काठमाडौँ- नेपाल शिक्षक महासंघले सरकारले संघीय शिक्षा ऐनमा यस भएका सम्झौता कार्यान्वयन नगरेर धोका दिए आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघले शुक्रबार विज्ञप्ती जारी गर्दै लामो प्रतीक्षा पछि आउने क्रममा रहेको नयाँ संघीय शिक्षा ऐनले शिक्षक कर्मचारीका सबै मागमुद्दा सम्बोधन गर्नुपर्ने जनाएको हो।
महासंघले देशमा गुणस्तरीय शिक्षाको विकासका लागि नयाँ बाटो तय गर्नु नयाँ ऐनमा नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका विगतका सबै सहमतीको कार्यान्वयन गरी स्थायी, राहत, साविक उमावि, बालकक्षा, अस्थायी/ करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दा सम्बोधन गर्न सक्नुपर्ने जनाएको छ।
महासंघले संघीय शिक्षा ऐनको मस्यौदाका थरिथरिका दस्तावेज सार्वजनिक भइरहेकाले आधिकारिक विधेयक सार्वजनिक गर्न र विधेयकको मुख्य सरोकार पक्ष महासंघसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल गर्न माग गरेको छ।
नेपाली शिक्षक कर्मचारीका जायज माग मुद्दामाथि सरकारले छलफल नै नगरी धोका वा षडयन्त्रको रुपमा ऐन ल्याउन खोजेकाले यसको विरोध गर्ने महासंघका महासचिव लक्ष्मिकिशाेर सुवेदीले बताए।
उनले शिक्षक कर्मचारीको हकहित, सुरक्षा र स्वभिमानका लागि आन्दोलनका लागि तमतयार अवस्थामा रहन सबै शिक्षक कर्मचारीलाई आग्रह समेत गरेका छन्।