काठमाडाैँ- विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेष गरी स्कुले नानीबाबुलाई असाध्यै प्रभाव पारेको छ।
सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक रुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसइईको हाउगुजी देखाउने त ? यो प्रश्नगम्भीर रुपमा तेर्सिएको छ ।पहिलेदेखि नै एसइई अर्थात् साविकको एसएलसी खारेज गरौ भन्दै सरकारी निकायका पदाधिकारीहरु कराउदै आए ।हो मा हो गर्दै निजी विद्यालयका संगठन प्याब्सन, एन प्याब्सनहरु पनि निकै तातेकै हुन् ।
अहिले यस्तो अवस्थामा भौतिक रुपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी रबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ । एसइइमा अहिले जम्मा आठ वटा विषय छन् । कक्षा आठ मा पढ्दै आएका विद्यार्थीहरु करीब कोभिडकै कारण सबैभन्दा बढी प्रभावित हुनेमा पर्छन् । किनकि उनीहरु नै त्यस्ता विद्यार्थी हुन् जसले लामो समय अनलाईनबाटै कक्षा लिए ।
भौतिक रुपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो । यसअघि र त्यो भन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा परीक्षा सञ्चालन गर्यो । कक्षा सञ्चालन गर्ने, अनि दुई महिनामै कोर्ष पनि सकिने र परीक्षाका लागि विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन । एसइइको आवश्यकता र औचित्य पनि हटिसकेको अवस्था छ।
विद्यालय तहको शिक्षा कक्षा १२ सम्म भइसकेको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसइइमा के समस्या छ भने यदि विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन । किनभने फेलपास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रुपमा लिएको हुन्छ । यो पालाको एसइइ परीक्षामा सामेल हुने विद्यार्थीहरु लामो समय सम्म कोभिडका विभिन्न प्रकारका वेभहरुबाट प्रभावित भएकाहरु नै छन् ।
वैशाखबाट सञ्चालन हुने एसइईकालागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ?
उनीहरुमा कन्फिडेन्ट लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिक रुपमा कक्षा सञ्चालन नगराउनु भन्दै उर्दि जारी गर्यो। त्योभन्दा अघि पनि तिनै विद्यार्थीहरु लामो समय घरमै बसेर अनलाईन कक्षाबाट आफूलाई जसरी तसरी तयारी बनाउदै ल्याए । अहिले आएर फेरी तिनैलाई वैशाखबाट सञ्चालन हुने एसइईकालागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ?यहाँनेर मेरो प्रश्न हो ।
उमेरका हिसावले पनि एसइइ दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरु नाबालक नै हुँन् । तिनको अद्र्धचेतन मस्तिष्क पनि बलियो र पूर्ण रुपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरण शक्तिका हिसावले पनि यो उमेर समूहका बालबालिकाहरु कमजोर नै हुन्छन् ।बल्ल त उनीहरुको मस्तिष्कको विकास हुदै गएको अवस्थामा यो उमेरमा एउटा ढोका बन्द हुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन ।
विद्यार्थीलाई विगत देखि नै एसएलसी अहिलेको एसइइलाई ‘आइरन गेट’ बनाउदै आएको अवस्था छ ।विद्यार्थी पनि एसइइलाई यसरी तयारी गर्नुपर्छ किमानौ जीवनको ठूलो उपलब्धी नै त्यही हो भन्नेमा विश्वस्त छ । स्कुलहरु पनि दिनरात एसइइकै तयारीमा हुन्छन् । सकेसम्म बढी अंक ल्याउने होड बाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुन प्रकार भौतिक रुपमा उपस्थित गराउँदै एसइइको जाँच गर्ने उद्घोष गरेको छ । त्यसकाबारेमा केही सोच्ने हो कि भन्ने मेरो भनाई हो ।
मान्छेको शारीरिक हिसावले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अद्र्धचेतन मनको विकास पनि क्रमिक रुपले हुँदै जाने हो । फेरि अहिले जो जसले एसइइको जाँच दिने तयारी गरिरहेका छन् ।तिनलाई त तीन पटकको कोभिड – १९ का विभिन्न प्रकारका वेभहरुले यति गलाई सकेको छ कि अब उनीहरु दौडन नसक्ने अवस्थामा पुगिसकेका छन् । विगतमा पनि केही विद्यार्थीलाई कोभिड फोबिया कै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चार माध्यमहरुले बाहिर ल्याएका थिए ।
लामो समय कोभिडको ह्याङ ओभरमा रहेका विद्यार्थीलाई फेरी जाँचको भुत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यस बारेमा सोच्नुपर्छ ।
अहिलेको अवस्थामा बढी भन्दा बढी विद्यार्थीले ग्रेड ए नै ल्याउँछन् भन्ने पनि छैन । विद्यार्थीहरुमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिन खोजिरहेको छ ।अनि यस्तो बेलामा एसइइको झोला बोकाएर हिँडे हिँड नभए कुट्छु‘ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमा पनि यो वर्षसम्मका विद्यार्थीलाई सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसइइ परीक्षाको नतिजा दिलाउनुपर्छ ।
अहिले एसइइको जाच दिन लागेका विद्यार्थीहरुलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ह्याङ ओभरमा रहेका विद्यार्थीलाई फेरी जाँचको भुत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यस बारेमा सोच्नुपर्छ ।
हुन त यस बिचमा धेरै विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरे । तर, त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिदै आएको छ । अनलाईनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ ।
घरमै बसेर पढ्ने बानिले शारीरिक व्यायाम नहुदा विद्यार्थीमा मोटोपना बढेको छ । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थीहरु भर पर्दा अवस्था समस्या सृजना भएको छ । लामो समय अनलाईनकै भरपर्दा कतिपय अभिभावकहरुले आफ्ना नानीहरुलाई राय सल्लाह दिन सके पनि होलान्, तर धेरैको अवस्था फरक छ । शिक्षकले देखाउँदै पढाउँदा त कति धेरै समस्याहरु आउथे भने अहिले त अनलाईन ।
अनलाईनको भूतले पनि विद्यार्थीलाई निरश बनाएको छ । अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ । तर, त्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यान गएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फी रुपमा मात्रै हेरेको अवस्था छ ।
वर्ष दिनभरि पढाउनुपर्ने कोर्ष दुई महिनामा सिध्याउ भन्ने, अनि परीक्षाको लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनि न्यायसंगत कुरा होइन । अनलाईनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ ।
सामाजिक रुपमा पनि हाम्रा विद्यार्थीहरु कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्छ । विद्यार्थीलाई एसइइको भूत देखाउने भन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्न सके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचे जस्तो उच्च शिक्षाकालागि हाम्रा विद्यार्थीहरु तयार हुने थिए ।
(लामा मन्टेश्वरी एसोसिएसन नेपालको केन्द्रीय अध्यक्ष हुन्)