल अर्जुनधारा जलेश्वर धामको व्यासाचार्य छन्।
हालै बाला चतुर्दशी पर्वको विशेष अनुष्ठानमा भारतको हरिद्वारबाट आएका पतञ्जली योगका प्रख्यात गुरु आचार्य बालकृष्णले समेत अर्जुनधारा गुरुकुलको अवलोकन गरेका थिए।
धामले व्यहोर्छ सबै खर्च
गुरुकुल सञ्चालनको सम्पूर्ण खर्च अर्जुनधारा जलेश्वर धाम समितिले व्यहोर्दै आएको छ। धामका स्वर्गीय व्यासाचार्य पुष्पलाल निरौलाले ४० वर्षअघि गुरुकुल सुरु गर्दा मुठीदान नै सञ्चालनको मुख्य स्रोत थियो। बटुकहरूलाई लिएर प्राचार्य निरौला आफैं धामवरिपरिका गाउँमा मुठीदान संकलन गर्न हिँड्थे। मुठीदानबाट चामल संकलन हुन्थ्यो भने केही दाताले नगद पनि सहयोग गर्थे।
दयनीय अवस्थाबाट सुरु गरिएको यस गुरुकुलमा हाल सुविधा मनग्गे थपिएका छन्। धाम समितिले बर्सनि १५ लाख रुपैयाँसम्म बजेट दिएका कारण गुरुकुल सञ्चालन सहज हुने गरेको गुरुकुलका प्राचार्य हेमन्त भण्डारी बताउँछन्।
अहिले गुरुकुलका लागि तीन तलाको भव्य पक्की भवन धामले निर्माण गरिदिएको छ। पाँचजना शिक्षक कार्यरत छन्। संस्कृत, कर्मकाण्ड, रुद्री, चण्डि, वेदबाहेक नेपाली, अंग्रेजी, गणितलगायतका विषयका पाठ्यपुस्तक पनि पठनपाठन हुने गरेको छ।
कम्प्युटर पढाउने योजना
समयानुकुल शिक्षा प्रदान गर्ने उद्देश्यले धाम सञ्चालन समितिले गुरुकुललाई थप सुविधासम्पन्न भवनमा सार्ने र कम्प्युटर शिक्षासमेत प्रदान गर्ने योजना अघि सारेको छ। धाम समितिका कोषाध्यक्ष जोशीका अनुसार पुस्तकालय स्थापना अन्तिम चरणमा पुगेको छ।
सोही पुस्तकालयमा एक दर्जन कम्प्युटर राखेर सिकाउने धामको तयारी छ। धामको गुरुयोजनामा गुरुकुललाई सुविधासम्पन्न बनाउने उल्लेख रहेको र दाताहरूको सहयोगमा उक्त लक्ष्य पूरा गरिने उनले बताए।
परम्परागत रूपमा सञ्चालन भइरहेका गुरुकुलहरूलाई आधुनिक शिक्षाको स्वरूपमा ढाल्नुपर्ने र राज्यबाट सहयोग पुर्याइनुपर्ने आवाज उठ्न थालेको छ। तर, गुरुकुलका शिक्षकहरू भने आधुनिक शिक्षामा लैजाने नाममा गुरुकुलीय शिक्षा पद्धति मास्न नहुने बताउँछन्।
सरकारले धार्मिक विद्यालयका रूपमा मान्यता प्रदान गर्दै गुरुकुलमा कक्षा ४ तहको औपचारिक अध्ययनको अनुमति प्रदान गर्दै आएको छ। यस गुरुकुलमा सरकारले एकमुष्ठ दुई लाख शैक्षिक अनुदान उपलब्ध गराउँदै आएको छ। यस्तो अनुदान झापाका संस्कृत, गुम्बा र मदरसा विद्यालयहरूले पनि पाउँदै आएका छन्।
महर्षि फाउन्डेसनको भरथेग
झापामा २२ वटा गुरुकुल सञ्चालनमा छन्। ती सबै मठमन्दिरमा संकलन हुने दान दक्षिणामा निर्भर हुँदै आएका छन्। आफ्नै स्रोत र साधन भएका गुरुकुल नगण्य छन्। गुरुकुल विद्यालयका लागि नेपाल महर्षि वैदिक फाउन्डेसन दर्बिलो दाता बनेको छ। देशभरबाट छानिएका गुरुकुलहरूले फाउन्डेसनबाट आर्थिक सहयोग पाउँदै आएका छन्।
‘हरेक गुरुकुलमा कम्तीमा दुईजना शिक्षक कार्यरत छन्’, मेचीनगर १५ ज्यामिगरगढीस्थित ओमकारेश्वर गुरुकुलका प्राचार्य निरोज खनाल भन्छन्, ‘एउटा शिक्षकको सम्पूर्ण पारिश्रमिक फाउन्डेसनले व्यहोर्दै आएको छ।’
फाउन्डेसनले दैनिकरूपमा रुद्राभिषेक गराउँदै आएको छ। रुद्राभिषेक गराउन फाउन्डेसनले ध्यान गुरु नियुक्त गरेर मासिक पारिश्रमिक दिने गरेको अर्जुनधारा संस्कृत वेद विद्यापीठका ध्यान गुरु चिरञ्जीवी ढुंगानाले बताए।
फाउनडेसनकै सहयोगका कारण गुरुकुलका विद्यार्थीले नियमितरूपमा दैनिक २० मिनेट भावातीत विधिको ध्यान र योग सिकिरहेको उनले जानकारी दिए। गुरुकुलमा विद्यार्थीले हरेक बिहान ४ः३० बजे उठ्ने र राति ९ बजे गीता पाठ अनिवार्य रूपमा गर्नुपर्दछ। सन्ध्या पूजामा पाँच बजे पुगिसक्नुपर्छ। –रासस