काठमाडाैँ- विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या बढेपनि अवसरको खोजी गर्नु आफैमा चुनौतीपूर्ण छ। विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेसँगै आफूलाई उपयुक्त शैक्षिक गन्तब्यको खोजीमा हुन्छ। अभिभावकले पनि यसमा साथ र सहयोग गरेमा उनीहरूलाई गन्तब्य पहिचान गर्न सहज हुँन्छ।
अहिले वैदेशिक अध्ययनको लागि जाने विद्यार्थी संख्यामध्ये अधिकतम संख्या अष्ट्रेलियाले लिएको छ। त्यसपछि जापान, क्यानडा, संयुक्त राज्य अमेरिका , बेलायत तथा केहि संख्यामा अन्य मुलुकहरू पनि छन्। विद्यार्थीको मुख्य उद्देश्य अध्ययनकै लागि जानुपर्छ भन्ने हो तर विद्यार्थी अध्ययनसँगै अवसरको पनि खोजीमा हुने भएकाले शैक्षिक परामर्शदातृ संस्थाले पनि यस विषयमा ध्यान दिनुपर्छ।
अध्ययनको लागि विदेशिने अधिकतम नेपालीको चाहाना भनेको दैनिक केहि घण्टा वा साप्ताहिक केहि दिन आफूलाई जागिरमा व्यवस्थापन गराई आफ्नो अध्ययनको लागि बाटो सहज गराउनु हो। विदेशी विश्वविद्यालयमा छात्रवृत्तिको सुविधा हुन्छ। छात्रवृत्तिमा अध्ययन गर्नेका लागि खर्चको कुरा तनावको विषय हुदैन। उनीहरूले आफ्नो खर्च गरेर पनि केहि रकम बचाएर नेपालमा पठाउने क्षमता राख्छन्। तर विडम्वना अहिले कक्षा १२ उत्तीर्ण गरी विदेशिएका अधिकाशं जनशक्ति चाहेर वा नचाहेर आफ्नो अध्ययनलाई एउटा गन्तव्यमा पुर्याउनुभन्दा पनि आर्थिकोपार्जन गरी आफ्नो आर्थिक क्षमता बढाउनु तर्फ केन्द्रित रहेको देखिन्छ।
नेपालमा शैक्षिक डिग्री अनुसारको रोजगारीको अवसर सिर्जना हुन नकस्दा विद्यार्थी विदेशिएका छन्। नेपालबाट विदेशिएका जनशक्तीलाई नेपालमा फर्काउने वातावरण बनाउन राज्यले ध्यान दिन जरुरी छ। नेपालमा राजनैतिक परिवर्तनसँगै स्थायित्व हुने अपेक्षा गरेपनि अपेक्षाकृत रुपमा उद्योग कलकारखानाको विकास हुन नसक्दा अहिले पनि देश रेमिट्यान्सकै भरमा चल्नुपर्ने अवस्थामा छ।
देशमा पढ्दै कमाउदै गर्न सक्ने वातावरण बन्न नसक्दा कक्षा १२ उत्तीर्ण गरेपश्चात जनशक्ती विदेशिएका छन् । विश्व विद्यालयले पनि शैक्षिक क्यालेण्डर अनुसार योजना पूरा गर्न सकेका छैन । जसको असर प्रत्येक्ष रुपमा विश्वविद्यालय शिक्षामा देखिएको छ।
नेपालमा सञ्चालित त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुको पनि शैक्षिक क्यालेण्डर अस्तव्यस्त छन्। कहिले कक्षा शुरु गर्ने, कहिले परीक्षा गराउने, कहिले नतिजा प्रकाशन गराउने अनि त्यो तह कहिले समापन हुने भन्ने कुरा निश्चित नहुदाँ विद्यार्थी समस्यामा छन्।
शिक्षालाई सिप र प्रविधिसँग जोड्न नसक्दा विद्यार्थी विदेश अध्ययनप्रति आकर्षित भइरहेका छन्। नेपालमा अझैसम्म पनि विश्वविद्यालय स्तरमा पढाई हुने विषयहरूलाई नविनतम प्रविधिको अधिकतम प्रयोग गराउने परिपाटीको विकास गर्न आवश्यक छ।