काठमाडाैँ- ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम)ले सफल उद्यमी बन्न सिकाउँछ । यो कोर्सले बैंक, फाइनान्स र वित्तीय संस्था सञ्चालनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । त्यस्तै, बीबीएममा व्यापार र व्यवसायबारे अनुसन्धान समेत गराइन्छ । यो कोर्सले नोेकरी होइन, आफैं मालिक बन्न प्रेरित गर्छ ।
बीबीएस, बीबीए र बीबीएम म्यानेजमेन्टकै कोर्स हुन् । बीबीएले व्यवस्थापन, बीबीएसले प्रशासनिक काम र बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएका छन् । त्यस्तै, बीबीएसको पढाइ वार्षिक प्रणालीमा हुन्छ भने बीबीए र बीबीएमको सेमेस्टर प्रणालीमा हुन्छ ।
बीबीएम उत्तीर्ण गरेपछि म्यानेजमेन्टको जुनसुकै विषयमा स्नातकोत्तर र विधावारिधि (पीएचडी) गर्न सकिन्छ । बीबीएम स्नातक तहको चार वर्षे कोर्स हो । यसमा ८ वटा सेमेस्टर हुन्छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न क्याम्पसले यो कोर्स सञ्चालन गरेका छन् । एक सेमेस्टरमा ४४ जनाले मात्र पढ्न पाउँछन् ।
कति खर्च लाग्छ ?
चार वर्षे बीबीएम कोर्स पढ्न ४-५ लाख खर्च लाग्छ । तर, क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही तलमाथि हुन्छ ।
छात्रवृत्तिको व्यवस्था
विश्वविद्यालयले १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । एक सेमेस्टरमा कम्तिमा चार जनाले निःशुल्क पढ्न पाउँछन् । यसका लागि एसईई र प्लस टु सरकारी विद्यालयमा पढेको हुनुपर्छ । क्याम्पसले त्यस्ता विद्यार्थीलाई मात्र छात्रवृत्तिमा पढाउने गरेको छ । क्याम्पसले छात्रवृत्तिका लागि परीक्षा लिन्छ । त्यस्तै, क्याम्पसहरूले सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अर्को सेमेस्टरमा निःशुल्क पढाउने पनि गरेका छन् ।
इन्टर्नसिपको व्यवस्था
अन्तिम सेमेस्टरमा इन्टर्नसिप वा प्रोजेक्ट वर्कमध्ये एउटा गर्नुपर्ने हुन्छ । इन्टर्न गर्ने रुचि भएकाले बैंक, फाइनान्स र उद्योगमा गएर ८ हप्ता काम गर्नुपर्छ । प्रोजेक्ट वर्क गर्ने इच्छा भएकाले कुनै विषय छनोट गरेर प्रोजेक्ट वर्क बनाउन सक्छ ।
बीबीएमको अवसर
बीबीएमको सबैभन्दा राम्रो पक्ष भनेको स्वउद्यमी बन्न सिकाउनु हो । यो कोर्सले अरूको काम गर्ने भन्दा आफै केही गर्न प्रेरित गर्ने भएकाले अवसर थोरै लगानीमा पनि राम्रो व्यवसाय गर्न सकिन्छ । आफ्नो लगानीअनुसारको कुन क्षेत्रमा कस्तो उद्यम गर्ने भनेर अनुसन्धान गरेर काम गर्न सकिन्छ । बैंक, फाइनान्स वा सरकारी क्षेत्रमा काम नै गर्छु भन्नेका लागि पनि प्रशस्त अवसर छन् ।
कति कमाउन सकिन्छ ?
विद्यार्थीसँग जागिर र उद्यम गरी दुईवटा विकल्प छन् । व्यापार व्यवसाय गर्नेले आफ्नो लगानीअनुसारको आम्दानी गर्न सक्छ । जागिर गर्नेले सुरुवातमा मासिक कम्तीमा २० देखि ३० हजारसम्म कमाउन सक्छन् । पछि आफ्नो अनुभव र क्षमताका आधारमा तलब बढ्दै जान्छ ।