काठमाडाैँ- विश्वविद्यालय शिक्षा तर्फ व्यवस्थापन संकाय विद्यार्थीको रोजाइमा पर्ने संकाय हो । कक्षा १२ उत्तिर्ण गर्ने विद्यार्थीमध्ये सबैभन्दा धेरै करिब ४७ प्रतिशत विद्यार्थीको रोजाइमा व्यस्थापन संकाय पर्ने गरेको सरकारी तथ्याङ्क छ । योसँगै विश्वविद्यालयले पनि व्यवस्थापकीए जनशक्ती उत्पादन गर्न व्यवस्थापन संकायतर्फ नयाँ विषयहरू थपगर्दै पाठ्यक्रममा परिमार्जन गर्दै लगेका छन् ।
बजारको माग अनुसारका विषय अध्ययन गरेका विद्यार्थीले अध्ययनपश्चात रोजगारीको अवसर पनि पाउने गरेका छन् । पछिल्लो समय अध्ययन पश्चात रोजगारीको अवसरका कारण पनि आम अभिभावक र विद्यार्थीको रोजाइमा व्यवस्थापन संकाय पर्ने गरेको त्रिभुवन विश्वविद्यलायका व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा बताउँछन् । उनका अनुसार नेपालमा अध्यापन हुने संकायमध्य सबैभन्दा धेरै विद्यार्थी भएको संकाय व्यवस्थापन संकाय हो । उनी भन्छन्,‘त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्य ४७ प्रतिशत विद्यार्थी व्यवस्थापन संकायका छन् । व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको दर प्रत्येक बर्ष १० प्रतिशतले बढेको अवस्था छ ।’
आम अभिभावक र विद्यार्थी रोजगारमुलक शिक्षातर्फ आकर्षित हुने गरेका छन् । नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले व्यस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
विश्वविद्यालयहरूले बीबीएस, बीबीएमात्र नभएर व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विधामा विशेषज्ञता हासिल गराउने उद्देश्यले बीबीएबीआई (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स), बीबीआईटीटी (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम, बीसीआईएस (ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम), बीबीए (फाइनान्स) बीबीएम (ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट) होटल व्यवस्थापन (बीएचएम) ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) लगायतका विषय अध्यापन गराउँदै आएका छन् ।
बजारमा व्यवस्थापकीय जनशक्तीको माग बढेसँगै ब्याचलर्स इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसिएम), ब्याचलर्स इनट्राभल एण्ड टुरिजम (बीटिटिएम), ब्याचलर इन स्पोर्टस मयानेजमेन्ट (बीएसएम) लगायतका विषयको अध्यापन हुन थालेको छ ।
यी कार्यक्रम विश्वविद्यालय केन्द्रीय क्याम्पसका अलावा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पनि सञ्चालन गर्ने गरेका छन् । स्नातक तहमा व्यवस्थापकीय ज्ञानसँगै सैद्धान्तिक विषयलाई पनि व्यावहारिक र रोजगारमुखी बनाउन नयाँ विषय थपिने क्रम चलिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्तीको माग भएका नयाँ विषयमा नीजी शिक्षण संस्थालाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौति थपिएको हिसानका अध्यक्ष एवं गोल्डेन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले बताए ।
उनले भने ,‘ कलेजले विश्वविद्यलायले दिएको मापदण्ड भित्र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ । व्यवस्थापन संकायतर्फ विद्यार्थीको रुचि भएपनि बजारको माग अनुसार विश्वविद्यालयले नयाँ विषयको पाठ्यक्रम अपडेट गर्नुपर्छ । अहिले विद्यार्थी नेपालमा भन्दा पनि विदेशि शैक्षिक गन्तव्यको खोजिमा छन् । विद्यार्थी विदेशीयसँगै नेपालमा पनि दक्ष जनशक्ती अभाव छ । त्यसैले नेपालमा नै गुणस्तरीय शिक्षा प्रदान गरेर नेपालमा नै पढ्ने र रोजगारी गर्ने वातावरण बनाउन आवश्यक छ ।’
नेपाली विश्वविद्यालय मात्र होइन नेपालमा विदेशी विश्वविद्यालयको संम्बन्धनमा सञ्चालित कलेजमा पनि विद्यार्थीले व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्ययन गर्ने गरेका छन् । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर पनि नेपालमा बीबीए, एमबीए, बीआईटि, बीएचएम जस्ता व्यवस्थापन संकायका विषय कलेजहरूले सञ्चालन गर्दै आएका छन् ।
ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेजका सिइओ खेमराज लकईले विद्यार्थीको आवश्यकतालाई महसुस गर्दै नेपालमै होटल व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको डिग्री प्रदान गर्ने उद्देश्यले विदेशी सम्बन्धनमा क्याम्पस सञ्चालन गरेको बताए । उनले भने,‘विद्यार्थीले नेपालमै बसेर विदेशको महंगो डिग्री नेपालमै लिने अवसर पाएका छन् । यी विषय अध्ययन पश्चात अवसरको पनि सुनिश्चितता छ । विद्यार्थीले आफू अनुकुल सिप विकास गर्दै दक्षता अभिवृद्धि गर्न सक्छन् । उनीहरूले अध्ययन पश्चात स्वदेशी तथा विदेशी रोजगार बजारमा काम पाउछन् ।’
निजी क्षेत्रको बलियो उपस्थितिसँगै विश्वविद्यालय शिक्षाको प्रवेशबिन्दु स्नातक तह रोजगारमुलक शिक्षातर्फ उन्मुख भएको एभरेष्ट कलेजका सिईओ बिष्णुहरी पाण्डेले बताए । उनले भने,‘हामीले गुणस्तरीय शिक्षा प्रदान गरेका छाँै । हाम्रा उत्पादनले विश्वजारमा रोजगारीको अवसर पाएका छन् । अध्ययन पश्चातपनि उच्च शिक्षा अध्ययन गर्न अन्तर्राष्ट्रिय विश्वविद्यायमा छात्रवृत्ति पाएको अवस्था छ । व्यवस्थापन तर्फका जनशक्ती जुनसुकै क्षेत्रमा पनि फिट हुन सक्छ ।’
केही बर्षयता कक्षा १२ उत्तीर्ण गरेसँगै नेपाली विद्यार्थीले विदेशी शिक्षणसंस्थालाई आफ्नो शैक्षिक गन्तव्य बनाउने होडबाजिले भने नेपाली शिक्षणसंस्थामा प्रतिकुल प्रभाव परेको जानकारहरू बताउँछन् । विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजलाई मापदण्ड विपरित राजनीतिक पहुँच र आर्थिक चलखेलका आधारमा कलेज सञ्चालन स्वीकृति प्रदान गर्दा भने समस्या उत्पन्न भएको शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला बताउँछन् ।
उनका अनुसार ,‘बजारको माग अनुसारको विषय अध्यापन सुरु गरिए पनि नजी शिक्षण संस्थामा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । मापदण्ड नपुगेकालाई पनि विश्वविद्यालायले सम्बन्धन दिएकाले शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन । सरकारको अनुगमन र नियमन गर्ने निकाय नै छैन । यसको प्रभावकारी कार्यन्वयन नहुँदा गुणस्तर परीक्षण हुन सकेको अवस्था छैन ।’
कुशल, सक्षम तथा सवल व्यवस्थापन उत्पादन गर्न, आफ्नै व्यवसाय सञ्चालन गर्ने सीप विकास गर्न, व्यावसायिक तथा अन्य क्षेत्रका लागि योग्य, दक्ष, सिर्जनशील तथा जिम्मेवार व्यवस्थापक बन्न, कुनै पनि संस्थाको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गरी मुनाफामा लैजान, सही समयमा सही निर्णय लिन सक्ने योग्यता हासिल गर्न, मानव संशाधनको उचित व्यवस्थापन गर्न, वस्तु उत्पादनदेखि बजार व्यवस्थापनसम्मलाई चुस्त बनाउन, जोखिम मूल्यांकन गरी अहिलेको प्रतिस्पर्धात्मक बजारमा देखिएका चुनौती समाधान गर्नकालागि व्यवस्थापन संकाय पढ्ने तर्फ कलेज सञ्चालकले सुझाव दिएका छन् ।
सैद्धान्तिक पक्षलाई समेत प्रयोगात्मक ढंगबाट अध्यापन गराएर विद्यार्थीलाई आत्मनिर्भर बनाउदै व्यवसायिक ज्ञान दिने विषय व्यवस्थापन संकाय अन्तर्गत पर्दछन् । व्यवस्थापन शिक्षा तर्फ रोजगारीको अवसर र विषय विज्ञता हासिल गर्ने अवसर प्राप्त हुने भएकाले विद्यार्थीको आकर्षण बढेको नेपाल मेगा कलेजका निर्देशक मधुकर पाण्डेले बताए । उनले भने,‘राजनीतिबाट केही अलग र नियमित पठनपाठनका कारणपनि निजी कलेज विद्यार्थीको रोजाइमा पर्ने गरको छ । निजी क्षेत्रको भूमिकालाई स्वीकारेर नै त्रिविले ब्याचलर्स इन इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) र व्याचलर इन विजनेश म्यानेजमेन्ट (बिबिएम) निजी कलेजहरूलाई सञ्चलन गर्ने अनुमति दिएको हो ।’
बीबीए, बीबीएम कार्यक्रम अध्यापन हुने त्रिभुवन विश्वविद्यालयका आंगिक भन्दा सम्बन्धन प्राप्त क्याम्पस धेरै छन् । पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए अध्यापन गराउँदै आएको रिट्ज कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल तुलसिराम रिजालले त्रिभुवन विश्वविद्यालयको मात्र नभई व्यवस्थापन संकाय तर्फ पोखरा विश्वविद्यालयको पाठ्यक्रम उत्कृष्ठ भएको बताए ।
उनले भने,‘ पोखरा विश्वविद्यालयको पाठ्यक्रम गुणस्तरीय छ । यहाँका उत्पादनले आफ्नो दक्षता पनि प्रस्तुत गरेका छन् । विश्वविद्यालयको पाठ्यक्रम अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्ती उत्पादनका लागि सक्षम भएकाले नै व्यवस्थापन संकाय तर्फ विश्वविद्यायको पहिचान नै बेग्लै खालको छ ।’