काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो संघीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएकी छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल (प्याब्सन) काठमाडौँ जिल्ला शाखाले आयोजना गरेकाे ‘एसइई (२०७९) सम्मान कार्यक्रम-२०८०’लाई सम्बोधन गर्दै उनले संघीय शिक्षा ऐन अहिले मन्त्रिपरिषद्बाट पास भएर संसद्मा दर्ता हुने प्रक्रियमा रहेको र ऐन आइसकेपछि पनि असन्तुष्ट पक्षसँग छलफल गरेर संशाेधन हुने बताइन्।
'हाम्रो शिक्षा ऐन परिवर्तन गर्न नसकेर लामो समय गुज्रिएको थियो र २०२८ सालको शिक्षा ऐनबाट २०८० सालका विद्यार्थीलाई पढाउनुपर्ने अवस्था बनेको थियो, अब २०२८ सालको शिक्षा ऐन परिवर्तन हुँदैछ, शिक्षा ऐन आउनु नै ठूलो कुरा हो', मन्त्री शर्माले भनिन्।
नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेको बताउँदै उनले भनिन्, 'हामीले समाजवादमा जाने पनि भनेका छौँ, समाजवाद हाम्रो लक्ष्य भनेका छौँ, त्यो भनेको शिक्षा र स्वास्थ्य निश्चित रुपमा मौलिक हकका रुपमा सुनिश्चित हुनुपर्छ भन्ने नै हो र यो निःशुल्क हुनुपर्छ भन्ने हो।'
शिक्षा ऐनमा रहेका केही बिषयामा निजी शिक्षणसंस्थाकाे असन्तुष्टि हाे भने त्यसमा संशाेधन पनि गर्न सकिने र नीजी विद्यालयकाे मुख्य उद्देश्य भनेकाे सेवा नै भएकाले त्यसततर्फ ध्यान दिनुपर्ने उनकाे भनाई छ।
'शैक्षिक क्षेत्रकाे विकासमा निजी क्षेत्रको योगदान आफैँमा महत्वपूर्ण छ, त्यो भन्दाभन्दै पनि सबै विद्यार्थीको पढाइ लेखाइलगायत सम्पूर्ण कुरा सामुदायिक विद्यालयले मात्रै भूमिका निर्वाह गर्न सकिरहेको अवस्था थियो, यो सन्दर्भमा निजी विद्यालयले अत्यन्त महत्वपूर्ण योगदान गरेका छन्', उनले भनिन्, 'थुप्रै राजनीतिक परिवर्तनपछि देश यहाँसम्म आए पनि देशप्रतिको माया, आफ्नो माटोप्रतिको माया, संस्कार, आफ्नो पहिचानप्रतिको माया विस्तारै कम हुँदै गएको जस्तो भान भइरहेको छ। १२ कक्षा पास हुन पाउँदा नपाउँदै विदेश जाने जुन लर्को देखिन्छ, बाहिर पढाउने जुन मनोविज्ञान देखिन्छ।'
यसले गर्दा उच्च शिक्षालाई थप गुणस्तरी बनाउनुपर्ने चुनौती थपिएकाे र पढाइमा उत्कृष्ट हुने तर व्यवहारमा नहुने भन्ने चिन्ता बढेकाे उनकाे भनाइ छ।
प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले राज्यले सीपमूलक शिक्षाको वकालत गर्दै आएको भए पनि सीपमूलक शिक्षा दिने कुरामा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई समान रुपले अवसर दिइनुपर्नेमा जोड दिए। कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा सदस्य विद्यालयहरूलाई सम्मान गरिएको थियो।