काठमाडाैँ- देशभरका अधिकांश सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा विद्यालकाे पठनपाठन प्रभावित हुने गरेकाे छ। सामुदायिक विद्यालयमा गणित, विज्ञान तथा अंग्रेजी विषय पढाउने शिक्षक अभाव भएकाे हाे।
सरकारले विद्यालय शिक्षामा थप दरबन्दीको व्यवस्था गर्न नसक्दा विद्यार्थीको सिकाइ उपलब्धि र गुणस्तरमासमेत कमी आएको र माध्यमिक शिक्षाको नतिजामा समेत असर परेको विद्यालयका प्राधानाध्यापकहरूकाे भनाइ रहेकाे छ।
प्युठानको जनजागृति माध्यमिक विद्यालयमा अंग्रेजी विषय बढाउने शिक्षक नभएको वर्षौं भयो । दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमै समस्या भएपछि स्थानीय तहको अनुदानमा शिक्षक राख्न चार पटक विज्ञापन गर्दासमेत कसैको पनि आवेदन नै परेन।
प्युठानमा मात्र होइन, देशभरका सामुदायिक विद्यालयको कक्षा ६ देखि १२ सम्ममा ६२ हजार शिक्षकको अभाव छ। कक्षा ११ र १२ मा स्थायी शिक्षक अहिलेसम्म एक जना पनि छैनन्। अझ गणित, विज्ञान र अँग्रेजी विषयका शिक्षकको झन् अभाव छ।
शिक्षा मन्त्रालयका अनुसार २८ हजार ५ सय सामुदायिक विद्यालयमा १ लाख ७ हजार शिक्षकको दरबन्दी छ। २०७५ सालको शिक्षक दरवन्दी मिलान प्रतिवेदनअनुसार कक्षा ६ देखि ८ मा ३ सय ३३ र ९ र १० मा ७१ जना मात्र विज्ञान, गणित र अंग्रेजीका स्थायी शिक्षक छन्।
सरकारले २०५६ सालदेखि थप शिक्षकको दरबन्दी स्वीकृत नगर्दा विद्यार्थीको सिकाइ उपलब्धि मै नकारात्मक असर परेको छ।
शिक्षा नियमावलीअनुसार हिमालमा १ शिक्षक बराबर ४०, पहाडमा ४५ र तराई तथा काठमाडौं उपत्यकामा ५० विद्यार्थी हुनुपर्छ। देशभर ५५ करिब लाख विद्यार्थी छन्। तर शिक्षकको संख्या करिब ९० हजार मात्र छ।
शिक्षकको चरम अभाव भएपछि स्थानीय तहहरुले आन्तरिक स्रोतमार्फत् विषयगत शिक्षक व्यवस्थापनको प्रयास गर्दै आएका छन्।
शिक्षकको अभावमा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कुल परीक्षार्थी मध्ये ४२ प्रतिशत अर्थात् २ लाख ४ हजार गणितमा डी र ई ग्रेड ल्याएका छन्। त्यसैगरी अंग्रेजीमा २८ हजार र अर्थशास्त्रमा ९७ हजार विद्यार्थी कमसल देखिएका छन्।
विद्यालय शिक्षामा शिक्षक अभाव हुनुले मुलुकको समग्र शिक्षाक्षेत्र र जनशक्ति उत्पादनमै नकारात्मक असर पर्ने शिक्षाविद् प्राडा रामकृष्ण दुवाल बताउँछन्।
शिक्षा मन्त्रालयले विद्यालय तहको शिक्षा आफ्नो मात्र दायित्व नभएको भन्दै पन्छिने गरेको छ।