काठमाडौँ- नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले प्रारम्भिक बालविकास शिक्षक (ईसीडी) लाई संघीय शिक्षा ऐनमा विद्यालय संरचना भित्र समावेश गर्न माग गरेकाे छ।
समितिले ईसीडीदेखि कक्षा १२ सम्म विद्यालय शिक्षा निर्धारण गरि सोही अनुसार संघीय शिक्षा ऐनमा पारिश्रमिकको ग्यारेन्टी नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको हो।
समितिकी अध्यक्ष कृष्ण थपा मगरले संघीय शिक्षा ऐनमा विद्यालय तहभित्र बालविकास शिक्षकलाई समावेश गरिएन भने देशव्यापी रुपमा आन्दोलनमा जाने बताइन्। उनले भनिन्,‘ सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकलाई राज्यले शिक्षक नै मान्दैन भने आन्दोलनमा जानुको विकल्प छैन। हामी सडकमा उत्रेर भएपनि हाम्रो आवाज उठाउँछाैँ। हामी आन्दोलनको तयारीमा छौँ। यसबाट हुने क्षतिकाे सामना राज्यले गर्नुपर्छ।’
‘हामीलाई अहिलेसम्म शिक्षा ऐनको मस्यौदामाथि भएकाे कुनै पनि छलफलमा बोलाइएको छैन। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था गर्न बनेकाे शिक्षा ऐनको नवौँ संशोधनले सामुदायिक विद्यालयका बालविकास शिक्षकलाई विद्यालयको संरचनामा ल्याउने भन्ने उल्लेख गरेकाे भएपनि संघीय शिक्षा ऐनमा यो विषय समावेश गरिएको छैन भन्ने सुनेकाे छु। सरकारले ईसीडी शिक्षककाे समस्या समाधान गर्नुपर्छ', अध्यक्ष मगरले भनिन्।
नेपाल शिक्षक महासंघले पनि ईसीडी शिक्षकलाई विद्यालयको संरचना भित्र राख्न सरकारसँग माग गरेको छ। महासंघले बालविकास शिक्षकलाई विद्यालयको संरचनामा भित्र ल्याएर प्राथमिक तृतिय सरह सेवा सुविधा दिन माग गरेको छ।
महासंघका महासचिव लक्ष्मीकिशोर शुवेदीले सरकारले शिक्षकका समस्या र यस अघि भएका सम्झौता संघीय शिक्षा ऐन मार्फत सम्बोधन नगरे आन्दोलनमा जाने बताए।
उनले भने,‘ सरकारले महासंघसँग पर्याप्त नगरी विद्यालय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। राज्यले शिक्षकलाई कक्षा कोठामा पुर्याउने भन्दा पनि सडकमा आन्दोलन गर्नुपर्ने बाध्यतामा लादैँछ। शिक्षकबाट हुने आन्दोलनको जिम्मेवारी राज्यले नै लिनुपर्छ। राज्यले महासंघसँग यस अघि गरेका सम्झौता कार्यान्वयन भएन भने हामी सडक आन्दोलनमा जानुको विकल्प छैन।’
मंगलबार बस्ने महासंघ र आवद्ध संगठनहरूको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ।