काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्बाट संघीय शिक्षा ऐन पारित भएपनि केही विषय विवादित देखिएकाले सच्याएर मात्र संसदमा पेस गर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐनमा केही बुँदा नमिलेकाले त्यसलाई सच्याएर मात्रै संसद्मा पेस गर्न तयारी गरिरहेको बताए।
उनले सरकार नयाँ संकल्पसहित नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा अघि बढेकाे भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेकोमा जाेड दिए।
‘अहिले हामी एउटा नयाँ संकल्पसहित नयाँ प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौं। सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो कि भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन। स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान छ। संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाती थियो, त्यसलाई अन्तिम रुप दिइँदै छ र मैले क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेसन आएको देखेपछि त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया सुरु भएको छ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको दाबी गरे। ‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने म आफैंले एउटा नयाँ संकल्प लिएको विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ, हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ । त्यस्तै शिक्षकका आफ्नै कुरा छन्, नीजी विद्यालय सञ्चालकका केही विषयहरु पनि छन्।’