काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो।
खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको छ।
उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ। आरोपित दीपक ओझाले भने सफाइ पाएका छन्।आरोपितमध्ये हरि आचार्य हाल अमेरिकामा छन्। अरु आरोपितहरुले अदालतको तारेख गुजारेर बसेका थिए। उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।
‘मैले ढिलै भएपनि न्याय पाएको छु’, उपप्राध्यापक चलाउनेले भने, ‘ममाथि जुन ढंगले सांघातिक आक्रमण भयो, अरु कसैले यस्तो पीडा भोग्नु नपरोस्।’
घटनामा आचार्य र रावल सहित दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायत संलग्न भएको आरोप थियो। घटनापछि उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो।
उपचारका क्रममा उनको अपरेसन समेत गर्नुपरेको थियो। आक्रमणपछि उपप्राध्यापक चलाउने एक महिनाभन्दा बढी अस्पतालमा उपचार गराएर घर फर्किएका थिए।
२० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको थियो ।
प्रेम बहादुर चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो। तर काठमाडौँ जिल्ला अदालतले भने आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योगभन्दा पनि शरीर अङ्गभङ्ग गराउने उद्देश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो।
मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ मा अङ्गभङ्ग गर्न नहुने सम्बन्धी व्यवस्था छ। उक्त दफाको उपदफा १ अनुसार अङ्गभङ्ग गराएमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।
सोही दफाको उपदफा ५ मा अङ्गभङ्ग भएको खत वा घाउ निको भई काम लाग्ने भएमा तीन वर्षसम्मको कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।