काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताएका छन् ।
शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडाैँमा आयोजित कार्यक्रममा बाेल्दै उनले सरकारले पर्याप्त गृहकार्य नगरी विधेयक ल्याएका कारण सडकमा आन्दोलन हुन पुगेको र पछि सरकारसँग सहमति भएको स्थितिमा उठेका विषय र सहमतिका बुँदाहरु विधेयकमा समाविष्ट गराउने बताए।
उनले सरोकारवालाबाट सुझाव लिई सांसदहरुले प्रक्रियाबमोजिम संशोधन नहालेमा समितिले मात्रै परिमार्जन गर्न नसक्ने स्पष्ट पारे। उनका अनुसार उक्त विधेयक सैद्धान्तिक छलफलपछि अब बस्ने प्रतिनिधिसभाको बैठकबाट दफाबार छलफलका लागि समितिमा पठाइनेछ ।
शिक्षाको गुणस्तर र सार्वजनिक शिक्षाको श्रीवृद्धि कसरी हुन्छ भन्ने सोच विधेयकमा ल्याउन आवश्यक रहेकामा जोड दिँदै उनले कानुन र नीति तर्जुमाका सवालमा विज्ञ र सरोकारवालालाई बेवास्ता गर्न नमिल्ने बताए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षाको संरचनागत र पद्धतिका प्रबन्ध गर्दा स्तरीयता र विश्वका मुलुकको अनुभवलाई समेटेर कानुन बन्नुपर्ने बताए।
यस्तै कार्यक्रममा बाेल्दै उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले प्रस्तुत विधेयकमा शिक्षक र कर्मचारीका विषय बढी समावेश गरिएको तर शिक्षाको अबको गन्तव्य कस्तो हुने भन्ने स्पष्ट नभएको टिप्पणी गरे।
नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासंघबीच यही असोज ५ गते भएको सहमतिलाई विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई आग्रह गरिन् । उनले सडक आन्दाेलनका क्रममा घाइते भएका शिक्षककाे उपचारखर्च राज्यले बेहाेर्नुपर्नेमा जाेड दिइन्।
यस्तै शिक्षाविद् डा वासुदेव काफ्लेले विधेयक बारेको छलफल गर्दा आफ्ना स्वार्थका आधारमा नभई शिक्षाको आम स्वार्थका आधारमा हुनुपर्नेमा जोड दिए ।
शिक्षाविद् डा बालचन्द्र लुइँटेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख शिक्षाको लक्ष्य विधेयकमा समावेश नभएको जिकिर गरे । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा नीतिगत सुधारका लागि खोज, अध्ययन र अनुसन्धानात्मक समाचार सम्प्रेषण गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षासेवीलाई सम्मान र शिक्षा पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो ।
समाजले नागरिक दैनिककी पत्रकार रूवी रौनियारलाई २५ हजार रुपैयाँको शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार समाजसेवी एवं उद्यमी गोपी कँडेलबाट दुई लाख २२ हजार कोषमा हस्तान्तरण गरी सुरु गरिएको थियो ।
कार्यक्रममा शिक्षा सम्मान काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन डा बालचन्द्र लुइँटेल, डीन, केन्द्रीय बहिरा क्याम्पसका प्रमुख ऋषिराम देवकोटा, नुवाकोटको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, जापानको एभरेष्ट इन्टरनेशनल स्कुल, बालविकास प्रशिक्षक एवं अङ्कुर प्रिस्कुलका प्रिन्सिपल सिर्जना पोखरेल र सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापालाई प्रदान गरिएको थियाे ।
त्यसैगरी कैलालीको न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम शर्मा भण्डारी, सप्तारीको भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, संयुक्त अधिराज्य बेलायतको पहार ट्रष्ट नेपालका निर्देशक एलन स्वीट म्यान र धनुषाको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहलाई पनि शिक्षा र रुपान्तरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियाे।