काठमाडौँ- फेयर एक्सप्रेस मासिक स्थापनाको सात वर्ष पूरा गरि आठौँ वर्षमा प्रवेश गरेको छ। शिक्षा, स्वास्थ्य, अर्थ, सूचना प्रविधि लगायतका क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर लक्षित बर्गलाई सत्यतथ्य सूचना सम्प्रेसण गर्दै आएको फेयर एक्सप्रेस मासिक स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको हो।
फेयरएक्सप्रेस मासिकका सञ्चालक विपिन पोखरेलले आफ्ना पाठकहरूको माया, हौसाला र विश्वासले गर्दा नै सात वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गर्न सफल भएको बताए।
‘बितेका सात वर्षमा नेपालको पत्रकारिता जगतले थुप्रै उतारचढावको सामना गर्नुपर्यो। यहि समयमा आएको कोभिड-१९ महामारिका कारण पनि नेपालमा पत्रिका प्रकाशकले विभिन्न चुनौतीको सामना गर्नुपर्यो। यस समयमा मासिक रुपमा प्रकाशन गर्न संभव नभएपनि हामीले हाम्रो प्रकाशनलाई निरन्तरता दिँदै अघि बढ्यौँ’,उनले भने,‘विषयगत पत्रकारितामा कुनै पनि व्यवसायलाई प्रबर्धन गर्ने हेतुले स्थापना भएको यस पत्रिकाले विभिन्न मेला, महोत्सव र शैक्षिक कार्यक्रमलाई विशेष जोड दिइ विशेषाङ्क प्रकाशन गर्न सफल भयो।’
कुनै पनि क्षेत्र र कम्पनीको हैसियत त्यसको बजारको आधारमा निर्भर गर्ने भएकाले पनि त्यसको प्रबद्र्धनको लागि फेयर एक्सप्रेसले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ।
फेयरएक्सप्रेस स्थापनको आठौँ वर्षमा आइपुग्दा आम पाठकवर्ग र सरोकारवालामा बढेको विश्वास कायम राख्दै थप विश्वास आर्जन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै उनले आफ्ना कमजोरीलाई स्वीकार गर्दै आगामी दिनमा राम्रो गर्नतिर लाग्ने बताए।
उनले पत्रिकामा ताजा, सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने उद्देश्य जारी नै रहने बताउँदै यसक्रममा सहयोग गर्नुहुने सम्पूर्ण पाठक, दर्शक, लेखक, विज्ञापनदाता सबैलाई धन्यबाद व्यक्त गरेका छन्।
यस्तै फेयरएक्सप्रेस मासिकका प्रबन्ध निर्देशक राजेन्द्र लुइटेलले पत्रिकाले आम पाठकको मन जित्न सफल भएको र यसलाई थप उचाइमा पुर्याउन सबैको साथ पाएको र प्रबद्र्धनात्मक पत्रकारितासँगसँगै मूलतः व्यवसायको बजारीकरणमा आफूलाई केन्द्रित गराउने अभियान जारी रहेको बताए।
उनले साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै भने,‘अहिले शैक्षिक मेला, महोत्सब र शैक्षिक कार्यक्रमलाई हरेक सञ्चारमाध्यमले महत्व दिन थालेका छन्। हामीले विषयबस्तुमा केही परिमार्जन गर्दै फेयर एक्सप्रेस मासिकलाई अन्य विधामा पनि जोड्दै सूचना प्रविधिको क्षेत्रलाई पनि प्राथमिकताका साथ अघि बढाउने अभियानमा छौँ।’
लक्षित बर्गलाई ध्यानमा राख्दै पत्रिका प्रकाशन गरेको र यसले आम पाठकको मन जितेर विश्वास पनि आर्जन गर्न सफल भएको उनको भनाइ छ।
फेयरएक्सप्रेसलाई शुभकामना दिँदै नीजी विद्यालयहरूको छातासँगठन प्याब्सनका अध्यक्ष डिके ढुंगानाले विद्यार्थी एंव अभिभावकलाई विद्यालय शिक्षाबारे सम्पूर्ण जानकारी दिनुका साथै विद्यालयका गतिविधीलाई सम्प्रेषण गरेर पत्रिकाले नीजी शिक्षणसंस्थाका गतिविधीलाई आम पाठकमाझ ल्याउने काम गरेको बताए।
उनले भने,‘ फेयरएक्सप्रेसले शिक्षक, विद्यार्थी र विद्यालयका समस्या, गतिविधीलाई स्थान दिनुका साथै विद्यार्थीलाई करिअर गाइडेन्स पनि प्रदान गर्ने गरेको छ। यसले आगामी दिनमा पनि विद्यार्थी अभिभावकलाई सुसुचित बनाउने गरि अघि बढ्ने कामना सहित शुभकामना व्यक्त गर्दछु।’
यस्तै विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयका सम्पूर्ण जानकारी दिने काम पनि यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए।
उनले भने,‘यस पत्रिकाले शैक्षिक परामर्श क्षेत्रका सम्पूर्ण विषयलाई उजागर गरेर विद्यार्थीलाई सत्य तथ्य सूचना सम्प्रेषण गर्न सफल भएको छ। शैक्षिक मेलामा प्रकाशन हुने विशेषाङ्क विद्यार्थीका लागि अत्यन्तै उपयोगी सावित भएको छ। आगामी दिनमा पनि यसले थप प्रभावकारी ढंगबाट आफ्नो उपस्थिति जनाउने विश्वास व्यक्त गर्दछु।’
यस्तै नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सातौँ वार्षिकोत्सको शुभकामना दिँदै शिक्षा क्षेत्रका सम्पूर्ण विषयमा फेयरएक्सप्रेस मासिकले कलम चालउँदै आएको र यसले शिक्षक मुद्दा थप शसक्त रुपमा उठाउँदै जाने बताइन्।
फेयर एक्सप्रेसले सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ।