काठमाडाैँ- अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाउने लक्ष्य लिएसँगै नेपाली विद्यार्थीलाई भिसामा कडाइ गरेकाे छ। गत वर्षको चुनावपछि सत्तामा आएको लेबर पार्टीको सरकारको गृहमन्त्री क्लेर ओ' नीलले सोमवार एउटा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो सरकारले "आप्रवासीको सङ्ख्या नियन्त्रण गर्ने" र देशमा भित्रने मानिसको सङ्ख्या वार्षिक ५० प्रतिशतले घटाउने बताएकी हुन्।
नयाँ रणनीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषिक सीपको आवश्यकता पनि परिमार्जन गरिएको छ। अब विद्यार्थीहरूले दिनुपर्ने अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुने भएकाे छ। यससँगै भिसा आवेदन दिनेहरूका हकमा थप समीक्षा गरिने बताइएको छ। त्यस क्रममा विद्यार्थीहरूले आफूले गर्न खोजेको थप अध्ययनले उनीहरूको प्राज्ञिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न सक्नुपर्नेछ।
नेपालबाट विदेश अध्ययनमा जान चाहने विद्यार्थीको पहिलो रोजाइको गन्तव्य अष्ट्रेलिया हो। अष्ट्रेलियाले सन् २०२३ को जुन महिनामा विदेशबाट पाँच लाख १० हजार मानिस अस्ट्रेलिया आएकाे जनाएकाे छ।
विराटनगरकी आकृति कोइराला अष्ट्रेलिया अध्ययनमा जाने उदेश्यले एनओसी लिन भक्तपुर पुगेकी थिइन्। उनले मेलबर्नको एक विश्वविद्यालयमा आइटीमा स्नातक अध्ययनका लागि अफर लेटर प्राप्त गरिसकेकी छिन्। उनले भिसा प्रक्रियाका लागि मन्त्रालयमा एनओसी लिन आएको बताइन्। 'कलेजलाई पैसा तिर्न एनओसी आवश्यक पर्छ। भिसा लाग्छ कि लाग्दैन भन्ने चिन्ता छ। अहिले अष्ट्रेलियाले भिसा दिन टाइट गरेकाे छ भन्ने सुनिन्छ। नेपालमा अध्ययनको वातावरण र कामको अवसर पनि छैन के गर्नु ,’ उनले भनिन्, ‘नेपालमा आमाबुबामाथि निर्भर भएर बस्नुपर्छ। चार वर्षे कोर्स पाँच वर्षसम्म पनि पूरा हुँदैन। अवसर पनि छैन। मेरो आफन्तहरू पनि अस्ट्रेलियामा नै हुनुहुन्छ। पढ्दै काम गर्न पनि पाइन्छ भनेर अस्ट्रेलिया जान लागेकी हुँ।’
उनी जस्तै बुटवलका रमेश खनालको अनुभव पनि उस्तै छ। उनी पनि अध्ययन पश्चात नेपालमा अवसर नदेखेकाले विदेश अध्ययनमा जान लागेको बताउँछन्। आफू घर परिवारको सल्लाहमै कक्षा १२ को परीक्षा दिएपछि नै अंग्रेजी भाषा तयारी कक्षा (आईईएलटीएस) मा सहभागी भएको र अहिले सिड्नीको एउटा कलेजमा अध्ययनका लागि भिसा प्रक्रियामा रहेको बताए।
अष्ट्रेलियाले प्रदान गर्ने विश्वस्तरीय गुणस्तरीय शिक्षा, सहज जिवन शैली, रोजगारीको सहज उपलव्धता, आप्रवासी मैत्री नियम र नेपाली समुदायसँगको सहकार्यका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको जानकारहरू बताउँछन्।
नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन। अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेकाले भिसामा कडाइ गरेकाे अनुमान गरिएकाे छ।
पछिल्लो समय नेपाली विद्यार्थीलाई सुरक्षित करिअरको हिसाबले अष्ट्रेलिया उपयुक्त शैक्षिक गन्तव्य भएपनि अहिले भने अष्ट्रेलियाकाे भिसा सक्सेस रेट भने घटेको, अष्ट्रेलियाको शिक्षा नीति, विदेशी विद्यार्थीका लागि आवश्यक पर्ने आर्थिक कागजात र विश्वविद्यालयको मापदण्डका विषयमा केही हेरफेर भएकाे भिस्टा इन्टरनेशनल एजुकेशनका कार्यकारी निर्देशक श्रीराम पौडेल बताउँछन्।
उनका अनुसार ‘नेपाली विद्यार्थी सुरक्षित करिअरको खोजिमा अष्ट्रेलिया गएका छन्। अष्ट्रेलिया नेपाली विद्यार्थीलाई सेटलमेन्टका हिसाबले पनि पहिलो रोजाइको गन्तव्य बनेको हो। पछी भने विद्यार्थीले अष्ट्रेलियाको विकल्पको रुपमा शैक्षिक गन्तव्य परिवर्तन गरेर क्यानडा, युके रोज्ने गरेका छन्।’
अष्ट्रेलिया अध्ययनमा जान विद्यार्थीले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेश अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्ने हुन्छ। त्यसका लागि विद्यार्थीले आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट सर्टिफिकेसन अफ इलिजिविलिटी (सिओई) का आधारमा आवेदन दिन पाउँछन्।
शैक्षिक परामर्श व्यवसायीले विद्यार्थीलाई परामर्श सेवा प्रदान गरेर उनीहरूलाई उचित शैक्षिक गन्तव्यको खोजि गरिदिने र भिसा प्रक्रियामा सहजिकरण गर्ने गर्छन्।
विश्व बजारमा बिक्न सक्ने डिग्री हासिल गर्न पछिल्ला केही वर्षयता अस्ट्रेलिया अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीहरू बढेको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाउछ। गत बर्ष मात्रै अष्ट्रेलिया अध्ययनमा जान सबैभन्दा बढी ३३ हजार ९ सय ९१ जनाले विद्यार्थीले एनओसी लिएका थिए। मन्त्रालयको तथ्यांकअनुसार अस्ट्रेलियापछि जापान अध्ययनमा जान चाहने विद्यार्थी २१ हजार ६ सय ५८ जनाले एनओसी लिएका थिए।
शिक्षा मन्त्रालयका अनुसार विगत १३ वर्षमा कुल एक सय पाँच देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन्। अवसर र स्तरीय शिक्षा हासिल गर्न पाइने भएकाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको आकर्षण अस्ट्रेलियामा बढ्दै गएको देखिन्छ।
विद्यार्थीलाई लामो समयदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका असपार्क एजुकेशन नेटवर्कका सञ्चालक विमलमान राजभण्डारी विद्यार्थीको पहिलो रोजाइको शैक्षिक गन्तव्य अष्ट्रेलिया नै भएपनि पछिल्लो समय भिसा रिजेक्सन बढेका कारण विद्यार्थीले अन्य मुलुकलाई पनि आफ्नो शैक्षिक गन्तव्य बनाउन थालेको बताउँछन्।
उनी भन्छन्,‘ अहिले अष्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीको जिटि अप्रुभ नहुँदा समस्या छ। फाइनान्सियल डकुमेन्टका कारण भन्दै भिसा आवेदन रिजेक्ट भएका छन्। विदेश जाने विद्यार्थीको संख्या बढेसँगै यस व्यवसायमा चुनौति पनि थपिएको छ।’ विदेश अध्ययनमा जान चाहने विद्यार्थी आफ्नो भविष्य बनाउन जाने भएकाले हरेक विषयमा सचेत हुन र आफू जाने विश्वविद्यालयको बारेमा रिसर्च गरेर मात्र जान उनले सुझाब दिएका छन्।
अस्ट्रेलियाकाे सरकारी विवरणहरूका अनुसार हाल अस्ट्रेलियामा साढे छ लाख विदेशी विद्यार्थी छन्। तीमध्ये धेरैजसोले दोस्रो पटक भिसा लिएका छन्। "विशेषज्ञ" वा "अत्यावश्यक" सीप भएका आप्रवासीहरूका हकमा उनीहरूलाई स्थायी आवास दिनका लागि भिसा प्रक्रियामा सुधार गर्दै राम्रो व्यवस्था गरिएको छ। प्रविधि क्षेत्रका र स्याहारको काम गर्ने मानिसका लागि यो लागु हुनेछ।
नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आइटी, नर्सिङ, मेडिकल, होटल व्यवस्थापन, इन्जिनियरिङ, कम्प्युटर साइन्स लगायतका विषयमा अध्ययनका लागि जाने गरेका छन्।
सहज जिवन शैली र रोजगारीको उपलव्धताले विद्यार्थीको रोजाइमा अस्ट्रेलिया
अस्ट्रेलियाको आयआर्जन गर्ने प्रमुख स्रोतमध्य शिक्षा पनि हो। विदेशी विद्यार्थीलाई सहज भिसाको व्यवस्था र पोस्ट स्टडी वर्कको व्यवस्थाले अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइ पर्ने गरेको चाल्स डार्विन युनिभिर्सिटी अष्ट्रेलियाको दक्षिण एसिया रिजनल म्यानेजर रेनु यादवको भनाइ रहेको छ। उनका अनुसार विद्यार्थीको शैक्षिक प्रमाणपत्र सही छ र उसको आर्थिक हैसियत बलियो छ विद्यार्थीले अस्ट्रेलियाका लागि भिसा पाएको अवस्था छ।
अष्ट्रेलियमा विद्यार्थीले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेपछि दुई वर्ष, अनुसन्धान पास गरेपछि तीन वर्ष र विद्यावारिधि पूरा गरेपछि चार वर्षको पोस्ट स्टडी वर्क परमिट पाउने व्यवस्थाले पनि विद्यार्थी आकर्षित भएका छन्। विद्यार्थीले प्रमुख सहरभन्दा ग्रामीण क्षेत्रतिर अध्ययन गर्न गए स्थायी आवासका लागि बढी अंक पाउँछन्। स्नातकोत्तर तह अध्ययन गर्न जान चाहने विद्यार्थीले डिपेन्डेन्टमा लान पाउने व्यवस्था भएकाले पनि डिपेन्डेन्टले पूर्णकालीन रुपमा काम गर्न पाउँछन्।
विश्वका उत्कृष्ट विश्वविद्यालय अस्ट्रेलियामा छन्। अस्ट्रेलियन नेसनल विश्वविद्यालय, युनिभर्सिटी अफ मेलबर्न, युनिभर्सिटी अफ सिड्नी, द युनिभर्सिटी अफ एनएसडब्लु, द युनिभर्सिटी अफ क्विन्सल्यान्ड, मोनास युनिभर्सिटी, द युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया चर्चित विश्वविद्यालय हुन्।
सिडियूले नेपाली विद्यार्थीलाई सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्छ
गिरिस लाइअर, साउथ एसिया रिजनल डाइरेक्टर, चाल्र्स डार्विन युनिभर्सिटि, अष्ट्रेलिया
नेपाल अष्ट्रेलियन एजुकेशन प्रोभाइडरका लागि ठूलो मार्केट हो। चाल्र्स डार्विन युनिभर्सिटिमा नेपाली विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। हामीले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई रोजगारीको अवसरमा पनि सहजिकरण गर्ने गरेका छौँ।
हामीलाई नेपालमा रहेका परामर्श व्यवसायीले विद्यार्थी भर्नाका लागि सहजिकरण गर्दै आउनुभएको छ । विद्यार्थीले भिसा पाउने र नपाउने विषय विश्वविद्यालयको नियन्त्रणमा हुँदैन। यो अष्ट्रेलियन सरकारको पोलिसिमा भर पर्छ। अष्ट्रेलिया जाने विद्यार्थीको उद्देश्य अध्ययन गर्ने नै भन्ने हुनुपर्छ। हामीले विद्यार्थीलाई आवश्यक कागजात तयार गरेर आफ्नो रोजाइको विषय पढ्न सुझाब दिन्छौँ। सिडियूले विद्यार्थीलाई शैक्षिक गुणस्तरमा ध्यान दिदैँ अध्ययनसँगै सिप सिकाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
यहाँको शैक्षिक वातावरण विद्यार्थी मैत्री छ। जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय डिग्री दिने मात्र नभएर उनीहरूको उच्च शिक्षा र भविष्यलाई पनि केन्द्रमा राख्ने गर्छ । विश्वविद्यालयले कितावि ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिन्छ। यहाँ विद्यार्थीले नेपाली समुदायसँग घुलमिल भएर पढाइसँगै पार्टटाइम काम पनि गर्न पाउँछन्।
सिडियू अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सहुलियत शुल्कमा अध्ययन गराउने र ३० प्रतिशत छात्रवृत्ति उपलव्ध गराउने विश्वविद्यालय हो जहाँ विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्छन्। यहाँ एकसय भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। जहाँ विद्यार्थीले आफ्नो रोजाइको विषय पढ्न सक्छन् ।