काठमाडौं- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोट भएका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले यस कार्यक्रममा आवेदन दिएका चार हजार १५७ विद्यालयलाई छनोट गरेको हो।
यश कार्यक्रम अन्तर्गत ९७६ वटा चारकोठे भवन निर्माण गरिने भएको छ। यस्तै, दुईकोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र २१ नयाँ प्राविधिक विद्यालय स्थापना गरिने भएको छ।
मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपैयाँ, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रुपैयाँ छुट्ट्याइएको छ।
गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयलाई ३३ करोड ६० लाख अनुदान र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरोन्नतिका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्ट्याइएको छ।
बजेटमा राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्ट्याएको थियो। विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्ट्याइने मन्त्री पौडेलले जानकारी दिए।
‘देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा छौँ। निवेदन दिन बाँकी रहेका पालिकाहरूलाई पनि सम्बोधन गर्छौँ।’
देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए। जसमध्ये सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आईसीटी ल्याब, ११७ विद्यालयले नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए।
देशभरबाट प्रदेश १ मा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरणअनुसार प्रदेश १ मा ११९८ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३४९ विद्यालयमा आइसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा सात विद्यालय छनोट भएका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा चार कोठे भवन, १३७ विद्यालयमा दुई कोठे भवन, आइसीटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन विद्यालय छनोट भएका हुन् ।
यस्तै, मधेश प्रदेशमा १८० विद्यालयमा चार कोठे भवन, १९७ विद्यालयमा दुई कोठे भवन, २३५ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चारवटा विद्यालय छनोट भएका छन् । सुदूरपश्चिम प्रदेशमा १४१ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, २७० विद्यालयमा आइसीटी व्यवस्थापन, आठ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् ।
भुकम्पबाट प्रभावित बागमती प्रदेशका १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिए ।
चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुकम्पबाट नबनेका विद्यालयमा चार कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आइसीटी ल्याब ४९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापनाका लागि चार वटा छनोट भएका छन् ।
यसैगरी गण्डकीमा १३० विद्यालय चार कोठे, १२५ दुई कोठे, २५५ आइसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् ।