काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहवरमा बसेको आन्दोलनरत शिक्षकहरुको वार्ता निष्कर्षविहीन बनेको छ। बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो।
शुक्रबार बिहान ८ बजे फेरि बस्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन्। उनले आजको बैठक वार्ताको माहोल तयारमा केन्द्रित रहेको बताए।
वार्तामा सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु थिए।
यता आन्दोलनरत पक्षबाट महासंघ अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।
सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन्। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ। शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन्।
आज बिहान पनि गृहमन्त्रीसँग शिक्षकहरू वार्तामा बसेका थिए। तर सोही बैठक एजेन्डामा प्रवेश नगरी सकियो। आज नै सरकारले सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्रीलाई दिएपछि अहिले बेलुका दोस्रो बैठक बसेको थियो।
यता आन्दोलनरत पक्षले वार्ता र आन्दोलनसँगसँगै लग्ने बताएका छन्।