काठमाडौँ- नेपाल शिक्षक महासंघले निर्णायक आन्दोलन सुरु भएको बताएको छ।
सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकको विरोध स्परूप महासंघले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको हो।
महासंघले आन्दोलनका लागि देशभरका शिक्षकलाई काठमाडौँ बोलाएको छ। आज (आइतबार) एक सूचना जारी गर्दै महासंघले संविधान दिवस(असोज ३)मा हुने आन्दोलनका लागि २ गते नै काठमाडौँ उत्रिन भनेको छ।
महासंघले भनेको छ, ‘२०८० असोज ३ गतेबाट हुने सडक आन्दोलन सहभागी हुन देशभरिका सबै विद्यालय बन्द गरी संघीय राजधानी काठमाडौँ आइपुग्न सबै शिक्षकरकर्मचारी साथीमा अनुरोध गरिन्छ।’
महासंघको अगुवाइमा हुने आन्दोलनमा सामुदायिक विद्यालयमा कार्यरत सबै प्रकारका शिक्षक र कर्मचारी सहभागी हुनेछन्। महासंघको छातामुनि रहेका एक दर्जनभन्दा बढी संघसंस्था सहभागी हुनेछन्।
विद्यालय शिक्षा विधेयकलाई लिएर यसअघि शिक्षकहरूले चरणबद्ध आन्दोलन गरेका थिए। त्यस क्रममा धर्ना, ज्ञापनपत्र, सांसदहरूसँग अन्तरसंवाद, विभिन्न दलका नेताहरूलाई ध्यानाकर्षणजस्ता गतिविधि आयोजना भइसकेका छन्।
सरकारले भन्यो : वार्तामा आउनुहोस्
यता सरकारले भने शिक्षक महासंघलाई वार्तामा आउन अनुरोध गरेको छ। शिक्षा मन्त्रालयले वार्तामा आउन अनुरोध गरेको हो। ११ औँ राष्ट्रिय विज्ञान दिवस र राष्ट्रिय शिक्षा दिवसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले वार्तामा आउन शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।