काठमाडौँ- चिकित्सा शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। विद्यार्थीको रोजाइ, अभिभावकको चाहना र रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको हो।
चिकित्सा शिक्षा अध्यापन गर्ने शिक्षण संस्था पनि खुल्ने क्रम बढ्दाे छ। चिकित्सा शिक्षातर्फका विभिन्न विषयमा अध्यापन अनुमतिको पर्खाइमा रहेका नयाँ शिक्षण संस्था सञ्चालकहरूले अनुमतिका लागि आवेदन दिएका छन्।
चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगले स्नातक तहमा १४ वटा विषय अध्ययन गर्न विद्यार्थीलाई ७ हजार ६५९ सिट निर्धारण गरेको छ। स्नातक तहमा ब्याचलरतर्फ नर्सिङ साइन्स (बीएनएस) अध्ययन गर्न १ हजार ३१० कोटा निर्धारण गरेको छ। मिडवाइफीमा १३०, परफ्युजन टेक्नोलोजीमा पाँच, आयुर्वेद चिकित्सा (बाम्स) मा ८०, अडियोलोजी र भाषा प्याथोलोजी (बीएएसएलपी) मा ६, डेन्टल सर्जरी (बीडीएस) मा ५६०, अप्टोमेट्रीतर्फ ७० जनाका लागि कोटा तोकिएको छ।
स्नातक तहमा ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) मा ८४०, फार्मेसीमा ८१५, फिजियोथेरापी (बीपीटी) मा १४०, बीएसीएमआईटीमा ७७, बीएससी एमएलटीमा ३८१, बीएससी नर्सिङमा १ हजार ३५०, एमबीबीएसमा १ हजार ८९५ सिटसंख्या निर्धारण गरिएको छ।
आयोगले प्रत्येक वर्ष आयोगले सबै विषयका लागि स्नातक तहमा एकीकृत प्रवेश परीक्षा लिने गरेको छ। प्रवेश परीक्षामा उत्तीर्ण भएपछि मात्र चिकित्सा शिक्षातर्फका विषय अध्ययन गर्न पाइन्छ। त्यसैले छात्रवृत्ति कोटामा नाम निकाल्न प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थी धेरै छन्।
छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि परीक्षामा सहभागी भएर असफल भएका विद्यार्थीले अर्को पटकको परीक्षाका लागि पनि तयारी गर्छन्। तीमध्ये कतिपयले अन्य विषय पढ्न लाग्छन् भने कोही भने विदेश जाने गरेका छन्।
नेपाली विश्वविद्यालयमा सीमित सिट भएका कारण विद्यार्थी मेडिकल शिक्षा आर्जन गर्न विदेश जाने गरेका हुन्।
आयोगले कोभिड १९ महामारीका कारण बिग्रिएको क्यालेन्डर मिलाउन गत फागुनमा एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो। आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा कक्षा १२ को नतिजा आएको केही समयपछि सञ्चालन गरिने बताए।
‘कोभिड महामारीका कारण ढिलो भएको शैक्षिक क्यालेन्डर हामीले मिलाउने प्रयास गरेका छौँ। एकैपटक दुईवटा इन्टेकमा भर्ना लिन विश्वविद्यालयको क्षमता नहुने भएकाले यसपटक कक्षा १२ को नतिजा आएको केही समयपछि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुन्छ’, उनले भने। विद्यार्थीले पनि परीक्षाको तयारी गर्न पर्याप्त समय पाउने भनाइ उनको छ।
मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थीको रोजाइ चीन, बंगलादेश, फिलिपिन्सलगायतका हुने गरेको छ। नर्सिङ, जनस्वास्थ्य शिक्षा, प्रयोगशाला विज्ञान (मेडिकल ल्याब्रोटरी टेक्नोलोजी) लगायतका विषय अध्ययन गर्न भने नेपाली विद्यार्थी भारत, अस्ट्रेलिया, बेलायत जाने गरेका छन्।
चिकित्सा शिक्षाबाहेक विद्यार्थीले इन्जिनियरिङ, बीएससीसीएसआइटी, अप्लाइड साइन्स (फिजिक्स, केमेस्ट्री, जुओलोजी, बोटनी, माइक्रोबायोलोजी) लगायतका विषय अध्ययन गर्छन्। नेपालमा एक दर्जनभन्दा बढी चिकित्सा अध्ययन संस्था छन्। ती शिक्षण संस्थामा ब्याचलर अफ मेडिसिन, ब्याचलर सर्जरी (एमबीबीएस) पढाइ हुन्छ।
चिकित्सक बन्न सजिलो छैन। लगानी, योग्यता र क्षमताजस्ता चुनौतीसँग जुध्दै मेडिकल अध्ययन अगाडि बढाउने हो भने यसमा असीमित अवसर छन्। मेडिकल क्षेत्रलाई समाजमा प्रतिष्ठित र सुरक्षित पेसाका रूपमा लिइन्छ। स्वदेशी तथा विदेशी रोजगार बजारमा जनशक्ति अत्यावश्क छ।
चिकित्सक बन्न रहर वा इच्छा मात्र भएर पुग्दैन, विद्यार्थीमा समाज तथा राष्ट्रप्रति दायित्वबोध, व्यक्तिगत आचरण राम्रो र लगनशील हुनुपर्छ। मानवीय संवेदना बुझ्ने क्षमता पनि हुनैपर्छ।
आवश्यक योग्यता, खर्च र छात्रवृत्ति
चिकित्साशास्त्र अध्ययन गर्न मुख्य विषय बायालोजी लिएर कक्षा १२ मा उत्तीर्ण हुनुपर्छ। त्यसपछि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा दिन पाइन्छ। उत्तीर्ण विद्यार्थीले मेरिटका आधारमा कलेजमा भर्ना हुन फाराम भर्नुपर्छ।
चिकित्सा शिक्षा अध्ययन खर्चिलो छ। काठमाडौँ उपत्यकाबाहिर एमबीबीएस पढ्न ४५ लाख ९५ हजार ७२० रुपैयाँ तोकिएको छ। यस्तै उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको आयोगले जनाएको छ। यस्तै बीडीएसको १० लाख ९२ हजार २९० तोकिएको छ।
सरकारले चिकित्सा शिक्षातर्फ छात्रवृत्ति उपलब्ध गराउँछ। एमबीबीएसमा ४३०, डेन्टल सर्जरी (बीडीएस) मा १०८, बीएसीएमआईटीमा २६, नर्सिङ साइन्स (बीएनएस) मा ४९२ जनालाई छात्रवृत्ति कोटा निर्धारण गरिएको आयोगले जनाएको छ।
मिडवाइफीमा ८४, परफ्युजन टेक्नोलोजीमा तीन, आयुर्वेद चिकित्सा (बाम्स) मा ६०, अडियोलोजी र भाषा प्याथोलोजी (बीएएसएलपी) मा चार, अप्टोमेट्रीमा ५२ जनाले छात्रवृत्तिमा पढ्न पाउँछन्।
स्नातक तहमा ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) मा २१२, फार्मेसीमा १९०, फिजियोथेरापी (बीपीटी) मा २८, बीएसीएमआईटीमा ७७, बीएससी एमएलटीमा १२१, बीएससी नर्सिङमा ४३९ विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ।
छात्रवृत्तिको मेरिटबाहेक पूर्ण शुल्क तिरेर विद्यार्थीले कलेजको बाँकी सिटमा मेरिटकै आधारमा भर्ना हुन पाउँछन्। गरिब, दलित, जनजाति वर्गले पनि ‘मेरिट’का आधारमा पूर्ण छात्रवृत्ति पाउने व्यवस्था छ।
विदेशी शिक्षण संस्थामा अध्ययनका लागि पनि सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। सम्बन्धित मुलुकका दूतावासमार्फत लिइने परीक्षामा नाम निकाल्ने हो भने विदेशमा सस्तोमै अध्ययन गर्न सकिन्छ। चीन, बंगलादेश, रुसलगायतका मुलुकमा पूर्ण छात्रवृत्तिमा पढ्न जान पाइन्छ।
प्रवेश परीक्षा अनिवार्य
प्रवेश परीक्षा उत्तीर्ण नभई विद्यार्थी आफूखुसी विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान पाउँदैनन्। प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले मात्र शिक्षा मन्त्रालयबाट जारी गर्ने विदेश अध्ययन अनुमतिपत्र (एनओसी) पाउँछन्।
विदेश अध्ययनमा जानुपूर्व आयोगको अनुमतिपत्र लिनैपर्छ। त्यसपछि स्टेटमेन्ट अफ निड, नो अब्जेक्सन लेटर, गुड स्ट्यान्डिङ सटिर्फिकेटजस्ता सिफारिसपत्र लिन पाइन्छ।
आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा नेपालबाट अन्य मुलुकमा उच्चशिक्षा अध्ययन गर्न जाने व्यक्तिले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र दिने अधिकार आयोगलाई मात्र छ।
नेपालमा सिमित सिटका कारण पढ्न विदेश जान्छन् विद्यार्थी
नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र देशभर रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल कलेजबाट वार्षिक १ हजार ८९५ सिटमा विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्दै आएका छन्। यद्यपि देशको आर्थिक, सामाजिक एवम् राजनीतिक परिस्थितिका चिकित्साशिक्षा अध्ययनका लागि विदेश जानेको संख्या पनि उत्तिकै छ।
देशमा उत्पादित चिकित्सक विदेश पलायन हुँदा र सहरकेन्द्रित हुँदा दुर्गम क्षेत्रमा स्वास्थ्य समस्या पनि ज्यूँकात्यूँ छन्। त्यसैले राज्यको ‘चिकित्साशिक्षामा लगानी बालुवामा पानी’ भएको छ। नेपालको भौगिलिक अवस्थाका कारण पनि धेरै ठाउँमा चिकित्सकको उपस्थिति शून्यप्रायः छ।
‘जबसम्म मानवीय सेवाको भावना आउँदैन। अरूलाई परेको समस्या बुझ्न सक्दैन, ऊ कहिल्यै पनि सफल चिकित्सक बन्न सक्दैन’, चिकित्सा अध्ययनशास्त्र महाराजगन्जबाट एमबीबीएस अध्ययन पूरा गरेका पुष्पराज भुसाल भन्छन्, ‘चिकित्सा पेसा भनेको आफ्नो होइन, अरूको जीवन बनाउने क्षेत्र हो। एउटा चिकित्सकको प्रयासले धेरैको ज्यान जोगिन सक्छ। त्यसैले आफ्नो भविष्य, करिअरभन्दा अरूको भविष्यबारे ध्यान दिनुपर्छ र सेवाको भावना राख्नुपर्छ।’
नेपालमा एमबीबीएस अध्ययन हुने शिक्षालय र सिट संख्या
१. चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान, महाराजगन्ज काठमाडौँ : १००
२. काठमाडौँ मेडिकल कलेज, काठमाडौँ : १००
३. नेपाल मेडिकल कलेज, काठमाडौँ : १००
४. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान : १००
५. मणिपाल मेडिकल कलेज, पोखरा : १००
६. स्कुल अफ मेडिसिन, काठमाडौँ विश्वविद्यालय, धुलिखेल : १००
७. कलेज अफ मेडिकल साइन्स, भरतपुर : १००
८. युनिभर्सल मेडिकल कलेज, भैरहवा : १००
९. किस्ट मेडिकल कलेज, काठमाडौँ : १००
१०.नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज : १००
११. चितवन मेडिकल कलेज, भरतपुर : १००
१२. लुम्बिनी मेडिकल कलेज, तानसेन : १००
१३. नोबेल मेडिकल कलेज, विराटनगर : १००
१४. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन : ६५
१५. गण्डकी मेडिकल कलेज, पोखरा : १००
१६. विराट मेडिकल कलेज, विराटनगर : १००
१७. देवदह मेडिकल कलेज, भलवाडी : ५०
१८. कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, जुम्ला : ३०
१९. जानकी मेडिकल कलेज : ५०
२०. नेसनल मेडिकल कलेज : १००
२१. नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स : १००