काठमाडाैँ- ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेसन (बीबीए) आन्तरिक र बाह्य मुल्यांकन समावेश गरिएको ८ सेमेस्टरमा अध्यापन हुने ४ बर्षिय कोर्ष हो । यो विषय नेपालमा विभिन्न विश्वविद्यलायले सञ्चालन गर्दै आएका छन् ।नेपालमा त्रिभुवन, काठमाडौँ, पोखरा, पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यस विषयलाई सिमित कोटा छुट्टाएर सञ्चालन गरिरहेका छन् ।
यी विश्वविद्यालयको बीबीएसँगै नेपालमा विभिन्न विदेशी विश्वविद्यलायबाट सम्बन्धन प्राप्त बीबीए कलेज सञ्चालनमा छन् । नेपालमा काठमाडौँ विश्वविद्यालयले सर्वप्रथम सन् १९९७ बाट बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको थियो भने त्रिभुवन विश्वविद्यालयले सन् २००२ देखि बीबीएको अध्यापन सुरु गरेको हो ।
नेपालमा बीबीए अध्ययन अझै विशिष्टिकृत हुँदै गएको अवस्था छ । अहिले बीबीए भित्र पनि बीबीए फाइनान्स, बैंङ्किङ एण्ड ईन्स्योरेन्स, ट्राभल एण्ड टुरिजम जस्ता विषय विश्वविद्यालयले सुरु गरेका छन् भने यसतर्फ आम अभिभावक र विद्यार्थीको पनि आकर्षण बढ्दै गएको छ ।
बीबीए विश्वविद्यलायमा सञ्चालन हुने व्यवस्थापन संकायका कोर्षहरू मध्य विद्यार्थीको रोजाइको विषय हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बीबीएका ९० प्रतिशत उत्पादनले रोजगारी पाएको बताउँछन् । ‘त्रिविमा बीबीए उत्तिर्ण गरेका विद्यार्थीलाई बैंक तथा वित्तिय संस्थाहरुले खोजीखोजी लाने गरेका छन् ।’
बीबीएका उत्पादनले पछिल्लो समय बैंक मात्र नभएर विमा कम्पनी, उद्योगधन्दा र आफ्नै व्यवसाय गरेर उद्यमशिल भएको अवस्था छ । पोखरा विश्वविद्यलायको सम्बन्धनमा सञ्चालित मेधावि कलेजका बीबीए कार्यक्रम संयोजक कमल पन्त भन्छन्, ‘बीबीए सेमेस्टर प्रणालीमा अध्ययन हुने प्रयोगात्मक विशिष्टिकृत कोर्ष हो । यो मुख्यतया व्यवहार केन्द्रित हुन्छ भने आन्तरिक मुल्यांकन र प्रोजेक्ट वर्कमा आधारित छ ।’
ग्रेडिङ प्रणालीमा आधारित यसको मुल्याङ्कन प्रणाली पनि फरक भएकाले यस प्रति विद्यार्थीको आकार्षण बढेको सरोकारवालाको भनाई छ । पोखरा विश्वविद्यालयका सहप्राध्यपक डा.भरतराम ढुंगानाका अनुसार, ‘बीबीएको कति जनशक्ती कहिलेसम्म आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर कसैले दिन सक्दैन तर यो भने पक्का हो अहिलेसम्म बीबीए अध्ययन गर्ने जो कोही पनि बेरोजगार बस्नुपरेको अवस्था छैन र यो प्रयोगात्मक बिषयको रुपमा बजारमा बिकाउ छ ।’
बीबीए क्याम्पस राजधानी केन्द्रित हुँदा भने केही समस्या देखिएको छ । नेपाली ५ वटा विश्वविद्यालयका मात्रै राजधानीमा ५७ भन्दा बढी क्याम्पसले सम्वन्धन पाएका छन् र अधिकांश विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरु पनि राजधानीमै छन् । विद्यार्थीको आकर्षण बढ्दो भएपनि राजधानीकै सबै बीबीए कलेजको सिट संख्या पूरा भएको अवस्था भने छैन ।
अहिले नेपालमा स्वदेशी र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १ सय २८ भन्दा बढी बीबीए अध्ययन संस्थान रहेका छन् ।बीबीएले ब्यक्तिगत बिकासदेखी नेतृत्वदायी भूमिका निर्वाह गर्ने ज्ञान दिन्छ । बीबीएको कोर्षमा चालिस भन्दा बढी बिषय भएकाले यसले शैद्धान्तिक ज्ञासँगै व्यवहारिक विषयलाई पनि बढि जोड दिन्छ । बीबीएले व्यक्तिगत जिवनदेखि व्यवसायिक जिवनलाई समेत कसरी व्यवस्थित गराउने भन्ने ज्ञान दिन्छ ।
नेपालमा बढ्दाे बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा कर्पोरेट संस्थाहरुको संख्यामा आएको वृद्धिसँगै यस्ता जनशक्तिको माग पनि उसै गरी बढेको पाइन्छ । पढाई पुरा हुनासाथ औद्योगिक-व्यवसायिक प्रतिष्ठान तथा सरकारी सेवामा समेत राम्रो अवसर पाउने हुँदा विद्यार्थीको आकर्र्षण बढेको जानकारहरू बताउँछन् ।
नयाँ बानेश्वर स्थित के एण्ड के कलेजका बीबीए कार्यक्रम संयोजक सिन्धु ढकाल भन्छन्, ‘अहिले व्यवस्थापनको महत्व बुझेर इन्जिनियरिङ तथा मेडिकल शिक्षा अध्ययन गराउन चाहने अभिभावकहरु पनि आफ्ना सन्तानलाई बीबीए पढ्न सल्लाह दिन्छन् । बीबीए अध्ययन पश्चात् सहज रुपमा रोजगारीको अवसर सृजना हुने हुँदा पनि बिद्यार्थीको आकर्षणको केन्द्रमा बीबीए रहेको छ ।’ उनले कुनै पनि क्षेत्रमा सफलता पाउनका लागि सफल व्यवस्थापन पहिलो सर्त भएकाले विद्यार्थीहरुले व्यपवस्थापनको कोर्समा रुचि देखाएको बताए ।
विश्वविद्यालय बिच गुणस्तरमा प्रतिस्पर्धा
बीबीए अध्यापन, पाठ्यक्रम, शैक्षिक गतिविधी र गुणस्तरका दृष्टिले विश्वविद्यालय अनुसार फरक फरक छन् । विश्वविद्यलायले आफ्नो पाठ्यक्रम अर्कोको भन्दा उत्कृष्ट भएको भन्दै विद्यार्थीलाई आकर्षण गर्ने गरेका छन् । विद्यार्थीले भने विश्वविद्यालयको पाठ्यक्रम भन्दा पनि अध्ययन हुने संस्थालाई बढी ध्यान दिएको पाइन्छ । विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पाठ्यक्रम ,समयमा परिक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने विषयलाई बढि ध्यान दिएको पाइन्छ ।
विश्वविद्यालयले शैक्षिक गुणस्तरका विषयमा प्रतिपर्धा गर्ने तर शैक्षिक गुणस्तरमा भने खासै ध्यान नदिएको तर्क शिक्षाविद् डा विद्यानाथ काइरालाको छ । उनी भन्छन् ,’ पढ्ने के, पढाउने के कस्ता विषय, बजारको माग के हो त्यो भन्दा पनि नीजी शिक्षण संस्थाहरु अस्वस्थ प्रतिपर्धामा उत्रिएको अवस्था छ ।’ विश्वविद्यालयले आफ्ना छुट्टाछुट्टै प्रवेश परिक्षा सञ्चालन गर्छन् ।
त्रिभुवन विश्वविद्यालयमा सिम्याट प्रवेश परीक्षामा उत्तिर्ण हुने विद्यार्थीले मात्र विश्वविद्यलायको आंगिक र सम्बन्धन प्राप्त कलेजमा बीबीए अध्ययन गर्न पाउँछन् । त्यस्तै काठमाडौँ विश्विद्यालयले पनि केयुम्याट परिक्षा सञ्चालन गरी छनोट गरेर विद्यार्थी भर्ना लिने गरेको छ । नेपालका विश्वविद्यालयमा पनि त्रिभुवन विश्वविद्यालय पछि काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमपश्चिमाञ्चल विश्वविद्यालय क्रमशः विद्यार्थीको रोजाइमा पर्ने गरेका छन् ।
रोजगारिका अवसर
रोजगारीका अवसरका दृष्टिले बीबीए निकै महत्वपूर्ण मानिन्छ । बीबीएका उत्पादनले बैंक, वित्तिय संस्था, एअरलाइन्स कम्पनि, उद्योग लगायत विभिन्न क्षेत्रमा रोजगारिको अवसर प्राप्त गर्छन । रोजगारिका दृष्टिले यस विषय अध्ययन गरेका जनशक्तीले सहरमुखि भएको आरोप खेप्दै पनि आएका छन् ।
बीबीएमा अध्यापन हुने विषय
बीबीएमा बिजनेश म्याथ, अकाउन्ट, फाइनान्स, कम्प्युटर, इकोनोमिक्स, म्यानेजेरियल अकाउन्टिङ, अर्गनाइजेशनल विहेभियर, हिउमन रिसोर्स म्यानेजमेन्ट, बिजनेश टेक्नोलोजी, अपरेसनल म्यानेजमेन्ट लगायतका विषय अध्यापन हुन्छन् ।
लागत खर्च
बीबीए अध्ययन गर्न स्वदेशी विश्वविद्यलाय र सम्बन्धन प्राप्त कलेजहरुले ४ बर्षमा कम्तिमा ३ लाख देखी ८ लाख सम्म शूल्क लिने गरेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सरकारी कलेजको अध्यापन शूल्क ३ लाख ५० हजार भन्दा बढि छ भने अधिकासं निजी कलेजले बीबीए विषयको शूल्क ८ लाखको हाराहारीमा लिने गरेका छन् ।
काठमाडौँ विश्वविद्यालयले बीबीएको शूल्क ७ लाख ५० हजार तोकेको छ । पोखरा विश्वविद्यलायको सम्बन्धनमा सञ्चालित एपेक्स लगायतका केही कलेजको बीबीएको शूल्क त्रिभुवन विश्वविद्यलायको हाराहारी नै छ । उनीहरुले पनि ८ लाख सम्म लिने गरेका छन् ।त्यस्तै पूर्वाञ्चल विश्वविद्यलायको सम्बन्धनमा सञ्चालित कलेजको शूल्क भने केही कम छ । पूर्वाञ्चल विश्वविद्यालयको कलेजमा बीबीए अध्ययन गर्न ३ देखी ५ लाख रुपैया लाग्छ ।
विदेशी विश्वविद्यलायको सम्बन्धनमा सञ्चालित कलेजले भने कसैले ३ र कसैले ४ बर्षिय कोर्ष सञ्चालन गरेका छन् ।स्वदेशी विश्वविद्यालय भन्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजले बढी शूल्क लिएको अवस्था छ । बढी शूल्क लिने कलेज मध्य ग्लोबल इन्टरनेशनल कलेज, द ब्रीटीस कलेज लगायतका कलेजले बीबीए तिन बर्षमा १० देखी १५ लाख सम्म शूल्क लिन्छन् ।
बीबीएको अन्तर्राष्ट्रिय मान्यता
विश्वका विभिन्न मुलुकमा अध्यापन हुने यस विषयले अन्तर्राष्ट्रिय रुपमा मान्यता पाएको छ ।बीबीए अन्र्तराष्ट्रिय रुपमा मान्यता प्राप्त शिक्षा भएको र यस तर्फका जनशक्तीको माग नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै रहेको कलेज सञ्चालकहरु बताउछन् ।
नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित द व्रिटिश कलेजका एड्मिसन म्यानेजर गोविन्द देव बल्लब अधिकारीका अनुसार, ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो कोर्ष अध्ययन पश्चात विद्यार्थीहरु विश्वभरिनै रोजगार बजारका लागि तयार हुन्छन् ।’ अध्ययनका क्रममा नै विदेशी विश्वविद्यलायले दिएको मापदण्ड पुरा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने र रजिस्ट्रेसन शूल्क र परिक्षा शूल्क विदेशी मुद्रमा नै लिनुपर्ने भएकाले तुलनात्मक रुपमा नेपाली विश्वविद्यलायका कलेजमा भन्दा महङ्गो पर्न जान्छ । हाम्रा विद्यार्थी कुनै पनि अवसरबाट बञ्चित हुनुपर्ने अवस्था छैन, उनले भने ।
के भन्छन् कलेज सञ्चालक
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सिल्करोड कलेका सञ्चालक स्याम सुन्दर चौधरी भन्छन्, ‘एउटा कुशल व्यवस्थापक बन्न बीबीए अध्ययन गर्नु आवश्यक छ। पूर्वाञ्चल विश्वविद्यालयले बीबीएलाई प्राथमिकताका साथ सञ्चालन गरेको छ ।
सेलेबस समय अनुसार परिमार्जीत छ । बीबीएमा अन्य विश्वविद्यालयका उत्पादन भन्दा पूर्वाञ्चल विश्वविद्यलायका उत्पादनले पनि बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । सिल्करोड एउटा मात्र व्यवस्थापनको बीबीए कार्यक्रम मात्र सञ्चालन गर्ने कलेज हो जसले प्राथमिकताका साथ विद्यार्थीलाई अध्ययन पश्चातका अवसरहरु खोजि गरिदिने गरेको छ ।’
त्यस्तै पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित रिट्ज कलेजका प्रिन्सिपल तुलसिराम रिजाल भन्छन्, ‘पोखरा विश्वविद्यलायको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको छ । समयमा परिक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने विषयमा विश्वविद्यलायले ध्यान दिएका कारण पनि हाम्रा बीबीए कार्यक्रम विश्वस्तरीय छ । रोजगार बजारमा हाम्रा बीबीएका उत्पादनको माग बढ्दो छ ।’
बीबीए कार्यक्रमका विशेषता
- बीबीए चार बर्षको कोर्ष भएकाले यसको अन्तराष्ट्रिय मान्यता छ ।
- बीबीए मा ४० भन्दा बढी बिभिन्न बिषय पढाइने भएकाले यसको दायरा फराकिलो छ ।
- बीबीए मा शैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षामा जोड दिइने भएकाले यसले दक्ष जनशक्ती उत्पादन गर्छ भन्ने विश्वास लिइन्छ ।
- चार बर्षे कोर्सलाई आठ सेमेस्टरमा बाँडिएको बीबीएमा समयमै पढाई, परीक्षा र परिक्षाफल प्रकाशन हुन्छ ।
- बीबीए अध्ययन पश्चात् रोजगारीको सुनिश्चितता छ ।
- सिमित कोटा भएकाले बीबीए को अध्यापन प्रभावकारी ढङ्गमा हुन्छ ।
- निश्चित कोटा भएकाले कम जनशक्तीको उत्पादन हुन्छ, यसले गर्दा बीबीए अध्ययन गरेका बिद्यार्थीको माग बढ्दै गएको छ ।
- बीबीए को अध्ययन गरेका बिद्यार्थीको सहि समयमा सहि निर्णय लिने क्षमता वृद्धि हुन्छ ।
- बीबीए अध्ययनमा बिद्यार्थीलाई धेरै बर्षसम्म सेमिनारमा सहभागी गराइने भएकाले अनुभवी बिद्यार्थीको उत्पादन हुन्छ ।
- बीबीए अध्ययनमा बिद्यार्थीको प्रस्तुतिकरणलाई पनि बिशेष महत्व दिइन्छ । परीक्षामा एकसय पूर्णाङ्कमा चालीस त प्रयोगात्मक क्रियाकलापका आधारमा निर्धारण गरिन्छ ।
- नेतृत्वदायी भूमिका र ब्यक्तित्व विकासमा पनि बीबीए अध्ययनले ठूलो महत्व राख्छ ।
- बीबीए अध्ययन गर्ने बिद्यार्थीमा समाजशास्त्र मनोविज्ञान तथा सूचना प्रविधिको पनि राम्रो ज्ञान हुन्छ ।