काठमाडौँ- स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरुको सञ्जालले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा जस्तो संवेदनशील विषयलाई राज्यले गम्भीर रुपमा लिन आग्रह गरेको छ ।
सञ्जालले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न चार माग पनि सार्वजनिक गरेको छ। देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण भएको घटनाले नेपालको चिकित्सकीय सेवा प्रवाहमा गम्भीर प्रश्न चिह्न खडा भएको उनले भनेको छ।
'केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटबल, मोरङ, पाटनलगायतका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले नेपालको चिकित्सकीय सेवा प्रवाहमा गम्भीर प्रश्न चिह्न खडा भएको छ,' विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीरहित समाज बन्न सक्ने जोखिमप्रति सञ्जालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
'स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारबाट हालसम्म गरिएका प्रतिबद्धतालाई व्यावहारत कार्यान्वयन नगर्ने हो भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दायित्व र कर्तव्यनिष्ठाले मात्र नेपालको स्वास्थ्य सेवालाई न्याय गर्न नसक्नेतर्फ सचेत रहन तथा निम्न बमोजिमका मागहरूलाई यथाशिघ्र सम्बोधन गर्न यस सञ्जाल नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ,' सञ्जालका संयोजक डा. अनिल बिक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।