काठमाडाैँ- युद्धग्रस्त देश इजरायलबाट नेपाल एयरलाइन्सको विमान चढेर बुधबार राति २५४ जना नेपाली काठमाडाैँ आइपुगेका छन् । उनीहरू नेपाल वायु सेवा निगमको नाइनएन-एएलजेड एअरबस ३३० चार्टर विमानबाट स्वदेश फर्किएका हुन् ।
सरकारले आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो । इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार विमान पठाइने बताउँदै मन्त्री साउदले भने,'मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको छ । अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’
द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए । हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।
नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि उनीहरूलाई सरकारले उद्धार गरेकाे हाे ।
इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।
यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो । नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए ।
बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।
मन्त्रिपरिषद्ले इजरायलबाट नेपाल फर्किन चाहने नेपालीहरूको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।