काठमाडाैँ- गत कात्तिक १७ मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाई गएको ६.४ म्याग्निच्युडको भूकम्पमा जाजरकोटका ४२३ विद्यालयमध्ये ३४१ क्षतिग्रस्त भएका छन् भने रुकुम पश्चिममा ४८ वटा पूर्ण र २८ विद्यालयमा आंशिक क्षति भएकाे छ। भूकम्पमा परि ४२ जना विद्यार्थीले ज्यान गुमाएका छन्।
जाजरकोटका ४ सय २३ विद्यालयमध्ये ३ सय ४१ विद्यालय पनि क्षतिग्रस्त भएकोमा २ सय ८९ वटा पूर्ण क्षति र ५ सय ९८ वटामा आंशिक क्षति पुगेको र भूकम्पमा परी जाजरकोटका २४ जना विद्यार्थी र १ जना शिक्षकको समेत ज्यान गएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञेश्वर खत्रीले जानकारी दिए। साथै, १५ सय ९९ कक्षाकोठा भूकम्पका कारण क्षतिग्रस्त भएको पनि सामाजिक विकास कार्यलय जाजरकोटको तथ्यांक छ।
यस्तै रुकुम पश्चिमभर गरी १८ विद्यार्थी र १ विद्यालय कर्मचारीको समेत ज्यान गएको छ भने ४८ वटा विद्यालय पूर्ण क्षतिग्रस्त भएका छन्। २८ वटा विद्यालयमा आंशिक क्षति पुगेको यहाँको सामाजिक विकास कार्यालयको तथ्यांक छ। जसका कारण १ सय ९३ वटा कक्षाकोठामा पूर्ण क्षति पुगेको छ।
भूकम्पका कारण विद्यालयमा भएको भौतिक क्षति र शिक्षक-विद्यार्थीमा देखिन सक्ने मानसिक समस्यालाई हल गर्न सरकारले ठोस योजना बनाएर अघि बढ्नुपर्ने आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष हुकुमबहादुर पुनको धारणा छ ।
भूकम्प गएको १७ औं दिनपछि विद्यालय त खुलेका छन् तर विद्यार्थी त्रसित छन्। विद्यालयकाे संरचना अभावमा पठनपाठन सञ्चालन हुन सकेकाे छैन। अभिभावक पनि विद्यालयमा आफ्ना वालवालिकालाई पठाउन डराइरहेका छन्।
भग्नावशेष भएको विद्यालयमा छोराछोरी पठाउन आफूहरू पनि डराइरहेको आदर्श मावि आठबिसकोट-१४ का अभिभावक सुवास मल्लले बताए । ‘धेरै स्कुलका भवन भत्किएका छन् । भएका पनि चिराचिरा परेका छन्,’ उनले भने, ‘बच्चाबच्ची यस्तो भवनमा बसेर कसरी पढ्लान् भनेर पीर छ । के गर्ने, के नगर्ने अलमलमा छौं।’
सरकारले अस्थायी संरचना बनाएर विद्यालयमा पठनपाठन तत्काल सञ्चालन गर्न जरुरी छ।