दाङ - तुलसीपुर उपमहानगरपालिका- ६ की रेखा चौधरी १३ वर्षकी पुगिन्। अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण गरौँ र पढाइको खर्च जुटाउँ भन्ने पिरलो छ। यो उमेरमै व्यवहारका कारण पाको बन्नुपरेको छ उनलाई।
त्यसैले उनले बहिनीको जिम्मेवारी पनि लिनुपरेको छ। घरखर्च चलाउन र पढाउनका लागि उनले बिहान बेलुका अरुको घरमा भाँडा माझ्ने काम गर्ने गर्दछिन्। भाँडा माझ्ने र घर सफा गर्ने कामबाट समय निकालेर उनी दिउँसोको समयमा स्कुल जाने गरेकी छिन्।
बिहानको समयमा अरुको घरमा काम गरेपछि दिउँसो स्कुल जाने गरेको उनले बताउँछिन्। उनको घर दङ्गीशरण गाउँपालिकाको मीरौली गाउँमा छ। तर आफ्नो घर त्यहाँ छ भन्ने मात्र उनले सुनेकी छिन्, देखेकी छैनन्। उनी भन्छिन्, “पहिला आमाले भन्ने मात्र सुुनेकी छु तर मेरो घर त्यहाँ कहाँ पर्छ भन्ने मैले आफैँ देखेकी छैन।” रेखा भन्छिन्, “बुबा पनि कहाँ हुनुहुन्छ मलाई थाहा छैन। उहाँले हामी सानो छँदा आमालाई कुटपिट गर्ने गरेको त थाहा थियो तर पछि आमाले त्यो पीडा सहन नसकेर अलग्गै बसेको बताउनुभएको थियो । बुबाले सधैँ आमालाई गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै हेला गर्न थाल्नुभयो। बाबुको यातना सहन नसकेपछि आमाले पनि दोस्रो बिहे गर्नुभएको हो।”
रेखाकी आमाले दोस्रो बिहे गरेको पनि नौ वर्ष पुगेको रेखाले सुनाइन्। उनले भनिन्,“नौ वर्ष भयो आमाले दोस्रो बिहे गरेको हामी सानै थियौँ। केही समय हामी पनि सोही घरमा सँगै बसेका थियौँ।” केही समयपछि रेखाका दुःखका दिन पुनःसुरु भए। आमाले बिहे गरी गएका कान्छो बुवाका घरमा पनि अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमालाई गाली गर्न थाले। त्यसपछि आफूहरु आमा नभएको मौका छोपेर त्यस घरबाट पनि निस्किएको रेखाले बताइन्।
त्यसपछि उनीहरु जाने घर कतै थिएन। कैयौँ दिन ती दुई बहिनीले सडकमै रात बिताए। रेखा भन्छिन्, “केही दिनसम्म सडकका गल्लीमा रात दिन बितायौँ, अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका वडा नं ६ को एक घरमा पुग्यौँ। त्यही घरको अन्टीले खान बस्न दिनुभयो र घरको काममा लगाउनुभयो”, गहभरि आँशु पार्दै उनले सुनाइन्। आफूहरु त्यहाँ रहेको थाहा पाएपछि आमा पनि भेट्न आउने गरेको रेखाले बताइन्। घरका मानिसलाई थाहा नदिएर आमा भेट्न आउने गरेकी थिइन्। कहिलेकाहीँ लत्ताकपडा त कहिले खाने कुरा ल्याएर आमा आउने गरेको रेखाले बताउँछिन्।
दुई हप्ताजति सो घरमा बसेपछि आफन्तको खोजी गरेर आफूहरुलाई हजुरआमाको जिम्मा लगाएको रेखाले सुनाइन्। त्यसपछि हजुरआमा देशनी चौधरीसँगै उनीहरु बस्न लागे। अहिले पनि उनीहरु हजुरआमासँगै छन् तर खानपिनको जोहो भने मजदुरी गरेरै गर्नुपर्छ। मजदुरी गरेर ल्याएको पैसाले दाल, चामल, नुन तेल किनेर गुजारा चलाउने गरेको रेखाले सुनाइन्। रेखाले भनिन्, “हजुर आमा ७५ वर्षकी हुनुहुन्छ। उहाँले दिनभर अरुको घरमा मजदुरी गर्नु हुन्छ र मैले भने बिहान बेलुका अरुको घरमा भाँडा माझ्ने काम गर्दछु। यसरी दिन चलाएका छौँ। दिउँसोको समयमा म र बहिनी पढ्न स्कुल जाने गरेका छौँ।”
रेखाले तुलसीपुरमा रहेको एक सामुदायिक विद्यालयमा कक्षा ६ मा र बहिनी रेणुकाले कक्षा ५ मा अध्ययन गरीरहेका छन्। उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानर पालिका वडा नं १२ को भूते डाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाउनुभएको छ। उनीहरुको रात काट्न ओत लाग्ने घर त्यही हो। देशनीले भनिन्, “मैले छोरीलाई सानैमा बिहे गरिदिएँ, धन सम्पत्ति थिएन र पढाउन पनि सकिन, श्रीमान् र घरपरिवारले त गरिबकी छोरी भन्दै दिनहुँ हेला गर्ने, खान नदिने कुटपिट गर्ने गर्न थालेपछि छोरीले त्यो पीडा सहन नसकेर माइतीमा आएर बसी र केही समयपछि सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरेर गएकी हो। यी नातिनीहरुको विचल्ली नहोस् भनेर मैले नै पालन तालन गरेकि छु।” “अहिले मलाई पनि दुईवटी नातीलाई कसरी पढाउँ र के खुवाउँ भन्ने समस्या छ”, उनले सुनाइन्।
त्यसैगरी रोल्पा जिल्लाकी १४ वर्षीया कमला विक पनि तुलसीपुर बजारमा रहेको एक नास्ता पसलमा काम गर्दै आएकी छन्। घरमा खान पुग्दैन आफू सानै छँदा बुबाको निधन भयो। घरखर्च चलाउने पैसा कमाउन आमालाई जानकारी नै नदिएर साथीहरुसँग भागेर आफू यहाँ आएको उनले बताइन्। कक्षा ५ मा अध्ययन गरिरहेकी कमलाले आफ्नो घरमा आर्थिक समस्याको अवस्था देखेपछि पढ्दा पढ्दै छोडेर यहाँ आएको बताउँछिन्। उनी भन्छिन्, “घरको आर्थिक अवस्था कमजोर छ। आमा, दुई बहिनी र भाइलाई पालनपोषणमा सहयोग पुर्याउनका लागि मैले पैसा कमाउनुपर्छ भन्ने सोचले काम गर्न आएकी हुँ ।” रेखा र कमला अहिलेका लागि प्रतिनिधिपात्र मात्र हुन्। घरको वातावरण तथा अन्य सामाजिक परिवेशका कारण यसरी रेखा र कमलाजस्तै बालबालिका बेसहारा बनेर सडकमा आउने गरेका छन्।
अभिभावकको लापरबाही, चेतनाको अभाव, गरिबीलगायतका कारण पढ्ने लेख्ने समयमा अर्काको घरमा काम गर्नुपर्ने बाध्यता उनीहरुको रहेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले पाँच वर्षअघि वडालाई बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरुका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न बाध्य भएका छन्। वडा सदस्य यमुना परियार भन्छन्, “हामीले पाँच वर्षअघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रम मुक्त वडा घोषणा गरेका थियौँ। त्यतिबेला धेरै सुधार भएको थियो अहिले पछिल्लो समयमा विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिका श्रम गर्न बाध्य भएका छन्।” केही बालबालिका आर्थिक अभाव तथा अभिभावकविहीन हुँदा कामगरी खान बाध्य छन्। केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर र घरपरिवारबाट भागेर पनि एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्ने गरेका छन्।
त्यस्ता बालबालिकालाई सडक या कतै भेटेमा सम्बन्धित अभिभावक तथा स्थानीय निकायलाई जानकारी गराउन वडा सदस्य परियारले आग्रह गरे। उनी भन्छन्, “बालबालिकालाई काममा राख्ने गरेका होटल, ग्यारेज, पसलमा पनि हामीले निगरानी पहिलेको तुलनामा बढाएका छौँ र त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेहरुलाई पनि कानुनमा भएको कारबाहीको व्यवस्थाका बारेमा जानकारी गराउने गरेका छौँ। यदि अटेर गरेर काममा लगाउनेहरुलाई कारबाही गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।” रासस