काठमाडौं - जनक शिक्षा सामाग्री केन्द्रले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलव्ध गराउने जनाएको छ ।केन्द्रले एक करोड ९८ लाख थान किताब छपाई गर्नु पर्नेमा एक करोड २३ लाख थान पाठ्यपुस्तक छपाई गरिसकेको जनाएको हो ।
केन्द्रका प्रमुख अनिल कुमार झाले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हातमा पुस्तक पुर्याउने बताए । उनले भने, ‘ छापिएका पुस्तक हामीले हाम्रा प्रदेशका कार्यालयमा पठाइसेकेका छौं । त्यहाँबाट वितरण भएर विद्यार्थीको हातहातमा पुर्याउछौं ।’ सरकारले आगामी जेठदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निणर्य गरेसंगै समयमै पाठ्यपुस्तक पुर्याउने विषयलाई ध्यानमा राख्दै काम भइरहेको जनक शिक्षाले जनाएको हो । यसअघि केन्द्रको छापाखानामै पुगेर शिक्षा विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले समयमै पाठ्यपुस्तक छपाईको काम सक्न केन्द्रलाई निर्देशन दिएका थिए ।
वैशाखको सुरुमा सबै कक्षाको परीक्षा सञ्चालन गरेर वैशाख अन्तिममा भर्ना अभियान सञ्चालन गर्ने र जेठमा नयाँ कक्षामा पठनपाठन गर्ने गरी तयारी गर्न मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिइसकेको छ । केन्द्रले पनि विद्यार्थी नयाँ कक्षामा भर्ना हुनु अघि नै हातमा पाठ्यपुस्तक पुर्याउने निणर्य गरेको छ । कक्षा ४ देखी १० सम्मको पाठ्यपुस्तक छपाइको काम जनक शिक्षाले गरेको छ भने कक्षा १ देखी ३ सम्मको किताब छाप्ने काम सरकारले निजी प्रकाशन गृहलाई दिएको थियो ।
कक्षा १ देखी ३ सम्मको पाठ्यपुस्तक छपाइ गर्न १९ निजी मुद्रण तथा वितरण संस्थाहरु सूचीकृतको लागि आवेदन दिएका छन् । कक्षा १ देखी ३ सम्मको पाठ्यपुस्तक एक महिना भित्र छापि सकिने र त्यसलाई बजारमा पुर्याउन १५ दिन समय लाग्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
आगामी शैक्षिक वर्ष २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक लागु गर्ने र त्यही अनुरुपका पुस्तक छपाई भइरहेको केन्द्रका निर्देशक गणेश प्रसाद भट्टराइले जानकारी दिए । यसअघि कक्षा १ देखी ४ सम्मको पाठ्यपुस्तक निजी प्रकाशन गृहले छाप्दै आएकोमा यस पटक देखी जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको कुल ३० लाख विद्यार्थीको लागि एक करोड ९८ लाख थान किताब छपाईको जिम्मेवारी पाएको थियो ।
निजी प्रकासन गृहले कक्षा १ देखी ३ सम्मका कुल १५ लाख ८८ हजार ३ सय ४० विद्यार्थीको लागि ६३ लाख ५३ हजार थान किताब छपाईको जिम्मेवारी पाएका छन्