काठमाडाैँ- सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो।
विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ।
बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक संघसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ-आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ।
डेंगु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए।
वडा समिति कार्यालय आ-आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगु नियन्त्रण नहुने देखिएकाले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए।
धरानमा डेङ्गुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ। निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेङ्गुका बिरामीले शैया पाउन मुश्किल भएको छ।
यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।
डेंगुका मूख्य लक्षणहरू
- उच्च ज्वरो आउनु
- जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
- आँखाको गेडी दुख्नु
- बेस्सरी टाउको दुख्नु
- शरीरमा राता बिमिराहरू आउनु
- वाकवाकी लाग्नु वा वान्ता हुनु
डेंगुबाट बच्ने उपायहरू:
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
- घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
स्राेत : रासस र युनिसेफ नेपाल