काठमाडाै – आईसीसी ट्वान्टी–२० विश्वकप छनौटको सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग ६८ रनले पराजित भएको छ। यो हारसँगै आगामी अक्टोबर र नोभेम्बरमा हुने विश्वकपमा नेपालले खेल्न नपाउने भएको छ। दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न नेपालले ओमानमा जारी यो छनौटको फाइनलमा स्थान पक्का गर्नु पर्ने थियो। नेपाललाई हराएको यूएई भने विश्वकप छनौटको फाइनल त प्रवेश ग¥यो नै विश्वकपमा आफ्नो स्थान पनि पक्का गर्यो।
अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई यूएईले १७६ रनको लक्ष्य दिएको थियो। तर कमजोर सुरुवात गरेका नेपालले सजिलै विकेट गुमाइरहेपछि लक्ष्य भेट्न सकेन। नेपाल १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा खुम्चिएको थियो।
नेपालले तीन रन बनाएर पहिलो विकेट गुमाएको थियो। ओपनर आशिफ शेख शून्यमै सीमित भए। अर्का ओपनर कुशल भुर्तेलले सात रन बनाए। तेस्रो नम्बरमा ब्याटिङ गरेका लोकेश बमले पनि रनको खाता खोल्न सकेनन्।
नेपाली इनिङ्ग्स सम्हाल्ने अपेक्षा गरिएका दीपेन्द्र सिंह ऐरीले ३८ रन जोड्न सके। जुन नेपाली खेलाडीले बनाएको सर्वाधिक स्कोर रह्यो। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २० रनको योगदान गर्दा आरिफ शेख ११ रनमा आउट भए। बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपाली ब्याटिङ धराशयी बनाउन यूएईका एहमद राजा एक्लैले पाँच विकेट लिए। यसैगरी जुनैद सिद्दिकिले तीन विकेट हात पारे भने जाहुर खान र रोहन मुस्ताफाको नाममा एक–एक विकेट रह्यो।
त्यसअघि यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल तयार पारेको थियो। यूएईका लागि मुहम्मद वासिमले सर्वाधिक ७० रन बनाएका थिए। अविनाश बोहोराको बलमा आउट भएका ओपनर वासिमले चार छक्का र चार चौका प्रहार गरेका थिए। ६ रन बनाएपछि पहिलो विकेट गुमाए पनि सम्हालिएको प्रदर्शन गरेको यूएईका लागि भृत्य अरबिन्दले २३ बलमा ४६ रन जोडेका थिए। यसैगरी मुहम्मद उसमानले १७ र जावर फरिदले ११ रनको योगदान गरे।
नेपालका लागि अविनाश र जितेन्द्र मुखियाले तीन–तीन विकेट लिए भने कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे।