काठमाडाैँ- होटल व्यवस्थापक बनाउने विषय हो व्याचलर ईन होटल म्याजेनमेन्ट(बीएचएम)।नेपाली विद्यार्थीमाझ लोकप्रिय बन्दै गएको होटल व्यवस्थापन विषय स्नातक तहमा नेपाली विश्वविद्यलायको सम्बन्धनमा २९ वटा कलेजले अध्यापन गराउदै आएका छन् ।जसमा करिव १३ सय विद्यार्थीले होटल व्यवस्थापन विषय अध्ययन गर्छन् ।
अहिले पोखरा, त्रिभुवन, काठमाडौँ, मध्यपश्चिम विश्वविद्यालय गरी नेपालमा चारवटा विश्वविद्यालयले बीएचएम अध्यापन गराउदैँ आएका छन् भने पूर्वाञ्चल विश्वविद्यालयले व्याचलर अफ हस्पिटालीटी एण्ड क्याटरीङ म्यानेजमेन्ट (बीएचसीएम) अध्यापन गराउँदै आएको छ । होटल व्यवस्थापनको स्नातक तह ४ बर्ष ८ सेमेस्टर ग्रेडिङ सिस्टममा अध्यापन हुन्छ । सबै विश्वविद्यायले जम्मा विद्यार्थीसंख्याको दश प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् ।
सन् १९९८ मा उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ मा १ सय १३ जना विद्यार्थी लिएर प्लस टू तहमा होटेल म्यानेजमेण्ट विषय अध्यापन सुरु गरेपछि नेपालमा होटल व्यवस्थापन तर्फका जनशक्ती उत्पादन सुरु भएको हो । पछिल्ला वर्षहरूमा देशभरका अधिकांश स्कूलमा कक्षा ११र १२ मा यो विषय अध्यापन हुन थालेको छ ।
होटल म्यानेजमेण्ट विषय लिएर कक्षा १२ उत्तिर्ण गर्ने विद्यार्थीको संख्या उल्लेख्य मात्रमा भएकाले पनि स्नातकमा यस विषय अध्ययन गर्ने विद्यार्थीको चाप बढेको र त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परिक्षा (सिम्याट) मा पनि आवेदकको संख्या करिव ६ हजारको हाराहारिमा हुने नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्ट (नाथम)का बीएचएम कार्यक्रम संयोजक विनोद अर्यालले जानकारी दिए ।
सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट विषयलाई समावेश गरेपछि एचएमटीटीसीलाई नै नेपालमा एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम)मा परिणत गरियो। यो नै नेपालको पर्यटनसम्बन्धी पढाइ हुने एक मात्र सरकारी स्वामित्वको कलेज हो।नाथमले पहिलोपटक बीएचएमको पढाई सञ्चालन गर्यो । यद्यपि, त्रिविले यो विषय सञ्चालन गर्नुभन्दा २ महिनाअघि सन् १९९८ को अन्त्यतिर पोखरा विश्वविद्यालयले बीएचएमको पढाइ शुरू गरिसकेको थियो। नेपालमा यसरी शुरू भएको होटल म्यानेजमेन्टको पढाई पछिल्लो समय व्यापक बन्दै गएको हो।
त्रिवि र पोखरापछि काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले पनि बीएचएम कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसका अतिरिक्त अमेरिका, अष्ट्रिया, स्वीट्जरल्याण्डका विभिन्न विश्वविद्यालय तथा ईन्ष्टिच्युटसँग सम्बन्धन लिएर सञ्चालनमा रहेका कलेजले पनि बीएचएम पढाइरहेका छन् ।
पछिल्लो समय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले पनि यो विषयको डिप्लोमा कोर्स सञ्चालन गर्ने तयारी गरेको छ । स्वदेशी विश्वविद्यालयअन्तर्गत सञ्चालित बीएचएम कोर्स पूरा गर्न रु. ३ लाखदेखि ८ लाखसम्म लाग्छ ।
नेपालमा नेपाली विश्वविद्यालयका मात्र नभएर विदेशी विश्वविद्यालयको सम्बन्धनमा पनि कलेजहरु सञ्चालनमा छन जसमा नेपाली विद्यार्थीले नेपालमै बसेर बीएचएमको अन्तर्राष्ट्रिय स्तरको डिग्री लिन सक्छन् ।
नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा स्नातक तह अध्यापन हुने दशवटा कलेज रहेका छन् ।जसमा पनि करिव ५ सय विद्यार्थीले अध्ययन गर्छन् ।कक्षा १२ उत्तिर्ण गरेपछी विदेशी विश्वविद्यालयमा बीएचएम अध्ययन गर्न जापान, अष्ट्रेलिया र युरोपका विभिन्न मुलुकमा विद्यार्थीहरु जाने गरेको नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।
चिटिक्क पहिरन, हसिलो मुहार र मिजासिलो व्यवहारका कारण हस्पिटालिटी क्षेत्र आम मानिसको आकर्षणको केन्द्रमा पर्ने गरेको छ । मानिस रमाउन जाने ठाउँको रुपमा यसलाई लिइने र यसमा आफ्नो दक्षता पनि प्रस्तुत गर्न सकिने भएकाले विद्यार्थीको आकर्षण बढेको होटल व्यवस्थापनका विज्ञ एंव रिट्ज कलेजअफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका कन्सलट्यान्ट सूर्यकिरण श्रेष्ठले बताए।
उनले भने, ‘ मिहनेत गरेर पढ्नु पर्दैन। पढ्न सजिलो छ । पढ्दै गर्दा काम पनि सिकिन्छ। पढ्दै काम सिकेपछि जागिर पाइन्छ । यसलाई आकर्षक कमाइ र तुलनात्मक रूपमा सजिलो पेशाको रुपमा मानिन्छ । यस्तै सोचले विद्यार्थीले बीएचम पढ्ने गरेका छन्।’ लामो समय नाथममा विभिन्न पदिय जिम्मेवारी निर्वाह गरेका उनले नेपालमा ठूला तारे होटलमा मात्र प्रत्येक बर्ष उत्पादन हुने यी जनशक्तीको उपयोग नभएपनि यहाँका विदेशी फ्रेन्चाईज कम्पनिका रेष्टुरेन्ट, साना होटल, लज, रिसोर्टहरुमा बीएचएम अध्ययन गरेका विद्यार्थीले रोजगारीको अवसर पाउने बताए ।
विदेशी विश्वविद्यालयको डिग्री नेपालमै
नेपाली विद्यार्थीले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजमा उतैको डिग्री लिनेगरेका छन् । विदेशमा उच्च शिक्षा आर्जन गर्न जान पनि सहज हुने भएकाले उनीहरुको रोजाईमा विदेशी विश्वविद्यालयको डिग्री पर्ने गरेको हो । प्रिन्सिपल बस्न्यात भन्छिन्, ‘नेपाली विद्यार्थीका लागि विदेशमा गएर होटल व्यवस्थापन अध्ययन गर्न निकै महङ्गो शूल्क लाग्छ । मध्यमबर्गीय परिवारका विद्यार्थी विदेशी विश्वविद्यालयको डिग्री लिने अवसरबाट बञ्चित हुन नपरोस ,नेपाली जनशक्तीसंगै पूजी पलायन हुने खतराबाट जोगाउन हामीले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमै विदेशी डिग्री दिने व्यवस्था गरेका हौँ ।’ नेपालमै अन्तर्राष्ट्रियस्तरको डिग्री लिन पाइने र अन्तर्राष्ट्रिय रोजगार बजारमा पनि फिट हुन पाईने भएकाले यस प्रति विद्यार्थीहरुको आकर्षण बढेको हो ।
विदेशमा ईन्टर्नशिप गर्ने चाहना
बीएचएम पढाउने नेपाली कलेजहरूले विद्यार्थीलाई इन्टर्नशिपका लागि विदेशी होटेलहरूमा पठाउने गरेका छन् । विद्यार्थीहरू पनि ईण्टर्नशिपका लागि नेपाली होटेलभन्दा विदेश नै जान चाहन्छन् । कलेज सञ्चालकहरू विद्यार्थीको रोजाइअनुसार विदेश पठाउने गरेको बताउँछन् ।विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातको भनाईमा भने विद्यार्थीले नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको डिग्री लिने अवसर पाउँछन् ।
अध्ययनकै क्रममा इन्र्टनशिपका लागि विदेश जान पाइन्छ भनेर पनि विद्यार्थी यस प्रति आकर्षित हुने गरेका छन् । एर्आटीम कलेजमा बीएचएम अध्ययनरत विद्यार्थीहरू भन्छन्, ‘इन्टर्नशिपमा विदेश जाँदा हामीले विदेशको हस्पिटालीटीको बारेमा जान्ने अवसर पाउँछौँ । त्यस्तै विदेशी खानाका परिकार, रहनसहन, संस्कार, संस्कृति, भाषा र भूगोल बुझ्न पाइने भएकाले विदेशमा इण्टर्नशिप गर्न मन छ ।’
रोजगार बजारमा दक्ष जनशक्तीको माग
होटलमा रोजगारीको कुरा गर्दा सबैको चाहना तारे होटलमा काम गर्ने भन्ने हुँदैन । आफै उद्यमशिल भएर होटल सञ्चालन गर्न पनि यो विषय अध्ययन गर्ने गरेका छन् । संसारभर अहिले ७ लाख भन्दा बढि होटलहरु सञ्चालनमा रहेका छन् । ति होटलहरुमा डेढ करोड तालिम प्राप्त जनशक्ती काम गरिरहको तथ्याङ्के छ । डेढ करोडमा हरेक बर्ष १० प्रतिशतले अवकास पाउने गर्दछन् ।
यसरी हेर्दा पनि प्रत्यक बर्ष १५ देखि २० लाख जनशक्ती यो क्षेत्रलाई आवश्यक पर्ने देखिन्छ । एआइटीएम कलेजका निर्देशक बसन्त जोशी भन्छन्,‘ होटल म्यानेजमेन्ट अध्ययन गरेका जनशक्ती हरेक बर्ष यो क्षेत्रलाई आवश्यक पर्छ । उनीहरुलाई विश्वभर जहाँ पनि रोजगारीको अवसर छ ।’
नेपालमा बीएचएम अध्ययन गरेका जनशक्तीको ठूलो माग खाडि मुलुकमा पनि छ । पर्यटन वोर्डको तथ्याङक अनुसार नेपालमा ३ हजार भन्दा बढि होटल छन् । त्यसमा लगभग ३ लाख जना काम गर्छन् । ३ लाखको १० प्रतिशतको अवकास हेर्दा ३० हजार जना हरेक बर्ष कोहि अवकास हुन्छन्, कोहि यतिकै छोड्छन् भने कोहि आफ्नै अन्य कुनै व्यवसाय गर्छन् । यो ३० हजार होटेल छोडेका व्यक्ति जो छन् त्यसमा फेरी नयाँ संख्या परिपूर्तिका हिसाबले पनि यस तर्फका जनशक्तीको माग बढ्दो नै देखिन्छ ।
अन्य साना तथा मझौला होटेल तथा लजहरु हेर्ने हो भने यो संख्या सात हजारको हाराहारीमा छ र आवश्यक जनशक्ती पनि पचास हजार भन्दा बढी हुन्छ ।
माग अनुसार दक्ष जनशक्तीको अभाव
अहिले नेपालमा डिप्लोमा र व्याचलर गरेर पचास भन्दा बढी होटल म्यानेजमेन्ट कलेजहरु सञ्चालनमा छन् । यी कलेजहरुबाट औषत २५ सय विद्यार्थी हरेक बर्ष दिक्षित हुने गरेका छन् । साना तथा मझौला होटल म्यानेजमेन्ट ट्रेनिङ्ग सेन्टरहरुबाट ४-५ हजारसम्म जनशक्ती हरेक बर्ष उत्पादन हुन्छ । यो पनि जोड्ने हो भने नेपालमा होटेलको लागि हरेक बर्ष ६ देखि ७ हजार जना तालिम प्राप्त जनशक्ती उत्पादन हुन्छन् तर माग भने न्युनतम ३० हजार जनाको छ ।
यहाँ माग ३० हजारको भएपनि अहिले अध्ययन वा तालिम पश्चात नेपालमै रोजगार गर्नेको संख्या न्युन रहेको छ । अहिले नेपालका होटल व्यवस्थापन तर्फका जनशक्तीको गन्तव्य स्थान भनेको दुबई, कतार, ओमान, मलेसिया लगाएतका अन्य खाडी मुलुक नै हुन् ।