काठमाडाैँ- राष्ट्रिय परीक्षा बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन गर्ने भएको छ। नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपियाँ तिरेर नतिजा पुनर्योग गर्न सकिने बोर्डले जनाएकाे छ। त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्नेछन्।
बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गरिने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने बताए। यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुने उनकाे भनाइ छ। १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा मात्र नयाँ अंक कायम हुनेछ।
बोर्डले मंगलबार प्रकाशन गरेको कक्षा १२ को नतिजमा अंग्रेजी विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थी धेरै रहेका छन्।बोर्डका सदस्य सचिव अर्यालका अनुसार यो विषयमा १ लाख ९ हजार ५२७ जना ननग्रेड भएका छन्।
दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जना छन्। एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन्। कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन्।
जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन्। त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन्। त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ।
यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ११ हजार ४३८ रहेको छ यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ। कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ।