काठमाडाैँ- कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी सुरक्षित भविष्यको खोजिमा स्वदेशी तथा विदेशी विश्वविद्यालयका शिक्षण संस्थामा भर्ना हुनेक्रम जारी छ। पछिल्लो केही वर्ष यता विदेश अध्ययनमा जान चाहने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। गत साउन यता ३९ हजार विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिने विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिइसकेका छन्।
नेपालको विश्वविद्यालय शिक्षामा देखिएका समस्या, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसर नहुनुले विद्यार्थी विदेश अध्ययनमा जाने गरेको सरोकारवालाको बुझाइ रहेको छ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रीयू)का अनुसार विदेशमा अध्ययनसँगै काम र दाम पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेको हो।
गत आर्थिक बर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले विदेश अध्ययनमा जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र (एनओसी) लिएका थिए। यी मध्ये करिब ८० प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेशी विश्वविद्यालयमा भर्ना हुने गरेको तथ्याङ्क छ। अध्ययनका लागि विद्यार्थी विदेश जाँदा अध्ययनको नाममा गत आर्थिक वर्षमा मात्रै १ खर्ब ४२ करोड रुपैयाँ विदेशिएको थियो। पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । विदेश जाने विद्यार्थीको संख्या बढेसँगै उक्त शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढेको तथ्याङ्कले देखाउँछ।
आर्थिक वर्ष ०७८÷७९ मा १ लाख १२ हजार ९ सय ६८ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । आर्थिक बर्ष २०७९÷८० मा १ लाख २२ हजार ५ सय १४ जनाले एनओसी लिन आवेदन दिएका मध्य १२ हजार २ सय ९७ जनाको रद्द भएको थियो । गत वर्षमा सबैभन्दा बढी अस्ट्रेलिया पढ्न जान विद्यार्थीले एनओसी लिएका थिए। गत वर्ष ३३ हजार ९ सय ९१ जनाले अस्ट्रेलिया जान अनुमति लिएका थिए।
मन्त्रालयको तथ्यांकअनुसार अस्ट्रेलियापछि जापान, क्यानडा, बेलायत, अमेरिका लगायतका मुलुकमा दशौँ हजार विद्यार्थी अध्ययनका लागि गएका छन्। नेपालबाट ७० भन्दा बढी मुलुकमा अध्ययन गर्न जान विद्यार्थीले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन्।
शिक्षा मन्त्रालय प्रवक्ता शिवकुमार सापकोटाका अनुसार विद्यार्थी नेपालमा गुणस्तरीय शिक्षा नभएर भन्दा पनि अवसरको खोजिमा विदेशिएको बताउँछन्। ‘यहाँ गुणस्तर नभएर भन्दा पनि धेरै विद्यार्थी सुरक्षित भविष्यको खोजिमा विदेशिएका छन्। विदेशमा पढ्दै कमाउन पनि सकिने भएपछि उनिहरूको आकर्षण बढेको हो। नेपाली विद्यार्थी विदेशमा उच्च शिक्षा आर्जन गरेपश्चात अवसर पनि पाएका छन्।’