काठमाडाैं – पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङ शिक्षा तर्फ पाठ्यक्रममा परीमार्जन गर्दै विद्यार्थीको रुचि र बजारको माग अनुसारको विषय अध्यापनमा जोड दिएको छ ।प्राविधिक रूपले इन्जिनियरिङ क्षेत्र भौतिक पूर्वाधारका सूचक हुन् । इन्जिनियरिङका विद्यार्थीलाई कक्षा कोठामा सिमिति गर्ने भन्दा पनि प्रयोगात्मक कक्षामा जोड दिएको पूर्वाञ्चल विश्वविद्यालयले जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयको गुणस्तरलाई लिएर विभिन्न प्रश्न उठ्ने गरेपनि पछिल्लो समय विश्वविद्यालयले गुणस्तरमा सुधार गर्दै लगेको विश्वविद्यालयका इन्जिनियरिङ संकायका डिन देवीप्रसाद भट्टराईले बताए । उनले भने, ‘ अन्य विश्वविद्यालयको तुलनामा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङतर्फको पाठ्यक्रम उत्कृष्ट छ । केही विषयको पाठ्यक्रम पुर्नलेखन गर्ने कार्य भइरहेको छ । विषय विज्ञहरुलाई राखेर हामीले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन अटोमेशन विषय थप गरेका छौँ । पाठ्यलाई परिवर्तन गर्दै गुणस्तरी शिक्षा दिने तर्फ ध्यान दिएका छौं ।
विश्वविद्यालयको शिक्षालाई लिएर धेरै समस्याहरू सुनिने गरेको भएपनि महामारीको समयमा पनि शैक्षिक क्रियाकलापलाई निरन्तर रूपमा अघि बढाएर यस विश्वविद्यालयले शिक्षा क्षेत्र चलायमान बनाउनका निम्ति नयाँ पाइला चालेको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरूले दाबी गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतका कलेजले अबका दिनहरूमा विश्वविद्यालयले विद्यार्थीहरूलाई गुनासो गर्ने ठाउँ नदिने बताएका छन् । अन्य विश्वविद्यालयको तुलनामा पूर्वाञ्चल विश्वविद्यालय कुनै रूपमा पछाडि नपरेको उनीहरुको दाबी छ । हिमालयन ह्वाइटहाउस इन्जिनियरिङ कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले महामारीको समयमा पनि प्रयोगात्मक कक्षा सञ्चालन गरेको बताए ।उनले भने, ‘ इन्जिनियरिङ शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले पूर्वाञ्चललाई रोज्दा पछि पछुताउनु पर्दैन ।’
डिन देवीप्रसाद भट्टराईका अनुसार अहिले पूर्वाञ्चल विश्वविद्यालयबाट पूर्ण सम्बन्धन पाएका इन्जिनियरिङ तर्फका १६ वटा कलेज छन् । एक केन्द्रिय क्याम्पस र १५ वटा सम्बन्धन प्राप्त कलेज छन् । त्यस मध्य १२ वटा कलेज उपत्यकामा छन् भने ४ वटा कलेज उपत्यका बाहिर सञ्चालमा छन् । अहिले विश्वविद्यालयले ७ वटा विषयमा इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ । विश्वविद्यालयले नयाँ विषयको रुपमा रेलवेय इन्जिनियरिङ र टेक्टाइल इन्जिनियरिङको संभाव्यता अध्ययन पनि सुरु गरिसकेको छ ।
डिन भट्टराई भन्छन्, ‘अघिल्ला वर्षहरूमा भन्दा अहिले पूर्वाञ्चल विश्वविद्यालयले शिक्षाको पाटोमा नयाँ कदम चालेको छ ।हामीले यसलाई क्रमिक रुपमा सुधार गर्दै लगेका छौं । विद्यार्थीलाई सहज हुने गरी प्रवेश परीक्षा सञ्चालन गरेका छौं । परीक्षा प्रणालीमा सुधार भएको छ। इन्जिनियरिङ शिक्षालाई गुणस्तरीय बनाउन तर्फ ध्यान केन्द्रित गरेका छौँ । भौतिक शैक्षिक पूर्वाधारलाई ध्यानमा राखेर गुणस्तरीय जनशक्ती उत्पाद तर्फ ध्यान दिएका छौं ।’
कोर्सहरूका हिसाबले अरू विश्वविद्यालयभन्दा पूर्वाञ्चल विश्वविद्यालय निकै अब्बल स्थानमा रहेको उनको दाबी छ । उनी भन्छन्, ‘पूर्वाञ्चलले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई सहज हुने तरिकाले शिक्षा नीति विकास गरिरहेको छ ।विद्यार्थीसंग प्रतिक्रिया लिएर विश्वविद्यालयको मापदण्ड पुरा गरेकालाई कोटा थप गरेका छौं । आवश्यकता अनुसार कलेजमा सिटसंख्या थप गर्दै लान्छौं ।’
पूर्वाञ्चल अन्तर्गतका कलेजहरू तुलनात्मक हिसाबले हेर्ने हो भने नेपालकै उत्कृष्ट कलेजहरूमा पर्ने उनको दाबी छ । भन्छन्, ‘हामीअन्तर्गतका कलेजहरूको समाजमा राम्रो प्रोफाइल स्थापना भइसकेको छ ।’
अहिले शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण विरुद्ध पूर्वाञ्चल विश्वविद्यालय कडा रूपमा प्रस्तुत भइरहेको र आगामी दिनमा झनै कडा नीति नियमहरू बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक तहमा ‘इन्जिनियरिङ शिक्षा’
पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षा स्नातक तहमा ४ बर्से ८ वटा सेमेस्टरमा अध्यापन हुन्छ ।स्नातक तह उत्तीर्ण भएपछि मास्टर्स लेभलको कोर्स पनि अध्ययन गर्न सकिन्छ । ४ वटा कलेजमा मास्टर्स लेभलको अध्यापन भइरहेको छ । विश्वविद्यालये क्याम्पसहरूलाई ४८ जनाको कोटा निर्धारण गरेको छ । त्यही आधारमा कलेजहरूले पनि कोटाको व्यवस्था गरेका छन् । केही कलेजहरूको भौतिक संरचना र क्षमताका आधारमा कोटा थपघट गरिएको विश्वविद्यालयले जनाएको छ।
लागत खर्च
पूर्वाञ्चल विश्वविद्यालय जनसमुदायमा आश्रित विश्वविद्यालय भएको शूल्क फरक – फरक हुने गरेको छ। विश्वविद्यालयको आंगिक र सामुदायिक कलेजले ६ लाख ८० हजार शुल्क निर्धारण गरेका छन् ।
निजी शिक्षण संस्थामा भने इन्जिनियरिङ पढ्न १० देखी १२ लाख रुपैया खर्च हुँन्छ ।तर, क्याम्पसले दिने सेवा सुविधाको आधारमा शुल्क फरक हुने गरेको छ ।
छात्रवृत्तिको व्यवस्था
इन्जिनियरिङ नै पढ्ने रहर भएका तर १०–१२ लाख खर्च गर्न नसक्ने केही विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । विश्वविद्यालयले ५ प्रतिशत जेहेन्दार र ५ प्रतिशत आरक्षित कोटामा मेरिट बेसिसमा छात्रवृत्ति उपलव्ध गराउदै आएको छ।