काठमाडाैँ- प्यालेस्टाइन-इजरायल युद्धका क्रममा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आएसँगै सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ । साे घटनामा विश्वविद्यालयमा कृषी विषय अध्ययरत इन्ट्रनसिपका लागि इजरायल गएका विद्यार्थीले ज्यान गुमाएकाे खबर बाहिरिएसँगै विश्वविद्यालय शाेकमा डुवेकाे हाे ।
घटनापछि अध्ययनरत विद्यार्थी हतोत्साहित भएका छन् भने शिक्षक भावविह्वल बनेसँगै क्याम्पसका सबै पठनपाठन बन्द भएकाे विश्वविद्यालयले जनाएकाे छ। अशोज २० गते इजरायलमा नेपाली समय अनुसार बिहान ६.३० बजे किवुज अलुमिम लगायतका विभिन्न स्थानमा गरिएको श्रृंखलावद्ध आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका उक्त समूहमा अध्ययनरत रहेका १७ जना विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भएको समाचारप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वविद्यालयकाे आन्तरिक परीक्षा समेत स्थगित भएको छ। क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेका अनुसार घटनाले विश्वविद्यालकाे क्याम्पसमा शाेकमा डुवेसँगै त्यहाँ रहेका अन्य विद्यार्थीकाे उद्दारकाे विषयमा पनि विश्वविद्यालले आफ्नाे तर्फबाट पहल गरेकाे छ।
विश्वविद्यालयका उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताए । उनले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचारमा र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गरे । 'राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ । हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उनीहरुको समयमै उद्धार होस्', उनले भने, 'आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन् । सिङ्गो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस् ।'
कृषि विज्ञान सङ्कायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले उनीहरुको निधनले आशाको दियो निभेको बताए । पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उनको भनाइ छ ।
'हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरु थप सिकाइका लागि इजरायल जानुभएपछि आफूहरु पनि जानुपर्छ भन्ने लागेको थियो । अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ ।' उनले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताए । उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उनले बताए ।
विश्वविद्यालयले विद्यार्थीहरूको भविश्यलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय स्तरमा सिकाई अनुभव बटुल्ने अभिप्रायले इजरायल सरकारको सिकाइ सँगै आर्जन कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थीहरूलाई गत भदौमा इजरायलको विकासमा कृषि एवं पशुपालन क्षेत्रले गरेको योगदानलाई नजिकवाट अध्ययन गर्नका लागि विभिन्न ७ वटा समूहहरूमा विभाजन गरी स्थलगत अध्ययनका लागि पठाएको समयमा इजरायलमा दुखद घटना घटेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए ।उनीहरूमध्ये १० जना छात्रा छन् । उनीहरु १० महिनाका लागि इजरायल गएका थिए । विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो ।
यस्तै कृषि विश्वविद्यालयका ११९ र त्रिभुवन विश्वविद्यालका ९७ जना विद्यार्थी इजरायल गएका थिए। सरकारले उनीहरूकाे उद्दार गरेर नेपाल फर्काउने तयारी गरेकाे छ।