काठमाडाैँ- सूचना प्रविधिको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा सराेकारवालाले जाेड दिएका छन्। प्रेसिडेन्सियल विजनेस स्कुल र राष्ट्रिय सफ्टवेयर तथा सूचना प्रविधि संघ (नास्ट आइटी) ले संयुक्त रूपमा आयोजना गरेको ‘प्रेसिडेन्सियल बिजनेस कन्क्लेभ २०२३’ मा वक्ताहरूले हरेक नागरिकले सूचना प्रविधिको प्रयोगलाई अघि बढाउनुपर्ने बताए।
नेपालमा सूचना प्रविधि सम्बन्धि व्यवसायबाट अर्बौ रूपैयाँ राजस्व संकलन भएकाले स्पष्ट नीति बनाएर यस व्यवसायलाई व्यवस्थित गर्न सुझाब दिएका छन्। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सूचना प्रविधिको प्रयोगलाई जनस्तरसम्म पुर्याउनुपर्ने, सरकारले स्पष्ट नीति र जनस्तरमा चेतनाको अभावका कारण सूचना प्रविधिको क्षेत्रले उल्लेख्य प्रगति गर्न नसकेको बताए।
उनले सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को बजेटमै सूचना प्रविधिको विकासका सम्बन्धमा व्यवस्था गरेको र सोही अनुसार नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेको जानकारी दिए।
स्वदेशमै बसेर सूचना प्रविधिसँग सम्बन्धित विदेशी संस्थामा काम गर्ने वातावरण बनेको बताउँदै उनले भने स्वदेशमै सूचना प्रविधि संस्था खोलेर विदेशमा गएका जनशक्तिलाई समेत स्वदेश फर्काउन अभियान सञ्चालन गर्नुपर्छ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन डा. मनीष पोखरेलले सूचना प्रविधिको विकासको लागि शैक्षिक संस्थाको पाठ्यक्रममा पनि सुधार गर्नुपर्नेमा जाेड दिए।
यस्तै कार्यक्रममा बाेल्दै प्रेसिडेन्सियल बिज्नेस स्कुलका प्राचार्य कल्पना गुरूङले सूचना प्रविधिको क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न शैक्षिक संस्था र यस क्षेत्रमा कार्यरत रोजगार प्रदायक कम्पनीबीचको सहकार्य अनिवार्य रहेको बताइन्। 'विद्यार्थीलाई पढाइ र सिप सँगसँगै सिकाउन हामीले सूचना प्रविधिसँग सम्बन्धित थुप्रै संस्थासँग सहकार्य गरिरहेका छाैँ।'
सरकारी तथ्याङ्क अनुसार गतवर्ष सूचना प्रविधि सम्बन्धि व्यवसायबाट सरकारले ६७ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो।
कार्यक्रममा बाेल्दै नास्ट आइटीका अध्यक्ष रिचन श्रेष्ठ, सूचना प्रविधिविज्ञ कुमार पुडासैनी, हिमालय कक्षपति, शितल महर्जन लगायतले अबको विश्व बजारमा प्रतिस्पर्धा गर्ने हो भने सरकारले सूचना प्रविधिको क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्नेमा जाेड दिए।