काठमाडौँ- मुलुकका सामाजिक न्याय कायमका लागि हरेक विद्यालय र सञ्चारमाध्यमबाट मर्यादित महिनावारीबारे सचेतना जगाइनुपर्नेमा जोड दिइएको छ।
राधा पौडेल फाउण्डेसन र शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘मर्यादित महिनावारी र शिक्षा’ विषयक छलफल कार्यक्रममा लैङ्गिक समानता प्राप्त गर्न विकास, नारीवाद मानवअधिकारको इतिहासमा मर्यादित महिनावारी नयाँ आयाम भएकाले यसलाई जागरणको विषय बनाउनुपर्ने बताइएको हो।
फाउण्डेसनको अध्ययनमा महिनावारी हुँदा विद्यालय जानु हुँदैन, विद्यालयमा नाता पर्ने पुरुष हुन्छन्, विद्यालय आफैमा सरस्वतीको मन्दिर हो भन्ने गलत सोचले छात्राहरूमा बीचैमा कक्षा छाड्ने र बाल विवाह हुने समस्या देखिएको जनाइएको छ।
सामाजिक अभियन्ता एवं लेखक राधा पौडेलले हरेक मानवको जन्म महिनावारी प्रक्रियाबाट हुने भएकाले महिनावारीको रगत अशुद्ध वा फोहोर हो भनाइ मिथ्या रहेकाले शिक्षाकर्मी र सञ्चारकर्मीले यसलाई चिर्न सक्नुपर्ने बताइन्।
महिनावारीको विभेदले शक्ति र पितृसत्ताको निर्माण र सवलीकरणका साथै गुणस्तरीय र नियमित पढाइमा बाधा ल्याउने अध्ययनबाट देखिएको बताइन्। ‘महिनावारी हुँदा महिनामा पाँच दिन बारेर विद्यालय नजाने हो भने किशोरीहरुको वर्षमा दुई महिना स्वतः पढाइ छुट्छ। उनीहरू प्रतिस्पर्धी बजारमा दक्ष जनशक्ति बन्न नसक्ने अवस्था आउँछ। अझ डरलाग्दो स्थिति त बीचैमा पढाइ छाड्ने र बालविवाहका प्रवृत्ति देखा पर्दछन्। यस्तो विभेद्ले असुरक्षित यौन सम्पर्क र गर्भपनका समस्या पनि देखिन सक्छ।’
उनले राष्ट्रिय महिनावारी नीतिको मस्यौदा २०७४ सालमा तयार भए पनि जारी हुन नसकेको र मुलुकी देवानी संहिता, २०७४ मा महिनावारी विभेदलाई दण्डनीय बनाइए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरिन्।
पूर्व नर्स पौडेलले वुमन पिसमेकर अवार्ड र ‘खलङ्गामा हमला’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरिसकेकी छन्। कार्यक्रममा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले फाउण्डेसनसँगको सहकार्यमा मर्यादिा महिनावारीका सवालमा खोज, अध्ययन बढाइ, स्थलगत रिपोर्टिङ, प्रकाशन र लेखनवृत्तिलगायतका कार्यक्रम सञ्चालन गर्न सकिने बताए।