काठमाडौं- काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा छात्रवृत्ति पाएका विद्यार्थी र विद्यालयको नाम सार्वजनिक गरेको छ।
कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ।
महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि गत साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेको हो।
सो म्याचिङमा विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्।
छात्रवृत्ति पाउने मध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइने नगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए। कम्प्युटर विषयमा १८ जना (शिवपुरी मावि)।, महाराजगञ्ज ८ जना र सरस्वती निकेतन मावि, ब्रह्मटोल (कम्प्युटर १० जना), सिभिल इञ्जिनियरिङ्मा ४९ जना (ज्ञानोदय सेकेण्डरी स्कूल, बाफल १२ जना, पद्मकन्या मावि, डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मावि, बालुवाटार, १७ जना) र इलेक्ट्रिकल ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन्।
भर्नाका लागि साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्नाका लागि शिक्षण संस्था सिफारिस गरेको उनले बताए।