काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा परिमार्जन गर्न सहयोग गर्दिन अनुरोध गर्दै राजनीतिक दलका सचेतकहरूलाई पत्र लेखेको छ।
महासंघले विधेयकको मस्यौदा परिमार्जन गर्न माग राख्दै मंगलबार ध्यानाकर्षण गराएको हो।
ऐनलाई शिक्षक र कर्मचारीमैत्री बनाउन अनुरोध गर्न आग्रह गरिएको थियो। महासंघले नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखक, नेकपा एमाले प्रमुख सचेतक पदम गिरीलगायतलाई पत्र लेखेको थियो।
महासंघले देशमा गुणस्तरीय शिक्षाको विकासका लागि नयाँ बाटो तय गर्नु नयाँ ऐनमा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका विगतका सबै सहमतीको कार्यान्वयन गरी स्थायी, राहत, साविक उमावि, बालकक्षा, अस्थायी/ करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दा सम्बोधन गर्न सक्नुपर्ने जनाएको छ।
नेपाली शिक्षक कर्मचारीका जायज माग मुद्दामाथि सरकारले छलफल नै नगरी धोका वा षडयन्त्रको रुपमा ऐन ल्याउन खोजेकाले यसको विरोध गर्ने महासंघका महासचिव लक्ष्मिकिशाेर सुवेदीले बताए।
उनले शिक्षक कर्मचारीको हकहित, सुरक्षा र स्वभिमानका लागि आन्दोलनका लागि तमतयार अवस्थामा रहन सबै शिक्षक कर्मचारीलाई आग्रह समेत गरेका छन्।