काठमाडाैँ- लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ एभरग्रीन चार्टडले यहि कात्तिक १८ गते ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्ने भएको छ।
धादिङको गजुरी गाउँपालिका-५ स्थित डोल भञ्ज्याङ मा.बि. मा क्लबले सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागेकाे हाे। यस विद्यालयमा विद्यालयमा पर्जा (चेपाङ) समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।
क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएको क्लवकी अध्यक्ष कल्पना बस्नेतले जानकारी दिइन्।गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली सँगीत र संस्कृतिलाई उजागर गर्न सहयाेग पुग्ने उनकाे बुझाई छ।

‘सामाजिक र साँस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्लवले जनाएकाे छ। कार्यक्रम राजधानीको प्रज्ञा भवनमा साँझ ५ बजेपछि सुरु हुनेछ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक बराल झण्डै २५ वर्षपछि एकल साँझमा गुञ्जिन लागेका हुन् । दुई चरणको प्रस्तुति रहने कार्यक्रमा पहिलो भागमा गायक बरालले आफ्ना लोकप्रिय सुगम संगीतमा आधारित गीतहरु गाउनेछन् भने दोस्रो भागमा रमाइला गीतहरुको प्रस्तुति रहनेछ।
एकल कन्सर्टमा उनले आफ्ना नयाँ-पुराना चर्चित दुई दर्जनभन्दा बढी गीत लाइभ ब्याण्डमा प्रस्तुत गर्नेछन्। २०४७ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ बोलको गीत गाएर नेपाली संगीतमा पाइला चालेका यम बराललाई ‘बादलुको घुम्टो’ गीतले परिचित बनायो। त्यसपछि निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, दिलमाया दिलमायालगायत गीत चर्चित छन्।
उनले १०० भन्दा बढी नेपाली फिल्ममा पार्श्व गायनसमेत गरेका छन्। हालसम्म एक हजार बढी गीतमा स्वर दिएका उनी गोरखा दक्षिणबाहु चौथो, नारायणगोपाल पुरस्कार, छिन्नलता पुरस्कार, विभिन्न अवार्डलगायतबाट सम्मानित भइसकेका छन्।