काठमाडाैँ- क्यानडा नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो । नेपालबाट विशेष गरेर दुई थरि विद्यार्थी क्यानडा गएका छन् । एकथरी पढेर राम्रो गर्छु भनेर गएका छन् भने अर्को पढ्ने भन्दा पनि सेटलमेन्ट हुने सोचेर गएका छन् । गोरेटोले विद्यार्थीलाई काम र सेटलमेन्ट भन्दा पनि पढाइमा नै केन्द्रित हुन परामर्श दिने गरेको छ ।
विद्यार्थीले क्यानडामा अध्ययनसँगै रोजगारीको अवसर पाएका छन् । क्यानडा नेपालमा सोचेजस्तो त छैन । तर गोरेटोबाट गएका विद्यार्थीले पढाइमा आफूलाई केन्द्रित गरेका छन् । अध्ययन पश्चात उनीहरूले आफूले रोजेको विषयमा काम गर्ने गरेका छन् । नेपाली विद्यार्थी जाने वित्तिकै पार्टटाइम कामसँगै पढाइलाई निरन्तरता दिन्छन् । कक्षा १२ उत्तीर्ण गरेर गएका विद्यार्थीले नेपालमा सिप सिकेका हुँदैनन् त्यसैले स्कील बेस काम पाउने भन्दा पनि सुरुवाति कालमा पसलमा, कफीसपमा, रेष्टुरेन्टमा काम गरेको अवस्था छ ।
नेपालमा स्नातक तह अध्ययन गरेर गएकाहरूले पनि पर्याप्त अनुभव हासिल गरेका भने हुँदैनन् । स्कील सिकेर जाने विद्यार्थीले आफ्नो क्षेत्रमा काम पाएपनि अन्यले भने साधारण काम नै पाउछन् । नेपालबाट विद्यार्थी एक वर्षको शिक्षण शुल्क तिरेर जाने भन्दा पनि अर्को वर्षको शुल्क पनि यहाँबाटै व्यवस्था गरेर जानु उपयुक्त हुँन्छ । यसले गर्दा विद्यार्थीलाई आर्थिक दबाब झेल्नु पर्दैन । विद्यार्थीले क्यानडा गएपछि आफ्नो उद्देश्य भनेको पढाइ नै हो भन्ने सम्झनुपर्छ ।
क्यानडामा विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउछन् । तर त्यो पर्याप्त हुँदैन । अहिले नेपालबाट जाने विद्यार्थीको संख्या बढेसँगै त्यहाँ समस्या पनि थपिँदै गएका छन् । नेपाली विद्यार्थीलाई घरभाडा महंगो हुने, भनेको ठाउँमा काम नपाउने बस्न नपाउने जस्ता समस्या छन् तर टोरन्टो जस्ता सहर भन्दा बाहिर पनि अवसर छन् भन्ने बुझ्नुपर्छ । क्यानडाको भूगोल ठूलो भएको र जनसंख्या कम भएकाले पनि विद्यार्थी क्यानडाको रोजाइमा पर्छ ।
क्यानाडा, प्रायः हिउँ र चिसोले भरिने राष्ट्रको रुपमा आम मानिसले धारणा बनाएका हुन्छन् । तर क्यानडा आम मानिसको धारणा भन्दा पनि फरक समृद्ध राष्ट्र हो । क्यानडा, उत्तर अमेरिकामा अवस्थित विश्वकै दोस्रो ठूलो मुलुक हो । यसको दश प्रान्त र तीन क्षेत्रहरू आन्ध्र महासागरदेखि प्रशान्तसम्म फैलिएका छन् । क्यानडाको राजधानी ओटावा हो । क्यानडाका प्रमुख शहरहरू टोरन्टो र मोन्ट्रियल हुन् जुन जनसंख्या, आर्थिक, साँस्कृतिक क्रियाकलाप र शैक्षिक विकासले परिचित छन् ।
क्यानाडाका विश्वविद्यालयहरू र कलेजहरू स्नातक डिग्रीहरूका लागि लोकप्रिय छन् । जसमा डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि समावेश छन् । केही कलेजहरूले स्नातक डिग्री र व्यावहारिक डिप्लोमाहरू प्रदान गर्छन् । जसले विश्वविद्यालयहरूमा जाने अनुमति दिन्छ । सरकारी कलेजले प्रदान गर्ने शिक्षा इन्टर्नशिपहरूले विद्यार्थीको भविष्यको चित्र कोर्न सक्षम हुन्छन् । क्यानडामा स्थायी बसोबासको अनुमति पाउन त्यहाँको सरकारले काम र पढाइको अनुसार दिने गरेको छ ।
गुणस्तरीय शिक्षा, सुरक्षित गन्तव्य, अध्ययन पश्चातको अवसर, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणका कारण नेपाली विद्यार्थीको रोजाइमा क्यानडाका शैक्षिक संस्था पर्ने गरेका छन् । गुणस्तरीय शिक्षासँगै छात्रवृत्ति र कामको अवसर पाएकाले नेपाली विद्यार्थी क्यानडा अध्ययनका लागि जाने गरेका छन् । क्यानडामा विद्यार्थीहरू शिक्षासँगै सिप, दक्षता र सक्षम भविष्यको उद्देश्य राख्छन् । यही काममा सहयोग र सहजीकरण गर्न शैक्षिक परामर्श व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । क्यानडा पछिल्लो समय शैक्षिक हब बन्दै गइरहेको अवस्थामा नेपाली विद्यार्थी पनि उच्च शिक्षाका लागि क्यानडा जान थालेका छन् ।
क्यानडामा अन्तर्राष्ट्रिय स्तरका विद्यार्थी करिब २ लाख छन् । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानडा सरकारले ग्राजुएसन सकिएपछि पोस्ट ग्राजुएट वर्क पर्मिटको व्यवस्था गरेको छ । यसअन्तर्गत विद्यार्थीले पढाइपछि आफ्नो क्षेत्रमा तीन वर्ष काम गर्ने अवसर पाउँछन् । यसपछि तुरुन्तै विद्यार्थीहरूले पिआर अप्लाई गरेर स्थायी बसोबास गर्ने अनुमति पाउने सम्भावना बढ्छ । सेटलमेन्ट हुन सजिलो हुने भएकाले पनि क्यानडा नेपाली विद्यार्थीको लागि उत्कृष्ट शैक्षिक गन्तव्य हो ।
क्यानडा गएर कमाइहाल्ने भन्दा पनि विस्तारै सेटल हुने योजना विद्यार्थीले बनाउनु राम्रो हो । अहिले क्यानडाको भिसा सक्सेस रेट राम्रो भएकाले पनि विद्यार्थी आकर्षित भएका छन् । अहिले क्यानडामा भिसा सक्सेस रेट ८० प्रतिशतको हाराहरिमा छ । क्यानडा अस्ट्रेलियाभन्दा डकुमेन्टेसनमा सजिलो र सहज पनि छ । अंग्रेजी भाषा परीक्षा आइइएलटिएसमा ६.५ र पिटिईमा ५५ भन्दा माथि ल्याएका विद्यार्थीले क्यानडाको भिसा पाएको अवस्था छ । नेपालबाट गत वर्ष क्यानडा अध्ययनमा जान चाहने २१ हजार ५ सय ४४ जना विद्यार्थीले एनओसी लिएका थिए ।
क्यानडा प्राविधिक र सिपमूलक शिक्षा नै क्यानडाको डिमान्डिङ विषय हुन् । सिपमूलक शिक्षा हासिल गरेका विद्यार्थीले तुरुन्तै रोजगारी पाउछन् । डिपेन्डेन्ट भिसा अप्लाई गरेर परिवारसमेत लान पाउने प्रावधानले क्यानडामा विद्यार्थीको आकर्षक बढेको हो ।
विभिन्न क्षेत्रमा सिपमूलक शिक्षा हासिल गरेका र सोही क्षेत्रमा कामको अनुभव लिएर अंग्रेजीमा दक्षता हासिल गरेका व्यक्तिका लागि क्यानडा सरकारले एक्सप्रेस इन्ट्रीको समेत व्यवस्था गरेको छ । अभिभावकले आफ्नो सन्तान क्यानडा जाँदैछ भने उसले कमाएर तिर्छ वा घर पैसा पठाउँछ भन्ने सोच्नु हुँदैन । अभिभावकले उसको पढाइमा लाग्ने खर्चको व्यवस्था गरेर सहज रुपबाट पढ्ने वातावरण बनाउनुपर्छ ।
आवश्यक योग्यता
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी क्यानडा अध्ययनका लागि जान योग्य हुन्छन् । तर क्यानडाको आवश्यक योग्यता तह अनुसार भिन्न हुन्छन् । डिप्लोमा÷स्नातक कार्यक्रमहरूको लागि २–३ वर्षको पढाइको ग्याप भएपनि विद्यार्थीले आवेदन दिन पाउछन् । ४–५ वर्षको ग्याप भएका विद्यार्थीले स्नातकोत्तर कार्यक्रमहरूको लागि आवेदन दिन पाउछन् । सबै विद्यार्थीले अंग्रेजी भाषा परीक्षा दिएर मात्र भिसा प्रक्रियामा सहभागी हुन पाउछन् ।
छात्रवृत्ति
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले उनीहरूको शिक्षण लागतहरू कम गर्न विभिन्न छात्रवृत्तिहरू लिइरहेका हुन्छन् । कलेजले पनि उनीहरूलाई छात्रवृत्ति उपलब्ध गराएको अवस्था छ । छात्रवृत्तिहरू शैक्षिक योग्यता , राष्ट्रियता, अंग्रेजीमा दक्षताको आधारमा उपलब्ध हुन्छन् । नेपालबाट विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, कम्प्युटर इन्जिनिरिङ, टुरिजम, होटेल व्यवस्थापन विषयमा स्नातकोत्तर गर्न धेरै विद्यार्थी जाने गरेका छन् । यी विषयमा विद्यार्थीले छात्रवृत्ति पनि पाएको अवस्था छ ।
विश्वकै उत्कृष्ट शिक्षा
क्यानडामा विद्यार्थीलाई अध्ययनको समयमा स्वतन्त्र रुपमा अध्ययन गर्ने अवसर हुन्छ । कलेजमा विद्यार्थीलाई आवश्यक सम्पूर्ण सुविधा हुन्छ । विद्यार्थीले आफूलाई अन्वेषण र अनुसन्धानमा केन्द्रित गरेर आफ्नो शैक्षिक विकासमा ध्यान दिनुपर्छ । विश्वभरका ख्यातीप्राप्त १ सय ५० विश्वविद्यालयमध्ये ५ वटा विश्वविद्यालय क्यानडामा रहेका छन् । क्यानडाका चर्चित विश्वविद्यालयहरूमध्ये टोरन्टो विश्वविद्यालय, म्याकगिल विश्वविद्यालय, ब्रिटिस कोलम्बिया विश्वविद्यालय, मोन्ट्रियल विश्वविद्यालय, अल्बर्ट विश्वविद्यालय, म्याकमास्टर विश्वविद्यालय र वाटरलु विश्वविद्यालय रहेका छन् ।
धिरज कंडेल गोरेटो एजुकेशनल कन्सल्टेन्सीका प्रवन्ध निर्देशक हुन्।