काठमाडौँ– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि ९ जनाको आवेदन परेको छ।
४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सरकारले नाम सिफारिस समिति गठन गरेको छ। सिफरिस समितिले साउन २६ गते गरेको दरखास्त आह्वान गरेको थियो। सो समयमा ९ जनाको आवेदन परेका समितिले जनाएको छ।
मन्त्रिपरिषद्ले लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ। त्यसमा सरकारले मनोनीत गरेको एक जना विज्ञ प्राध्यापक चिकित्सक र प्रधानमन्त्री कार्यालयका सचिवसदस्य रहने व्यवस्था छ । विज्ञ प्राध्यापकमा नेपाली सेनाको मेडिकल कलेजका प्राध्यापक लोचना श्रेष्ठ नियुक्त भइसकेकी छन्।
कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झाको पनि आवेदन परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति संगीता सिंह भण्डारीको पनि आवेदन परेको स्रोतले बतायो । उनी उपकुलपति हुँदा अनियमिततामा समेत मुछिएकी थिइन् ।
त्यस्तै पूर्वस्वास्थ्य सचिव प्रवीण मिश्रले पनि आवेदन दिएका छन् । सिभिल अस्पतालका डाइरेक्टर विधाननिधि पौडेल, ट्रमा सेन्टरको पूर्वडाइरेक्टर प्रमोदकुमार यादव, केएमसी अस्पतालका प्राध्यापक सुमनकुमार श्रेष्ठ, बीएण्डबी अस्पतालका चिकित्सक वीरेन्द्रप्रसाद यादव, वीर अस्पतालका चिकित्सक पीयूष दाहाल र प्राध्यापक डाक्टर सुमनकुमार श्रेष्ठले आवेदन दिएको मन्त्रालय स्रोतले जनायो ।
सिफारिसको आधारमा प्रधानमन्त्री तथा आयोग अध्यक्षले एक जनालाई उपाध्यक्षमा नियुक्ति गर्नेछन् । निवेदकमध्ये एकजनाको अस्वीकृत भएको छ। वीरेन्द्रप्रसाद यादवको कागजात त योग्यता नपुगेर अस्वीकृत भएको हो।