काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउँने तयारी सरकारले गरिरहेको बताएकी छन्।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले बाराको सिमरामा आयोजना गरेकाे टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाेल्दै मन्त्री शर्माले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्याउँने तयारी गरिएको बताएकी हुन्।
देशभरका अधिकांश विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट लग्नेगरी तयारी गरिएको उनकाे भनाइ छ।
आफूले मन्त्रीको पदबहाल ग्रहण गरेकै दिन राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिँदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताइन्। आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले नेपाल टेलिकमलाई आग्रह समेत गरेकी छन्।
पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबीच समन्वय नहुँदा समस्या आउनेगरेको उल्लेख गर्दै मन्त्री शर्माले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन्। जङ्गल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिइन्।
जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताको समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव संकलन अभियान सुरु गरिएको उनले जानकारी दिइन्। मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठुलो योगदान गरिरहेको उल्लेख गर्दै उनले देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्यहरू किसान श्रेष्ठ र ज्वालाकुमारी साह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले धारणा राखेका छन्।
कार्यक्रममा बारा, पर्सा, रौतहट र सर्लाहीका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिएका छन्। शुक्रबार मधेश प्रदेशका पूर्वी क्षेत्रमा रहेका चार जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीका जनप्रतिनिधिसँग टेलिकमको सेवा सुविधाबारे जनकपुरमा छलफल गरिएको थियो।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०/०८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरू तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए। उनले मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए। मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउन आवश्यक सहकार्य गर्ने बताए।
नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमूल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवाबारेमा जानकारी प्रदान गर्दै सेवा प्रयोग बढाउनका लागि सहकार्य गर्न आग्रह गरे।
सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरूको बारेमा उप-प्रबन्धक नबल चौधरी, कम्पनीका सेवाहरू विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको बारेमा उपप्रबन्धक समिरबहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था बारेमा उपप्रबन्धका निरञ्जन घिमिरेले प्रस्तुती दिएका थिए।
अन्तरक्रियाको अवसरमा उठेका विभिन्न जिज्ञासाहरूको बारेमा कम्पनीका प्रमुख व्यावसायिक तथा प्राविधिक अधिकृत संगीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधान र प्रादेशिक निर्देशनालय, मधेश प्रदेशका निर्देशक अमूल प्रधानले जवाफ दिएका थिए।