काठमाडौं – सुर्खेतको बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले व्यवस्था बदलियो, अब अवस्था फेर्नुपर्छ भन्ने कुरालाई चरितार्थ गरेका छन्। उनले आफ्नो विद्यालयमा सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमले राष्ट्रिय अभियानको रुप लिएको छ। सिग्देलले आफ्नो विद्यालयमा त कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेका छन् नै, सरकारले नै यसलाई अंगीकार गरेको छ।
जनज्योति स्कुलका विद्यार्थी पढाइसँगै विभिन्न सीपमूलक काम गर्छन् र त्यसबाट आयआर्जन पनि गर्छन्। विद्यार्थीलाई सिलाइबुनाइ, तरकारी खेती, माछापालन, मौरीपालन आदिमा सहभागी गराएर कमाउन सक्ने बनाइएको छ।
२०२९ सालमा स्थापना भएको जनज्योतिमा जागिर खानका लागि २०४६ सालमा तनहुँबाट सुर्खेत पुगेका सिग्देलले चक डस्टरबाट मात्रै होइन, विद्यार्थीलाई सीपसँग पनि जोड्ने काम गरेका छन्। सुरुवातका दिनमा यस अभियानमा अभिभावकले केही आशंका गरे पनि विस्तारै उनीहरुले पनि बुझ्दै गएपछि अहिले सबैले यसमा साथ दिएको उनको भनाइ छ। अहिले अभिभावकले पनि आफ्ना बालबालिकाले विद्यालयमा सिकेको सीप घरमा पनि प्रयोग गर्न थालेपछि खुसी भएका छन्।
उनले विद्यार्थीलाई सीप मात्रै सिकाएनन्, विद्यालयको अवस्था पनि परिवर्तन गरे। कक्षा ७ सम्म भएको विद्यालयलाई दश कक्षासम्म अध्यापन गर्न कक्षा थप गर्न स्वीकृति लिए। त्यसपछि विद्यार्थीलाई विस्तारै सीपसँग जोड्दै जान थाले। स्थानीय रुपमा सहयोग जुटाएर ६ रोपनी जमिन भएको विद्यालयलाई अहिले २० विघा जमिन भएको विद्यालय बनाएका छन्। थप केही जमिन लिजमा लिएर पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरेका छन्। विद्यार्थीलाई पेशासँग जोड्ने काम गरेका छन्।
प्रधानाध्यापक सिग्देलले प्राविधिक विषयको पठनपाठनका लागि महायज्ञ लगाएर रकम जम्मा गरे। त्यसपछि सुरु भयो उनको प्राविधिक शिक्षातर्फको यात्रा। उनी विद्यालयमा प्रअ भएर जाँदा २ सय जना विद्यार्थी भएको विद्यालयमा अहिले १३ सय ६५ विद्यार्थी अध्ययन गरिरहेका छन्। जसमध्ये ३ सय जना विद्यार्थी प्राविधिक धारका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कार्यान्वयनको तयारीमा ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ को जन्मदाता उनलाई नै मानेको छ। जसले विद्यालयमा पढ्ने बालबालबालिकालाई अभ्याससँग जोडेर शिक्षा क्षेत्रमा एउटा अभियानको सुरुवात गरे, उनलाई यस अभियानको सूत्रधारको रुपमा परिचालन गरेको छ। आफूले पढाएका विद्यार्थी बेरोजगार भएर रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई उनले चिरफार गरेर अध्ययन गर्ने काम गरेसँगै यो अभियानले मूर्त रुप पाएको छ।
यो अभियानलाई देशव्यापी बनाउन राज्यको ढोका ढकढक्याएका सिग्देलले उनले एउटा शिक्षकमा भएको दृढ संकल्पले मात्र पनि बालबालिकालाई शिक्षाको ज्योतीसँगै समाजमा केही परिवर्तनकारी योगदान दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
सिग्देल भन्छन्, ‘राज्य जुन जनशक्ति अभावको चपेटाबाट गुज्रिरहेको छ, त्यही जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्छ। आयात घटाउन र स्थानीय बजारमा आफ्नो उत्पादनलाई जोड्न देशभरका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई काममा लगाएर दक्ष जनशक्ति उत्पादन गर्न सके शैक्षिक बेरोजगारीको समस्या हल हुन्छ।’ उनको यही आत्मविश्वासको जगमा सुरु भएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ लाई सरकारले बजेटमा नै समेटेर राष्ट्रव्यापी बनाउँदै लागू गर्ने चरणमा छ।
सिग्देल भन्छन्, ‘हामीले श्रम बजारमा बिक्री नहुने जनशक्ति उत्पादन गर्नुको कुनै औचित्य नै छैन। वर्षको एक लाख जनशक्ति बजारमा आउँछ तर रोजगारी पाउँदैन भने बेरोजगार हुने जनशक्ति किन उत्पादन गर्ने? आज सिलाइबुनाइदेखि निर्माणमा काम गर्ने जनशक्ति छिमेकी मुलुकबाट आएर काम गरिरहेका छन्। यसलाई देख्ने, सुन्ने र बुझ्ने कस्ले? उत्पादनसँग शिक्षालाई जोड्नुपर्छ। सीपसहितको शिक्षा आवश्यक छ। जुन क्षेत्रमा जनशक्ति चाहिन्छ, त्यही क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ। अहिले कपाल काट्ने, शृंगारका माला बनाउनेदेखि घर बनाउनेसम्मका जनशक्ति अन्य मुलुकबाट यहाँ आएर काम गरिरहेका छन्। अध्ययनपछि न श्रम बजारमा श्रमिक भेटिएको छ, न उत्पादन गरेको वस्तु भेटिएको छ। पढाइ र गराइ फरक भयो। पढाइलाई रोजगारसँग जोड्नुपर्छ। दैनिक उपभोग्य वस्तु किनेर खानुपर्ने अवस्था छ।’
सिग्देल थप्छन्, ‘कस्तो व्यवसाय गर्ने भनेर सिक्ने थलो विद्यालय तह नै हो। कक्षा १२ सम्मको विद्यालय शिक्षामा ऊ दक्ष भइसकेको हुनुपर्छ। श्रम बजारमा काम गर्न दक्षता वृद्धि गर्ने उद्देश्यले यस कार्यक्रमलाई अघि बढाइएको हो। पढाएर मात्रै पुग्दैन, उसलाई कमाउने बनाउन गरिएको प्रयोग अहिले विद्यार्थीका लागि उपयोगी भएको छ। यस अभियानमा अभिभावकले पनि साथ दिएका छन्। कक्षा एकदेखि दशसम्मको पाठ्यक्रममा भएको क्रियाकलापलाई हामीले व्यवहारमा जोड्न सकेका छैनौं। राज्यले शिक्षकलाई पढाउ मात्रै भन्ने होइन, काम गराउ पनि भन्नुपर्छ। अहिलेको पाठ्यक्रम नराम्रो छैन। कक्षा ६ देखि नै साबुन, सरफ बनाउन सक्छन् विद्यार्थीले। बिजुलीका दैनिक उपभोग्य सामान बनाउन सरकारले कच्चा पदार्थ दिने व्यवस्था गर्ने हो भने उनीहरुले उत्पादन गरेका वस्तु बजारमा बिक्री गर्न व्यापारिक संस्थाले काम गर्न सक्छन्।’
प्रअ सिग्देललाई सजिलो थिएन विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन। उनले अनुभव सुनाए, ‘घरमा जतिबेला पनि माटो मात्रै खेलाउँछ भन्छन्। घर फोहोर भयो भन्ने गुनासो पनि आयो। विस्तारै परिवारले यसको महत्व बुझेपछि साथ दिन थाले। अहिले त सबैले उदाहरणीय काम गरेको भनेर सम्मान गर्छन्। काम गर्दा पढाइ बिग्रिन्छ भन्ने अभिभावक पनि अहिले कन्भिन्स भएका छन्। जिब्रो बलोर हुुँदैन, जीवन बोल्नुपर्छ। शिक्षक आफैँले काम गरेर देखाउनुपर्छ। शिक्षक चर्पी सफा गर्न गयो भने मात्र विद्यार्थीले पनि सफा राख्न सिक्छन्। विद्यार्थीलाई सिकाउँदै शिक्षक पनि काममा लाग्नुपर्छ।’
जनज्योतिमा पढेको विद्यार्थी बेरोजगार नहुने दाबी प्रअ सिग्देलको छ। भन्छन्, ‘कुनै विद्यार्थील काम पाइन भन्यो भने २४ घण्टाभित्र काम खोजिदिन्छौं। विद्यालयकी छात्रा कमला बिक उद्यमी बनिसकेकी छन्। अरु धेरै उदाहरण छन्। वैज्ञानिक र कृषि क्रान्तिको गफ दिने नेताहरुलाई विद्यार्थीले व्यवहारमै देखाएर सिकाएका छन्।’
विद्यार्थीलाई उसको रुचिअनुसारको काममा लगाउन सकियो भने मात्र उसले त्यो काम गर्छ। उनीहरुलाई काममा लगाउन प्रोत्साहन गर्नुपर्छ। यो कुरा प्रअ सिग्देलले बुझेका छन्। भन्छन्, ‘कक्षा १२ उत्तीर्ण गरेपछि आफ्नो रुचि अनुसारको संस्थामा काम गर्न अवसर दिनुपर्छ। उनीहरुले उद्योगमा ज्ञान लिन सक्छन्।’ विद्यालय शिक्षापछि पनि विद्यार्थी बेरोजगार भएर रोजगारीको खोजिमा विदेशिनु परेको अवस्थामा उनले विद्यार्थीलाई गाउँमा केही गर्न सकिन्छ भनेर सिकाएका छन्। अहिले विद्यालयमा तरकारी उत्पादन हुन्छ। गाई, भैंसी, बाख्रा, बंगुर र माछा पालिएको छ। बाँझो पाखा–बारीमा फलफूल रोपेर हरियाली बनाएका छन्।
च्याउ खेती, खुर्सानी खेती गरेर विद्यार्थीलाई व्यवसायसँग जोडेर विद्यालयलाई पनि आम्दानी जुटाएका छन्। सामुदायिक विद्यालयमा राज्यले पैसा खन्याइमात्र राख्नु पर्दैन, कमाइ पनि गर्न सकिन्छ भनेर सिकाएका छन्। विद्यार्थी काम गर्छन्, पैसा कमाउँछन्। पढाइ सकेर व्यवसाय गर्न चाहने विद्यार्थीलाई विद्यालयले ऋण उपलव्ध गराउन सहजीकरण गर्ने गरेको छ। विद्यार्थी पढाइ सकेर बेरोजगार होइन, व्यवसायी बनिरहेका छन् र गाउँमै रोजगारीको अवसर सृजना गरेका छन्।
यसरी बन्यो सरकारको योजना
प्रअ सिग्देलका अनुसार उनले आफ्नो विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेर सरकारलाई यस अभियानमा साथ दिन पटक पटक आग्रह गरे। तर, सुनुवाइ भइरहेको थिएन। पछिल्लो पटक जनार्दन शर्मा अर्थमन्त्री भएपछि भने सरकारले उनको कुरा सुन्यो। चालू आवको पूरक बजेटमा शर्माले ‘पढ्दै कमाउँदै कार्यक्रम’ लाई समेटिदिए। ‘शिक्षा मन्त्रालयका प्रतिनिधिले स्कुलमै पुगेर हेर्नुभएको छ। प्रधानमन्त्री, मन्त्रीहरुसमेत पुग्नुभएको छ। विश्व बैंकले पनि गएर हेरिसकेको छ,’ उनले भने। उनकै अगुवाइमा सरकारले यस कार्यक्रमको कार्यविधि तयार गरेको छ। परीक्षणका रुपमा देशभरका केही विद्यालयले यो कार्यक्रम सञ्चालन गरेका छन्।
सरकारले शिक्षालाई सीपसँग जोड्नका लागि ल्याएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमको कार्यविधि तयार भइसकेको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने गरी कार्यविधि बनाएर पढ्दै कमाउँदै कार्यक्रम लागू गर्न लागिएको हो।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कार्यविधि जारी गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत स्वआर्जन गरी अध्ययन गर्न इच्छुक तथा गरिबीको कारणबाट आयआर्जन गरी पढ्नुपर्ने अवस्थामा रहेका विद्यार्थीहरुमा उद्यमशिलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउन र पाठ्यक्रममा आधारित गणस्तरीय शिक्षाको सुनिश्चित गर्दै पढाइलाई निरन्तरता दिन साधारण र प्राविधिक तथा व्यावसायिक धारका विद्यालय मार्फत आयआजर्नको अवसर प्रदान गर्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्न लागिएको कार्यविधिमा उल्लेख छ।
यो कार्यक्रम मुलुकभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी ल्याइएको हो। कार्यक्रम सञ्चालनका लागि न्यूनतम विद्यार्थी संख्या, आवश्यक जग्गा तथा अन्य पूर्वाधार भएको विद्यालयबाट पठाइएको प्रस्ताव मूल्यांकनको आधारमा छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तहमार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा सशर्त अनुदानको रुपमा रकम उपलब्ध गराइनेछ।
कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराइने क्षेत्रहरुमा कृषि (बाली विज्ञान, पशु विज्ञान र वागबानी) इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरी पालन, च्याउ र रेसम खेती) छन्।
सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई देशभर लागू गरेको खण्डमा अब टिच फर नेपाल जस्तै ‘डिग फर नेपाल’ कार्यक्रम अभियानको रुपमा पढ्दै कार्यक्रम सञ्चालन हुँदै जाने सिग्देलको विश्वास छ।