काठमाडाैँ- चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा तर्फको प्रमाणपत्र तहमा निर्धारण गरेको विद्यार्थी भर्ना तथा सिट संख्या आयाेगकाे नियमावली विपरित भएकाे जनाएकाे छ।
आयाेगले सूचना जारी गर्दै सीटीईभीटीबाट नियमावली विपरित भएका काम कारबाही लागु नगर्न सम्बन्धीत शिक्षणसंस्थालाई निर्देशन जारी गरेकाे हाे।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को जवरजस्ती रुपमा अपव्याख्या गर्ने, आयोगको निर्देशन पालना गर्ननपर्ने भनी आयोगमा पत्राचार गर्ने जस्ता गतिविधि सीटीईभीटीबाट हुने गरेकाे आयाेगले जनाएकाे छ।
चिकित्सा शिक्षा आयोगको निर्णय विना नै सीटीईभीटीबाट चिकित्सा शिक्षा पठनपाठन गर्ने शिक्षण संस्थाहरूलाई सम्बन्धन दिने, विद्यार्थी भर्नाका लागि सिट संख्या निर्धारण गर्ने, प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशन गर्ने जस्ता कार्य राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रतिकुल हुने गरी गैर कानूनी कार्य परिषद्ले गरेको आयोगको ठहर छ।
चिकित्सा शिक्षालाई गुणस्तरीय र एकीकृत रुपमा चुस्त दुरुस्त बनाउने, नियमन, नियन्त्रण एवं अनुगमन गर्ने संस्थाको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षा आयोगको स्थापना भएको आयोगले जनाएकाे छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ११ को उपदफा (१) तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ६ मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि शिक्षण संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापनाको लागि आयोगबाट आशयपत्र लिनु पर्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएकाे छ।