काठमाडाैँ- वर्षातको समयमा विद्यालयमा वालवालिका चट्याङकाे जाेखिममा पर्ने गरेका छन्। चट्याङ प्रतिराेधि विद्यालयका भाैतिक संरचना नहुँदा यसकाे जाेखिम बढेकाे हाे।
बिजुलीको चमक वरपरको हावा तातो हुन्छ र छिट्टै विस्तार हुन्छ। यसबाट उत्पन्न विद्युतीय ऊर्जा जमिनमा चट्याङका रूपमा खस्दा जनधनको क्षति हुन्छ। बेमौसमी विपत् चट्याङ बाह्रै महिना पर्न सक्ने भएकाले पनि यसको जोखिम उच्च छ। तर भूकम्प र अन्य प्रकोपजस्तै चट्याङलाई प्राथमिकता नदिइएको विज्ञहरू बताउँछन्।
चट्याङ (भूकम्पबाहेक) सबैभन्दा बढी मानवीय क्षति पुर्याउने प्राकृतिक विपद् हो। नेपालमा चट्याङका कारण बर्सेनि १०० भन्दा बढीको ज्यान जाने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। वैशाख र जेठ बढी चट्याङ पर्ने महिना हुन्। यस्तै साँझ ४ देखि ६ बजेको बीचमा उच्चतम चट्याङ पर्ने सम्भावना रहने विज्ञहरू बताउँछन्।
उनीहरूका अनुसार पहाडी क्षेत्रमा अपराह्न ३ बजेपछि र तराईमा मध्यरातदेखि बिहान ४ बजेसम्म बढी सतर्क रहनुपर्छ। चट्याङबाट महिलाभन्दा पुरुषको बढी ज्यान जान्छ।
नेपालमा सन् २०१५ को भूकम्पपछि विगत आठ वर्षमा चट्याङबाट सबैभन्दा बढी ८४० जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि मंसिर २९ गतेको बीचमा चट्याङ लागेर ४९ जनाको मृत्यु भएको थियो।
नेपाल प्रति एकाइ क्षेत्रफलमा सबैभन्दा बढी चट्याङबाट ज्यान गुमाउने देशको सूचीमा शीर्ष स्थानमा छ। विशेष गरेर चुरे र पहाडी ग्रामीण क्षेत्रमा चट्याङको जोखिम हुने गरेको विज्ञको भनाइ छ।
अमृत साइन्स क्याम्पसका प्राध्यापक एवम् चट्याङविज्ञ श्रीराम शर्मा चट्याङलाई प्राकृतिक प्रकोपका रूपमा बेवास्ता गर्दा ठूलो जनधनको क्षति भइरहेको बताउँछन्। ‘हामी चट्याङलाई बेवास्ता गर्छौँ। किनभने अन्य प्रकोपविपरीत यसले विरलै ठूलो संख्यामा मानवीय क्षति निम्त्याउँछ। घटना छिटफुट र छरपस्ट हुन्छन्, तर यो जनधनको क्षति गर्ने मामलामा अगाडि छ।’ उनी चुरेभाबर क्षेत्र र पहाडी भूभागमा चट्याङले ठूलो क्षति गर्ने गरेको बताउँछन्।
नेपालमा चट्याङ अनुसन्धानमा साउथ एसिया लाइटेनिङ नेटवर्क क्रियाशील छ। यसले प्रशिक्षण र जनचेतना फैलाउने काम पनि गरिरहेको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले चट्याङको जोखिम नियन्त्रणमा काम गरे पनि यसको प्रभावकारितामा भने प्रश्न उठ्ने गरेको छ।
चट्याङको तीव्रता र आवृत्तिमा भएको वृद्धिलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरिएको शर्माको भनाइ छ। वैशाखमा भारी वर्षा र दुर्लभ मेघगर्जनसहितको असामान्य जाडो अनुभव भएको थियो। प्रिमनसुनको सिजनमा भारतीय मैदानबाट आएको बाफयुक्त तातो हावा हिमालमा पुगेपछि मेघगर्जनसहित चट्याङ परेको शर्मा बताउँछन्।
नेपालको भूगोल र बंगालको खाडीबाट आएको जलवाष्पसँग पूर्वी पहाडको निकटताले देशलाई मेघगर्जनको जोखिम बढाउँछ। ‘जलवायु परिवर्तनका कारण हुने चरम मौसमी घटनाले बादलभित्रको विद्युतीय चार्ज बढाउन भूमिका खेल्छ’, शर्माले भने, ‘यसले चट्याङबाट ज्यान गुमाउने सबैभन्दा संवेदनशील देशका रूपमा रहेको नेपाल थप जोखिममा छ।’
पाँच प्रतिशत चट्याङ बढी घातक हुने गर्छ। चुरे र पहाडी क्षेत्रमा आँधी तूफानसहितको बादल ठोक्किँदा उत्पन्न भएको बिजुलीले उच्च पहाडमा जमिनसम्म छोटो दूरीको यात्रा गर्दछ।
नेपालभित्रै चट्याङबाट हुने जिल्लागत मृत्युको विवरण हेर्दा मकवानपुर सबैभन्दा बढी जोखिममा छ। मकवानपुरमा विगत पाँच वर्षमा चट्याङबाट ५४ जनाको मृत्यु भएको छ भने अन्यत्र २४५ जना घाइते भएका छन्। चट्याङबाट हुने मृत्युको दर मानिसको तुलनामा गाईबस्तुमा बढी छ।
औद्योगिक राष्ट्रहरूमा चट्याङका कारण प्रति १० लाख जनसंख्यामा ०.३ मात्रै मृत्यु हुने गरेको छ। मृत्युदर विकासोन्मुख मुलुकमा भने उच्च छ। प्रति १० लाख जनसंख्यामा ६ जनाको सम्म मृत्यु हुने गरको तथ्यांक छ।
चट्याङविज्ञ शर्माका अनुसार ज्ञानको कमी र भवनहरूमा अपर्याप्त सुरक्षाका कारण जनधनको क्षतिको मुख्य कारणहरू हुन्। विद्यालय तहमा पनि चट्याङबाट हुने जोखिम न्यूनीकरण गर्न पाठ्यक्रममा नै यस विषयमा सचेतनाको व्यवस्था गर्न विज्ञले सुझाव दिएका छन्। विद्यालय, अस्पताल र सरकारी कार्यालयजस्ता सार्वजनिक भवनमा चट्याङको डण्डी राख्नुपर्ने सुझाव विज्ञकोछ। दूरसञ्चार र प्रसारण टावरहरू उच्च जोखिममा छन् किनभने तिनीहरू पहाडको टुप्पोमा अवस्थित छन्। टावरको डिजाइनमा एकीकृत विशेष सुरक्षा उपाय अवलम्बन गर्ने हो भने जोखिम कम हुन सक्छ।
चट्याङको समयमा इलेक्ट्रोनिक उपकरण प्रयोग गर्नु हानिकारक मानिन्छ। शर्माले भने, ‘नेपालको विविध हावापानी र मौसम प्रणाली भएकाले नेपाल वैज्ञानिकहरूका लागि विश्वकै उत्कृष्ट प्रयोगशाला हो। १५० किलोमिटरको अन्तरालमा ७० मिटरबाट करिब ९ हजार मिटरसम्म उचाइमा रहेको भूभागमा मौसमी विविधता हुनु स्वभाविक हो। यही कारणले नेपालमा मौसमी जोखिम बढी छ।’
सरकारले मौसको पूर्वानुमान उपकरण र राम्रो तयारीमा लगानी गरे यसको जोखिम कम गर्न सकिने उनको बुझाइ छ। जल तथा मौसम विज्ञान विभागले चट्याङको गतिविधि अध्ययन गर्न धनगढी, सुर्खेत, नेपालगन्ज, पोखरा, भैरहवा, काठमाडौँ, सिमरा, तुम्लिङटार र विराटनगरमा बिजुली पत्ता लगाउने स्टेसन स्थापना गरिसकेको छ।
यसलाई जनस्तरसम्म सूचना प्रवाह गर्न नसकिएको मौसमविद् बरुण पौडेलले बताए। उनले भने, ‘मौसमको जानकारी पूर्वसूचना प्रणालीमा पनि पुग्न पर्यो। यो समयमा के गर्न हुन्छ। के गर्न हुँदैन भन्ने थाहा हुनुपर्छ। समयमै सूचना दिनुपर्छ।’
जोखिम कम गर्न गृह मन्त्रालयमा युनिट पनि छ। यसको कार्यान्वयन पक्षलाई बलियो बनाइयो भने चट्याङबाट हुने जोखिम न्यूनीकरण गर्न सकिने पौडेलले बताए। नयाँ संरचना निर्माण गर्नुअघि चट्याङको जोखिमलाई पनि ध्यानमा राख्नुपर्ने उनीहरूको सुझाव छ।
चट्याङ के हो र कसरी पर्छ भन्नेबारेमा केही जानकारी
चट्याङ एउटा प्राकृतिक प्रक्रिया हो। मनसुन वा वर्षा मौसममा आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्टलाई चट्याङ भनिन्छ।
वर्षा याम वा मनसुन भित्रिएको समयमा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु वा बादल एक आपसमा ठोक्किँदा चर्को आवाजसहित विद्युतीय लहर उत्पन्न भई आकाशमा बाटो बनाएर पृथ्वीसम्म पुग्छ, यसलाई नै चट्याङ भनिन्छ।
यो एक प्राकृतिक प्रक्रिया हो तर यो अचानक हुने विद्युतीय विस्फोट हो। यसमा बादलबाट बादल र त्यसपछि पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ। यो एक प्राकृतिक खतरा हो, जसले जनधनको विनाश गर्ने गर्छ। वैज्ञानिकका अनुसार चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुनिँदैन तर अपवादका रूपमा ६० किलोमिटरसम्म चट्याङको आवाज सुनिएको रेकर्ड छ।
एक पटक बिजुली चम्किँदा १२ करोड ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ भने ३० हजार डिग्री सेन्टिग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हुन्छ।
त्यसो त चट्याङले सधैँ आवाज निकाल्छ भन्ने छैन, कहिलेकाहीँ आवाजविनाको चट्याङ पनि पर्ने गर्छ जसलाई ‘उष्ण बिजुली’ भन्ने गरिन्छ तर आवाज आउने होस् वा नआउने सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन्। त्यसैले सबै खाले चट्याङ खतरनाक हुन्छन्। चट्याङ कहिले पर्छ भनेर पहिले नै भन्न सकिँदैन र अनुमान लगाउने प्रविधि अहिलेसम्म बनेको छैन। वैज्ञानिकका अनुसार यो वर्षा भएको ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ।
चट्याङ कुनै पनि समयमा पर्न सक्छ, यो कुन समयमा पर्छ भन्न सकिँदैन। पृथ्वीमा बाह्रै महिना हरेक दिन हजारौँ चट्याङ परिरहेको हुन्छन्। मनसुनको समयअघि र पछि बादलको उचाइ धेरै हुने भएकाले अरू बेलाभन्दा धेरै चट्याङ पर्ने गर्छ। यस समयमा चट्याङ निकै खतरा हुन्छ। संसारको सबैभन्दा बढी चट्याङ पर्ने स्थानका रूपमा भेनेजुयलाको माराकाइबो ताल क्षेत्रलाई लिइन्छ। यहाँ प्रत्येक मिनेटमा करिब २८ पटक चट्याङ् पर्ने गर्छ।
वैज्ञानिक कारण
चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा एक आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ। यसरी दुई बादल जुध्दा ठूलो आवाज निस्किन्छ।
आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराव र घर्षणले एक किसिमको विद्युतीय करेन्ट उत्पन्न हुन्छ। यसरी उत्पन्न भएको करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ। उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ।
चट्याङ विशेष गरी खुला ठाउँमा पर्ने गर्छ। प्रायः सल्लो, साल, पैँयो, खडीक, टुनीजस्ता अग्ला ठूलो रुख छेउछाउ र अग्ला टावरहरूमा पर्ने गर्छ। रुखहरूका साथै अग्ला घरहरूमा न्युटलको सम्पर्कमा आएर आकाशीय प्रोटन अणुसँग सङ्घर्षणका कारण एक प्रकारको विद्युतीय करेन्ट उत्पन्न हुन्छ। यस कारण चट्याङ् पर्छ।