काठमाडौँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) घोषणा भएको छ। मंगलबार राजधानीको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एप्क्यानको औपचारिक रुपमा घोषणा गरिएको हो।
यस अघि स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को बरिष्ठ उपाध्यक्ष रहेका प्रज्वल बस्नेतको संयोजकत्वमा एप्क्यानको ११ सदस्यीय तदर्थ समिति घोषणा भएको छ। तदर्थ समितिको सदस्यमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दिपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री, मदन उप्रेती, रेश्मी राज भट्टराई र नरेश शेडाई रहेका छन्।
एप्क्यान घोषणा शभामा बोल्दै संयोजक बस्नेतले एप्क्यानलाई समग्र शैक्षिक परामर्श क्षेत्र र व्यवसायीको हकहितमा लड्ने संघको रुपमा स्थापित गर्न सबै व्यवसायी एकतावद्ध भएर अघि बढ्ने उद्घोष गरे। उनले भने,‘यस अघि फेकनमा हुँदा गर्न नसकेका काम र संस्थागत विमतिहरूलाई चिरफार गर्दै व्यवसायीक हितमा अघि बढ्ने प्रतिवद्धता सहित हामी नयाँ संघको रुपमा अघि बढेका छौँ। यस संघलाई जिम्मेवारपूर्वक अघि बढ्न सबैको साथ र सहयोग रहने अपेक्षा लिएका छौँ।’
नयाँ संघ जन्मनु रहर नभइ बाध्यता भएको भन्दै उनले भने,‘शैक्षिक परामर्श क्षेत्रमा क्रियाशिल व्यवसायीलाई एकतावद्ध गरेर सातै प्रदेशमा शाखा विस्तार गर्ने योजना सहित एप्क्यानको जन्म भएको छ। अहिलेको बदलिदो परिवेश र यस समयमा परामर्श क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतीको डटेर सामना गर्न हामी एकठाउँ उभिएका छौँ।’
उनले यस अघि फेकनको सदस्यको रुपमा रहेका साथिहरू र कुनैपनि संघमा आवद्ध नभइ लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका अनुभवि व्यवसायीलाई लिएर अघि बढ्ने विश्वास व्यक्त गरे।
यस्तै घोषणा सभामा बोल्दै एप्क्यान तदर्थ समितिका सदस्य हेमन्त राज दुलालले कार्यक्रममा सहभागी सदस्य एंव अथितिहरूलाई धन्यवाद दिँदै आगामी दिनमा संस्थालाई थप बलियो बनाउँदै अघि बढाउने बताए। ‘यस संस्थाप्रति सुभेच्छा प्रकाट गर्दै संघको घोषणा सभामा पाल्नुभएका सुभेच्छुक, सदस्य एंव अथितिहरूलाई विशेष धन्यवाद दिन चाहान्छु। यस संघ समग्र परामर्श क्षेत्रको विकासमा एउटा फरक पहिचानका साथ स्थापित हुनेछ। हाम्रो योजनावद्ध कार्यदिशा र नविनतम कार्यशैलिका कारण हाम्रा सदस्यहरूको व्यवसायीक उन्नयनमा टेवा पुग्ने विश्वास लिएको छु।’समग्र परामर्श क्षेत्र र आम नागरिकको यस पेसा प्रतिको धारणा परिवर्तन गर्न पनि यस संघको भूमिका रहने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै सदस्य आरसी ओलीले परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने सवालमा यस संस्थाले ध्यान दिने बताए। उनले भने,' यस अघि हामी आवद्ध भएकाे संस्था सिस्टममा चल्न सकेन। यस व्यवसायप्रति राज्यकाे दृष्टिकाेण परिवर्तन गर्न र समन्वयकारी भूमिका नर्वाह गर्दै ज्ञानकाे केन्द्रकाे रुपमा विकास गर्न यस संघ अघि बढ्नेछ। यस संघले विद्यार्थीलाई विदेशमा गएर सिकेकाे सिप नेपालमा आएर प्रयाेग गर्न अभिप्रेरित गर्ने याेजनामा छाैँ। यस व्यवसायलाई थप मर्यादित बनाउने र विद्यार्थी, अभिभावक र व्यवसायीका समस्या समाधान गर्नु नै हाम्राे प्रमुख उद्देश्य हुनेछ।'
यस्तै कार्यक्रममा बोल्दै एप्क्यान सदस्य सन्तोष सापकोटाले संघभित्र एकजुट भएर व्यवसायीक हकहितमा अघि बढ्ने र यसले संस्थागत विश्वास पनि बढ्दै जाने बताए। कार्यक्रममा फेकनबाट बाहिरिएर नयाँ संघ स्थापनाको औचित्यबारे सदस्यहरू सुधिर राज खड्का, संकर फुयाल, लगायतले प्रस्ट पारेका थिए। कार्यक्रममा तदर्थ समिति सदस्य दिपा लामिछानेले स्वागत मन्तव्य राखेकी थिइन्।
यस अघि फेकनमा रहेका ५८ जना सदस्य र केही नयाँ सदस्य सहित एप्क्यानको घोषणा गरिएको छ। कार्यक्रमा दुईसय भन्दा बढी व्यवसायीकाे सहभागीता रहेकाे थियाे।