काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली डाक्टरमाथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित पाँच जना पक्राउ परेका छन्।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।
त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर पक्राउ परेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो।
बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा. रामबाबु यादव र एरिना यादव रहेका छन्।
अपरान्हतिर बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादव रहेका छन्।
शर्माको १२ कक्षाको प्रमाणपत्र नक्कली
मेडिकल व्यवसायी समेत रहेका शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
बेलबारी-९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ ।
सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ।
सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो। त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो।
सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो ।