काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विगतका वर्षमाभन्दा यसवर्ष सामुदायिक विद्यालयको एसईई परीक्षा नतिजामा सुधार आएको बताएका छन्। उनले शुक्रबार तथ्यांकसमेत सार्वजनिक गर्दै नतिजमा सुधार आउनुका कारण बताएका हुन्।
काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको शाहले प्रस्तुत गरेकाे तथ्यांकमा उल्लेख छ।
मेयर साहले महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्ष (२०७९/८०) देखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको तथ्यांक प्रस्तुत गरेका छन्।
नतिजा सुधारका लागि गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गरेको मेयर साहले बताए। ‘गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ। उहाँहरूको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन। बाहिर समग्र रूपमा वृद्धि भएको छ’, उनले भने ,‘९० जना शिक्षकलाई १० घण्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्यौँ।'
उनका अनुसार शिक्षासँगै प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो। प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम सफलताका लागि साथ दिने कार्यक्रम हुन्। विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले। अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो।
उनले प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको बताए।
गएको वर्ष परीक्षामा सहभागी भएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६ प्रतिशत) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए। यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३प्रतिशत) छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएको मेयर साहको भनाइ छ।
उनका अनुसार आवेदकमध्ये गएको वर्ष १२५ (३.१७ प्रतिशत) जना गयल भए भने यसवर्ष ५० (१.२३ प्रतिशत) जना गयल देखिए। यो तथ्यांकबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ।
उनले विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेको बताउँदै आफूहरूले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको बताएका छन्।
उनी भन्छन्, ‘गएको बर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४ प्रतिशत) जना थियो। यसवर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेको छ। यो ५१प्रतिशत वृद्धि दर हो। गएको वर्ष ६९७ (१७.६८प्रतिशत) जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए। यसवर्ष ८०४ (२०.५५ प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन्। यो १६ प्रतिशत वृद्धि हो। गएको वर्ष ‘वी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५० प्रतिशत) थियो। यस वर्ष ९७४ (२४.९० प्रतिशत) पुगेको छ। गएको वर्ष १००४ (२५.४६ प्रतिशत) को ‘सी प्लस’ ग्रेड आएको थियो। यसवर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४ प्रतिशत) पुगेको छ। ८ प्रतिशतले घटेकाे छ। यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (२९ प्रतिशत) ले घटेको छ। गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२ प्रतिशत) उत्तीर्ण थिए। यसवर्ष ४३५ (११.१२ प्रतिशत) मा घटेको छ।’