काठमाडाैँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २७औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने भएको छ।
इक्यानले २७ औँ स्थापना दिवसको अवसरमा ‘सवैका लागि समान शिक्षा, पहिले देश अनि विदेश’ भन्ने मुल नाराकासाथ शैक्षिक परामर्श ब्यवसायिका माध्यमबाट विद्यार्थीहरू विदेश पठाउने मात्र होईन, उपयुक्त वातावरणको निर्माण गरि विदेशी विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि नेपालमा ल्याउन सकिने सन्देश प्रवाह गर्न खोजेको छ।
इक्यानले भदौ ०७ गतेदेखि भदौ १६ गतेसम्म विभिन्न विद्यार्थी, अभिभावक, सदस्य कम्पनि, समाज र सामाजिक उत्तरदायित्वलाई लक्षित गरि रचनात्मक गतिविधि सञ्चालन गरेर मनाउने जनाएको छ।
यसै अनुसार इक्यानले भदौ ७ गते विहान १० बजेदेखि ०२ बजेसम्म होटल हार्दिक बागबजारमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
इक्यानले भदौ ८ गते शुक्रबार दिनको १ बजेदेखि ५ बजे सम्महोटल एभरेष्ट नयाँ बानेश्वरमा शैक्षिक परामर्श क्षेत्रमा आवद्ध तथा यस ब्यवसायसँगको सहकार्यमा रहेका महिला ब्यवसायी तथा उद्यमशिलताको साझा समस्या, अवसर तथा चुनौतीका सम्बन्धमा ECAN Women Leadership: Empowerment and Inspiration नामक कार्यक्रमको आयोजना गर्ने तय गरेको छ।
इक्यानले भदौ ११ गते विहान ११ बजेदेखि १ बजेसम्म शैक्षिक परामर्श क्षेत्रका समस्याका विषयमा सरोकारवालासँग भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ।
यसका साथै इक्यानले भदौ १२ गते जनचेतना मुलक र्यालीको आयोजना गर्ने, १३ गते बानेश्वर स्थित होटल एभरेष्टमा एक औपचारिक कार्यक्रमकाबीच २७औँ स्थापनादिवस मनाउने कार्यक्रम तय गरेको इक्यानका महासचिव दीपकराज भुषालले जानकारी दिए।
इक्यानले भदौ १६ गते साँझ ५ बजे देखि काठमाडौँको प्रज्ञा प्रतिस्ठान, कमलादिमा नेपालका चर्चित हास्यकलाकार मनोज गजुरेल सहित सैलेन्द्र सिंमखडा, टिका भण्डारी, सुवोध गौतम, म्याक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा, प्रविना अधिकारी लगायतका कलाकारहरूको साथमा ‘८० सालको गाईजात्रा ईक्यानको साथमा’मनाउने कार्यक्रम तय गरेको छ।