काठमाडाैँ- इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्क बढाएको छ। इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको बैठकले चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।
संस्थानको कार्यान्वयन समितिको बैठक साउन २५ गते बसेको थियो। नयाँ शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको ७ लाख ७५ हजार ४२० रुपैयाँ तोकिएको छ। त्यस्तै नियमित तर्फ ८२ हजार ७२० रुपैयाँ पु¥याइएको छ।
यसअघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो। भने पूर्ण शुल्कीय तर्फ ३ लाख ३० हजार रुपैयाँ थियो। अहिले आएर संस्थानले २३५ प्रतिशतले शुल्क बढाइएको हो।
आईओईका डीन प्राडा शसिधर राम जोशीले लामो समयदेखि शुल्क नढाइएकाले अहिले बढाएको बताए। शुल्क बढाउने विषयमा सुशिल ब्रर्जाचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले आईओई अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरेको थियो। उक्त समितिले शुल्क बढाउन सिफारिस गरेको थियो।
यसअघि २०५३ सालमा उक्त शुल्क तोकिएको थियो। त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो। त्रिभुवन विश्वविद्यालयले संस्थानलाई बजेट दिन नसकिने बताउँदै आएको छ। जसले गर्दा हालको शुल्कमा विद्यार्थीलाई पढाउन सकिने अवस्था नरहेपछि बढाइएको संस्थानले जनाएको छ।
संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेज, पूर्वाञ्चल कलेज, पश्चिमाञ्चल कलेज, थापाथली कलेज र चितवन कलेज गरेर ५ वटा आंगिक कलेजहरू छन्। त्रिविसँग सम्बन्धन लिएर १० वटा निजी कलेजहरूले इन्जिनियरिङ तर्फका स्नातक तह र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।